१२ बुँदे सल्यान घोषणापत्र जारी
सल्यान, माघ २८ । बादी महिला अधिकार संघर्ष समिति सल्यानको प्रथम जिल्ला सम्मेलनले साइरा बादीको अध्यक्षतामा ११ सदस्य जिल्ला समिति चयन गरेको छ । सोमबार र मंगलबार शारदा नगरपालिकास्थित शान्तिनगरमा सम्पन्न सम्मेलनले नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सिर्जना बादी, सचिवमा प्रतिक्षा बादी, सह–सचिव ज्योति बादी र कोषाध्यक्ष समीक्षा बादी रहनुभएको छ ।
समितिका सदस्यहरुमा धनसरा बादी, पुष्पा बादी, माला बादी, मिना बादी, मंगला बादी र माला बादी रहनुभएको छ । सम्मेलनको उद्घाटन बादी समुदाय उत्थान विकास समितिका उपाध्यक्ष पुष्प बादीले गर्नुभएको थियो ।
उद्घाटनका अवसरमा प्रमुख अतिथि बादी समुदाय उत्थान विकास समितिका उपाध्यक्ष पुष्प बादीले उत्पीडित जाति, लिङ्ग, भाषा संस्कृतिमा राज्यले गरेका प्रतिबद्दतासमेत उल्टाउने काम भएको बताउनुभयो । उत्पीडित समुदायलाई अधिकार दिने र नदिनेहरुका बीच संघर्ष भइरहेको भन्दै उहाँले बादी महिलाहरुलाई राजनीतिक शक्ति र सत्ताका कारण नियोजित रुपले पछाडि पारिएको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि दलित महिला एकता केन्द्रका अध्यक्ष निर्मला कुमारी गुप्ताले सरकार बादी समुदायलाई हक अधिकार दिने पक्षमा नभएको भन्दै फेरि देशमा आन्दोलनको आबश्यक रहेको बताउनुभयो ।
बादी महिला अधिकार संघर्ष समिति सल्यानका सचिव प्रतिक्षा बादीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला विकास समिति सल्यानका प्रतिनिधि गजेन्द्रबहादुर बुढाथोकी एमाओबादीका इन्द्रबहादुर खड्का, दलित सेवा संघका अध्यक्ष यज्ञबहादुर वि.क., जानकी सामुदायिक वनका सचिव नरसिंह बुढाथोकी, शारदा प्राविका शिक्षिका निरुता राई, पत्रकार दीपक शर्मा, बादी महिला अधिकार संघर्ष समितिका केन्द्रिय उपाध्यक्ष मुक्ति बादी, महासचिव सरिता बादी, दलित महिला एकता केन्द्रका उपाध्यक्ष मिना नेपालीलगायतले बोल्नुभएको थियो ।
सम्मेलनले १२ बूँदे सल्यान घोषणापत्र ०७१ समेत जारी गरेको छ । जारी घोषणा–पत्रमा बादी समुदायमा रहेको बाध्यात्मक यौन शोषण अन्त्य भएको र यौन शोषणमा परेका महिलाको पूनःस्थापनाको निर्णयलाई यथाशीघ्र कार्यान्वयन गरिनुपर्ने, सरकार र राष्ट्रिय बादी अधिकार संघर्ष समितिबीच २०६४ असोज २८ गते भएको २ बुँदे सहमतिपश्चात् कार्यदलले गरेको सिफारिस प्रतिवेदन कार्यान्वयन गरिनुपर्ने माग गरिएको छ ।
त्यस्तै दलित समुदायभित्र पनि अति उत्पीडनमा परेका बादी समुदायलाई सरकारको नीति निर्माण तहलगायत रोजगारीमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सम्पूर्ण क्षेत्रमा समान प्रतिनिधित्वको सुनिश्चित गरिनुपर्ने माग गरिएको छ ।
त्यस्तै, जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन कार्यान्वयन गर्नुपर्ने, बादी समुदायका बालबालिकालाई उच्च शिक्षासम्म छात्रवृतिसहित निःशुल्क शिक्षा प्रदान गरिनुपर्र्ने, बादी समुदायका लागि निशुल्क उपचारको व्यवस्था गर्नुपर्ने, गरिब परिचय–पत्र प्रदान गरी कार्यान्वयन गर्नुपर्ने, बादी समुदायका युवायुवतीलाई योग्यताअनुसार रोजगार प्रदान गर्नुपर्ने र बेरोजगारलाई बेरोजगार भत्ता प्रदान गर्नुपर्ने घोषणापत्रमा माग गरिएको छ ।
बादी महिला अधिकार संघर्ष समितिका सल्यानका अध्यक्ष साइरा बादीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जनक नेपालीले गर्नुभएको थियो ।