रोल्पामा अन्तर्राष्ट्रिय फिल्म कार्यशाला

  
  प्रकाशित मितिः बुधबार, माघ २८, २०७१       | 212 Views   ||

film workspरोल्पाको लिबाङमा पहिलोपटक ‘अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला– २०१५’ चलिरहेको छ । अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा रोल्पा सदरमुकाम लिबाङमा गत शुक्रबारदेखि चलिरहेको कार्यशालामा ६० बढी चलचित्रकर्मीको सहभागिता छ ।

शुक्रबार एकीकृत नेकपा (माओवादी)का महासचिव कृष्णबहादुर महराले उद्घाटन गर्नुभएको कार्यशाला नौ दिनसम्म चल्ने जनाइएको छ । कार्यशालामा शुक्रबार र शनिबारको ‘सेसन’मा विश्व सिनेमा इतिहास सँगसँगै सिनेमाटोग्राफी ‘वेसिक थेउरी’ तथा ‘विश्व सिनेमा आन्दोलन र त्यसको प्रभाव लगायतका विषयहरुमा चर्चा गरिएको थियो ।

कार्यशालामा नेपाली चलचित्रमा बढ्दै गएको भल्गारिटी र अश्लीलतालाई प्रश्रय दिने गलत प्रयोगले नेपाली चलचित्रको खास पहिचान नै गुम्ने खतरा रहेको सहभागीहरुले सवाल उठाएका छन् । उनीहरुले पछिल्लो समय प्रदर्शनमा आएका, प्रदर्शनको क्रममा रहेका तथा छायांकनको क्रममा नै रहेका प्रायः चलचित्रको विषयवस्तु नियाल्ने हो भने पुराना नेपाली चलचित्रको खास पहिचान केही प्रतिशत मात्र भेट्न पनि मुश्किल हुन बताएका छन् ।

film_rolpaयसैबीच नेपाली चलचित्र क्षेत्रको विकासका लागि र चलचित्र क्षेत्रप्रतिको क्रेज बढाउन भन्दै आयोजित कार्यशालासँगै लिबाङमा फिल्म प्रदर्शन भइरहेको छ । रोल्पाको सदरमुकाम लिबाङमा हरेक दिन बेलुकी प्रदर्शन गरिने चलचित्रले रोल्पाली दर्शकको चलचित्रप्रतिको भोक मेटाइरहेको छ । आयोजकका अनुसार यसप्रकारको प्रदर्शनीले रोल्पाली दर्शकहरुलाई फिल्मप्रति थप आकर्षित गर्ने र सकारात्मक सन्देश समेत प्रवाह हुनेछ ।

उद्घाटनका अवसरमा बोल्दै संघका अध्यक्ष केपी पाठकले रोल्पामा ९ दिनको बसाईले स्थानीयलाई चलचित्र क्षेत्रमा आकर्षित गराउने लक्ष्य रहेको बताएका थिए । सोहीअनुसार रोल्पावासीहरुका लागि धमाधम फिल्म प्रदर्शन गरिदै आएको आयोजकले बताएको छ ।

शुक्रबार नारीप्रधान चलचित्र झोला प्रदर्शन गरिएको थियो भने क्रमशः हरेक दिन शहीद, बसाई र सोमबार बेलुकी रोल्पाली फिल्मकर्मी ओम प्रतिकद्वारा निर्माण गरिएको चलचित्र फर्कि आऊको प्रदर्शनी गरिएको छ । त्यस्तै बधशाला, नुमाफूङ, बलिदानलगायतका दर्जनौं चलचित्र प्रदर्शन गरिने आयोजक पक्षले बताएको छ ।

चलचित्र प्रदर्शनीको थालनीसँगै सदरमुकाम नजिकैका गाउँहरुबाट दर्शकहरु सदरमुकाम झर्न थालेपछि बजारको विभिन्न व्यापारका साथै होटेल व्यवसायमा समेत फाइदा भएको व्यवसायिहरुको भनाई छ । गाउँबाट युवाहरु सदरमुकाम झर्ने र फिल्म हेर्नकै लागि सदरमुकाममा बस्दा ती व्यवसाय फस्टाएका हुन् ।

त्यस्तै रोल्पाका दुर्गम ठाउँहरुबाट विभिन्न सरकारी कामका लागि सदरमुकाम आउनेहरुले पनि फिल्म हेर्ने गरेको स्थानीय व्यवस्थापन समितिका संयोजक चेतन कुँवरले बताउनुभयो । हल नहुँदा चलचित्रदेखि टाढा रहेका रोल्पालीहरु दैनिक बेलुकी टुँडिखेलमा जमघट हुने र विभिन्न खाले फिल्मको अवलोकन गर्ने गरिरहेका छन् । निःशुल्क चलचित्र प्रदर्शनीले पनि दर्शकहरुमा उपस्थितिको थप वातावरण बनेको स्थानीयको भनाई छ ।

९ दिनसम्म यसरी चलचित्रहरु प्रदर्शन गर्नका लागि स्थानीय व्यवस्थापन समितिले समेत राम्रो भूमिका निर्वाह गरेको छ । संयोजक चेतन कुँवरका अनुसार पछिल्ला केही दिनमा रोल्पालीहरुले फिल्म सम्बन्धी आफ्नो चासो बढाएको बताउनुभयो । सकारात्मक प्रभाव परेको बताउँदै उहाँले यसले रोल्पालीहरुमा राम्रो बानीको विकास हुने अपेक्षा समेत लिनुभएको छ ।

खुल्ला मञ्चमा प्रदर्शन गरिने चलचित्रका कारण एकातिर फिल्मी क्षेत्रको प्रचारप्रसारसँगै यसप्रतिको क्रेज थप बढेको छ भने अर्कोतिर होटल र विभिन्न व्यवसायीहरुको आयआर्जनमा समेत टेवा पुगेको छ ।

प्रस्तुति : नवीन लोचनमगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *