राप्तीको साहित्य लेखनका चुनौतीहरु

  
  प्रकाशित मितिः बुधबार, माघ २८, २०७१       | 406 Views   ||

Pramod_Dhital_writter– प्रमोद धिताल

अरु जे जति लेखे पनि लेखनको स्तर लेखनको समाजशास्त्रको बारेमा विषयमा हामीले जति लेख्नु र बोल्नुपर्ने थियो त्यति लेख्न बोल्न सकेका छैनौं । के हामी बीचमा विद्यमान आत्मनिरीक्षणको यस्तै खडेरीले लेखनको गुणात्मक विकास सम्भव होला ? लाग्छ हामी असन्तुष्टिको तुलनामा आत्ममुग्धताको शिकार बढी भएका छौं ।

साहित्य लेखनको इतिहासमा लामो कालखण्ड पार गरेको हाम्रो कर्मथलो जहाँ साहित्यिक गतिविधिहरु भैरहेका छन् या जहाँ बसेर हामी लेखिरहेका छौं अब त्यसको आत्मसमीक्षा हुनु अत्यन्त जरुरी मात्र होइन ढिलाई पनि भैसकेको छ । त्यसैले त्यससम्बन्धी यो छोटो लेखमा केही टिप्पणीहरु अगाडि सार्ने प्रयास गरिएको छ, साथै बहसको निरन्तरताको अपेक्षा पनि ।

विधाचेतना र साधनाको अभाव

लेखनको कुरा गर्दा राप्ती क्षेत्रमा लेखिदै गरिएका विधाहरुमध्ये कविता, गीत, गजल, लेख–निबन्ध, आख्यान, समीक्षा आदि हुन् । विगतको लेखनको कुरा गर्दा कविता लेखनको क्षेत्रलाई नारायणप्रसाद शर्मा, नेत्रलाल पौडेल ‘अभागी’, कृष्ण सेन ‘इच्छुक’, अमर गिरी, यज्ञबहादुर डाँगी, शरद देवकोटाहरुले समृद्ध बनाएको कविता क्षेत्रलाई अहिले दाङमै लेखनको कर्मथलो बनाइरहेको पुस्ताले कुन हदसम्म अगाडि बढाइरहेको छ त ? यसको सम्यक लेखाजोखाको आवश्यकता छ ।

पहिलो त विधाचेत, त्यसप्रतिको समर्पण, लगाव, साधना र लेखकीय अन्तक्र्रिया, संंवाद एवं सहकार्यको एकदमै अभाव छ । निरन्तरता धान्ने कर्मकाण्डी पाराको हाम्रो साहित्यिक दिनचर्याभन्दा माथि नउठ्ने हो भने पछिल्लो चरणमा विकसित नयाँ कविताचेतनाप्रति हामी इमान्दार बन्ने कुरामा आशंका गर्ने धेरै ठाउँहरु विद्यमान छन् ।

हामीकहाँ हप्ता या महिनापिच्छे विभिन्न कविहरुका कविता कृतिहरु विमोचन तथा चर्चा हुने गर्छन् । तर तिनीहरुको मूल्य वा पाठकीय प्रतिक्रियालाई ध्यान दिने हो भने यस्तो लाग्छ कि तिनको विमोचन वा चर्चा हुनकै लागि मात्र हुने गर्छ । त्यसपछि ती कवि वा कविताकृतिहरु गुमनामको शिकार भएको अनुभूति हामीले गर्दै आएका छौं । के यो बहसयोग्य सवालभित्र पर्दैन ?

त्यसबाहेक प्रकाशित हुने विधाहरुमा गजल, गीत, कथा, उपन्यास, लेख–निबन्ध, संस्मरण आदि पर्दछन् । तिनीहरुको हालत पनि अघिल्लो विधाभन्दा फरक देखिन्न । विमोचनदेखि विमोचनसम्म र औपचारिक कार्यक्रमहरुमा चर्चादेखि चर्चासम्म ती कृति र लेखकहरु सीमित हुने क्रमले निरन्तरता पाएको अवस्था छ । कविता विधाको मात्र होइन अन्य विधाहरुको अवस्था पनि त्यस्तै छ ।

एउटा तर्क आउन सक्छ, के लेख्दै नलेख्नुभन्दा मात्रात्मक रुपमा भए पनि कमजोर नै कृतिहरु आइरहनु राम्रो होइन ? के पहिलो कृतिमै सबै उत्कृष्ट लेखन आउन सम्भव छ ? मलाई लाग्छ यो तर्क कमजोर विधाचेत अनि अल्पसाधनाको उपजमात्र हो । मात्रामा मात्र रमाउने कुरा । अनि त्यसरी नै सुरुकै कृतिमा उत्कृष्ट कृति आउन नसक्ने कुरा ।

यदि त्यसो हुन्थ्यो भने लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, गोपालप्रसाद रिमालको आमाको सपना, भूपि सेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे, कृष्ण सेन ‘इच्छुक’कोे शोकाञ्जली, आहुतिको तपस्वीका गीतहरु र नयाँ घर प्रथम कृतिकै रुपमा किन उत्कृष्ट ठहरिए ?

यसको एउटै कारण भनेको हाम्रो गुणमा होइन मात्रामा रमाउने प्रवृत्ति हो । यो आत्ममुग्धताको निरन्तरताले हामीलाई सार्थक साहित्य लेखनको दौडमा सधैं पछाडि पार्ने कुरा निश्चित छ । विधा चेतनाको अभाव, अध्ययनको अभाव, साधना र परिमार्जन एवं आफ्ना कृतिहरुउपरको पूर्वसमीक्षाप्रतिको उदासीनता, शैली र दृष्टिकोणको निरन्तर विकासजस्ता पक्षहरुको कमी यसको निम्ति धेरै हदसम्म जिम्मेवार छन् ।

यस सवालमा केही अपवादलाई छोडेर हाम्रो बहुसंख्यक लेखकहरुमा गम्भीर रुपमा कमजोरीहरु छन् भन्ने कुरा हेर्नलाई कृतिहरु हेरे पुग्छ । कनिष्ट र सिकारुहरुमा हे¥यौं भने विधाचेतना, आलोकाँचोपना, साधनाको अभाव, अधैर्यता जस्ता कुराहरु स्वाभाविक रुपमा पनि देखिन्छ नै । तर स्थापित र लामो समयदेखि लेखिरहेका स्रष्टाहरु पनि यो समस्याबाट मुक्त छैनन् ।

लेखनमा उस्तै सपाटपना, विविधता होइन एकरसता, विषयवस्तुहरुमा गहिराइ र उत्खननको अभाव, दृष्टिकोणको अस्पष्टता, शैलीमा प्रौढताको कमी, अध्ययनको अभाव प्रशस्तै देखिन्छ । दर्जनौं पत्रिकाहरु निस्किने हाम्रो जिल्लामा कसैले केही लेख्नु र नलेख्नुमा भिन्नता नदेखिने अवस्थाको सिर्जना हुनु तिनै कमजोरीहरुको परिचायक हो ।

यो संस्थागत रुपमै झांगिएको प्रवृत्तिगत रोगबाट मुक्त भएर साहित्यको दौडमा स्वस्थ र फूर्तियुक्त गतिको लागि नयाँ पुस्ता आफू र इतिहास दुवैप्रति अलि बेसी नै आलोचनात्मक हुन आवश्यक छ ।

पुरस्कार र मूल्यांकनको मापदण्ड

राप्ती अञ्चल त्यसमा पनि यसको मुटु मानिने दाङ जिल्लामा पनि राप्ती साहित्य परिषद, प्रगतिशील लेखक संघ, लेखक संघदेखि लिएर अन्य थुप्रै साहित्यिक संघ संस्थाहरु क्रियाशील देखिन्छन् । वर्षेनी विभिन्न साहित्यिक पुरस्कारहरु वितरण गरिन्छ । त्यसको मापदण्ड के हो ? कुन पुरस्कारले कुन विधाको कुन हदसम्मको योगदानको प्रतिनिधित्व गर्छ ? यस विषयमा साहित्यिक संस्थाहरु, तिनमा आसीन व्यक्ति या लेखकहरुको बीचमा धेरै बहस भएको सुनिदैन ।

‘पालो पु¥याउने’, ‘भाग लगाउने’ या ‘मन बुझाउने’ मानसिकता र रुझानबाट ग्रसित भएझैं लाग्छन् हाम्रा पुरस्कार वितरणका तौरतरिकाहरु । के यसले साँच्चिकै साहित्य लेखनको स्तरलाई माथि उठाउला ? हो, पुरस्कारले नै सबै कुराको निर्धारण गर्न सक्दैन । तर पुरस्कारले पुरस्कार प्राप्तकर्ता लेखकको स्तर एवं लेखनसम्बन्धी मूल्यको प्रतिबिम्बन कुनै न कुनै रुपमा गर्नुपर्छ भन्ने माग गर्नु अन्यथा होइन ।

कैयौं पटक प्रदान गरिएका पुरस्कारहरुले विभिन्न कोणबाट विवाद वा बहस निम्त्याएका इतिहासहरु पनि हाम्रो सामु छन् । कहिलेकाँही व्यक्तिगत रुपमा पुरस्कृत व्यक्तिलाई न्याय गर्न खोज्दा पुरस्कारको मूल्यप्रति न्याय नहुन सक्छ । पुरस्कारको मूल्यप्रति समाजमा अविश्वास पैदा हुन सक्छ । यसप्रति हामी सजग हुन आवश्यक छ ।

निचोड :

मलाई लाग्छ लेखन क्षेत्र स्वेच्छाको चयन हो । यो कसैबाट निर्देशित वा कसैलाई रिझाउनको लागि गरिने बाध्यताको कर्म होइन । सामाजिक दायित्वसहितको स्वतन्त्रताको उडान हो । यसर्थ कि यो समाजसँग सरोकार राख्छ । हामी जेसुकै सोचेर जुनसुकै विषय लेखौं अन्ततः त्यो समाजको एउटा प्रबुद्ध समुदायको बीचमा पुग्छ । त्यसैले पनि एक हिसाबले यो व्यक्तिगत चयन र कर्म हुँदाहुँदै पनि तुलात्मक रुपमा गम्भीर र जिम्मेवार कर्म भएको कारणले गर्दा यसमा गरिने लापरवाही सचेत पाठकको अदालतमा फैसलाको विषय बन्छ ।

अतः मेरो निश्कर्ष छ यदि अबको पुस्ताले इतिहासको इजलासमा खरो साबित हुने हो भने केही नयाँ पहलकदमी लिनैपर्छ । त्यसको लागि आउनुहोस् बहस गरौं किन लेख्ने ? अहिलेको बदलिदो परिवेशमा लेखिनुपर्ने तर छुटिरहेका विषयहरु के–के हुन् ? अनि सामुहिक सम्वाद गरौं, कसरी लेख्ने ? जसरी लेखिरहेका छौं त्यसले के हामी सचेत पाठकहरुलाई केही दिने हैसियत राख्छौं ? आफ्नै लेखन र शैलीको बारेमा विमर्श खडा गरौं ।

वर्तमान साहित्य लेखनको आवश्यकताको कुरा गर्दा एउटी पारिजातको ठाउँमा अर्की कुनै एउटी पारिजातको बिम्ब खडा गर्नु होइन, बरु पारिजातका दर्जनौं उत्तराधिकारीहरुको जमात तयार गर्नु हो । त्यसरी नै गोपालप्रसाद रिमाल, भूपि र कृष्ण सेनहरुका फोटोकपिहरु पैदा गरेर त्यसैमा आत्मरति गर्नु होइन । बरु उनीहरुभन्दा पनि धेरै पर दृष्टि दिन सक्ने दर्जनौं उत्तराधिकारीहरुको ब्रिगेड खडा गर्नु हो ।

तर केही अग्रजहरुको संकीर्णता यो हदसम्म फैलिएको छ कि उनीहरु नयाँ युगका नयाँ उत्तराधिकारीहरुलाई स्वीकार्ने सवालमा ओठेभक्तिबाहेक अरु सबै सवालमा टेढो नजरले हेर्ने रोगले ग्रसित छन् । कोही समकालीन नयाँ पुस्ताका लेखकहरु एक्लो वीर बनेर युग हाँक्न सकिन्छ भन्ने भ्रमबाट ग्रसित छन् । अर्थात आ–आफ्नै खालका समस्याहरु विद्यमान छन् ।

यतिखेर हामीले जे–जस्तो लेखिरहेका छौं त्यसको शल्यक्रिया गर्ने कुशल चिकित्सकको रुपमा पनि आफूलाई उभ्याउने आँट नगरेसम्म लेखनको यो घिसेपिटे स्तर र आत्ममुग्धताको कुवा भ्यागुते क्रन्दनको शिकार हामी भइ नै रहनेछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *