नारी | यमुना पुन

  
  प्रकाशित मितिः बुधबार, माघ २८, २०७१       | 165 Views   ||

Yamuna Pun-1उनी नारी
जीवनका कैयौं जञ्जीरलाई चुडाल्दै
कठिन परिस्थितिबाट मुक्त हुन्छिन्
आफूले आगो–घाम सहेर पनि
सबैलाई तड्पाहटबाट शीतलता दिन्छिन् ।

उनलाई
सिउँडी काँडाको बीचमा पनि
सुन्दर फूल बन्न मन पर्छ
मरुभूमिमा पनि हरियो दुबो
भई फैलिन मनपर्छ ।

उनी
टाउकोमाथिको अँध्यारो आकाशमा
उज्यालो जून खोजिरहन्छिन्
हजारौं दर्दनाक कष्ट भए पनि
गोदमा सन्तान मुस्कुराएको चाहन्छिन् ।

उनको यो सहनशीलता
जीवन र मृत्युको दोसाँधमा
मुस्कुराउँदै संसार हेर्छिन्
सारङ्गीको तारझैं रेटिए पनि
नयाँ धुन गुनगुनाउँदै लय फेर्छिन् ।

उनको यो बाध्यता
कदम–कदममा यौन दुव्र्यवहार बेहोर्दै
सामुहिक बलात्कृत भइरहन्छिन्
जीवनमा उजाड शिशिर भए पनि
हरियाली बसन्तको गीत गाइरहन्छिन् ।

उनी कति कर्तव्यनिष्ठ छिन्
दुःखले जीवनमा कोर्रा हानिरहँदा
उनी सुरक्षार्थ गृह सजाउँछिन्
पल–पल मरेर पनि देखावटी खुशीमा रमाउँछिन् ।

सायद !
उनको यो स्वभाव हुनुपर्छ
आँखामा बलेसी आँसु लिएर
ओठमा मिठो मुस्कान छरिदिने
आफू रङ्गहीन भएर
अरुमा सप्तरंगी भरिदिन्छिन् ।

उनी मैन हुन्
आफू जलेर धर्ती उज्यालो बनाउने
पसिना र रगतले संसार सजाउने ।

उनी
रथको एक पाङ्ग्रा
सिङ्गो आकाशको आधा हिस्सा
अनि
उनी सृष्टिकर्ता हुन्– पत्नी पनि
अपसोच ! बोक्सी भएकी छन्
समाजबाट घृणित र तिरस्कृत भएकी छन् ।

हो, उनी नारी, उनी आमा
पीडामा मुस्कुराउने उनी पारीजात
अँध्यारो रात चिरेर आउने
उनी बिहानी प्रभात ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *