महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन गर्नुपर्छ

  
  प्रकाशित मितिः बुधबार, माघ २८, २०७१       | 167 Views   ||

Bimal Rijalविमल रिजाल (अध्यक्ष)
तुलसीपुर उद्योग वाणिज्य संघ

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाल मेला तथा महोत्सवहरुले स्थानीय उत्पादन तथा पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग गर्नुपर्ने बताउनुहुन्छ । महोत्सवको नाममा रमाइलो मेलामा मात्र केन्द्रित हुँदा मुलुकको विकास हुन नसक्ने उहाँको भनाई छ । एक स्थानीय क्लवको आयोजनामा तुलसीपुरमा चलिरहेको महोत्सव, तुलसीपुर क्षेत्रको विकासका सम्भावना तथा तुलसीपुर उवासंघका गतिविधिलगायतका विषयमा केन्द्रीत भएर रिजालसँग गरिएको कुराकानी –सम्पादक

तुलसीपुरमा अहिले एक स्थानीय क्लवको आयोजनामा महोत्सव सञ्चालन भइरहेको छ । यस्ता महोत्सवको महत्व के छ ?

मेला तथा महोत्सवहरुले स्थानीय कृषि उत्पादनको प्रवद्र्धन र बजारीकरणमा महत्वपूर्ण सहयोग पु¥याउँछ । यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महोत्सवले सहयोग गर्नुपर्छ । महोत्सवमार्फत् सबै उत्पादनहरुले प्रचार प्रसारको मौका पाउँछन् । महोत्सव स्थानीय कलाकारहरुलाई अबसर दिने ठाउँ हो ।

महोत्सवहरु रमाइलो मेलामा मात्र केन्द्रीत हुन्छन् भनिन्छ नि ?

तपाईले भन्नुभएको साँचो हो । जुन नारा र लक्ष्यका साथ महोत्सव शुरु गरिन्छ त्यसअनुरुप हुन सकिरहेका हुँदैनन् । हुन त महोत्सवमा रमाइलो नै गर्नुहुँदैन भन्ने छैन तर त्यसमा पनि स्थानीय कलाकारलाई प्राथमिकता दिनुपर्छ । शुरु–शुरुका महोत्सवहरुमा त्यस्ता खाले केही समस्या देखिए पनि अहिले त्यस्तो छैन । धेरै स्थानमा महोत्सव लगाउने शैली परिवर्तन भएको छ । केही महोत्सवहरु अहिले पनि रमाइलो मेलामा सीमित भएको साँचो हो ।

तुलसीपुर उद्योग वाणिज्य संघले अहिले के गरिरहेको छ ?

तुलसीपुर उद्योग वाणिज्य संघले विगत लामो समयदेखि यस क्षेत्रको व्यावसायिक विकासका लागि आफ्ना गतिविधि गरिरहेको छ । यहाँका व्यवसायीहरुको हक, अधिकार र सुरक्षाका लागि उवासंघले गतिविधि गरिरहेको छ । साथै पछिल्लो सयम हामीले यस क्षेत्रको समग्र विकासका लागि पहल थालिरहेका छौं । यहाँका सामाजिक, आर्थिक र अन्य क्षेत्रको विकासका लागि उवासंघले काम गरिरहेको छ ।

हाम्रो पहलमा निरन्तररुपमा पश्चिम दाङका बासिन्दालाई मालपोत र नापीको काम तुलसीपुरबाटै गराउने काम सफल भएको छ । असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पश्चिम दाङका बासिन्दाहरुका लागि तुलसीपुरमा नापी र मालपोतको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । यो निर्णय स्वागतयोग्य छ । यसअनुसार तुलसीपुरमा मालपोत र नापी कार्यालय स्थापना भइसकेको छ ।

हामीले अहिले पनि टरिगाउँ विमानस्थल र इन्धन डिपो स्थापनाका लागि पहल गरिरहेका छौं । अहिलेको हाम्रो प्राथमिकता भनेकै यी दुइवटा पूर्वाधारको हो । तुलसीपुरमा नियमित उडान हुन सकेको खण्डमा पश्चिम नेपाललाई नै फाइदा पुग्छ । नियमित उडानका लागि सरकारले तुलसीपुरमा इन्धन डिपो स्थापना गर्नुपर्छ । अहिले इन्धन डिपो स्थापनाका लागि पहल भइरहेको छ ।

विभिन्न राजनीतिक दलहरुले प्रस्ताव गरेको संघीयताको खाकामा दाङलाई राजधानीको प्रस्ताव गरिएको छ । यसलाई तुलसीपुर उवासंघले कसरी लिएको छ ?

संघीय प्रदेशको राजधानी दाङमा प्रस्ताव गर्ने सम्पूर्ण दलहरुलाई तुलसीपुर उद्योग वाणिज्य संघ धन्यवाद ज्ञापन गर्न चाहन्छ । राजनीतिक दलहरुले गरेको प्रस्ताव वैज्ञानिक र व्यावहारिक छ । यहाँको भौगोलिक अवस्था र प्राकृतिक कारणले पनि संघीय राजधानी बन्न उपयुक्त छ । यहाँको प्रशस्त जग्गा हेर्दा नेपालकै राजधानी पनि बन्न सक्छ । संघीय राजधानी बनेको खण्डमा दाङको आर्थिक उन्नति तीव्र रुपमा हुनेछ । दाङमा कृषि, उद्योगधन्दा, आवास र अन्य प्रयोजनका लागि जग्गा प्रशस्त मात्रामा छ । दाङ पश्चिम नेपालको आर्थिक केन्द्रविन्दु पनि हो । संघीय प्रदेशनको राजधानी बन्नका लागि पूर्वाधार निर्माण गर्न सजिलो छ । विमानस्थल निर्मााणका लागि पनि प्रशस्त जग्गा छ । सरकारी कार्यालयहरु स्थापनका लागि जग्गा पनि प्रशस्त छ । राजनीतिक दलहरुले गरेको प्रस्ताव सफल बनाउनको लागि यस क्षेत्रका सबै निकायले सहयोग पु¥याउनुपर्छ ।

विगतमा पनि दाङमा ठूला पूर्वाधार बन्दा स्थान विवाद भइरह्यो । यसपटक त्यस्तो हुनुहुँदैन । संघीयताको राजधानी घोराही या तुलसीपुर जहाँ भए पनि हुन्छ । यसमा विवाद गर्ने हो भने हाम्रो उन्नति हुँदैन । जहाँ भए पनि समग्र दाङको नै विकास हुनेछ । यसका लागि सबै उद्योग वाणिज्य संघ, राजनीतिक दल, नागरिक समाज एवं सम्पूर्ण सरोकारवाला निकायहरुले उचित समन्वय गर्नुपर्छ ।

दाङ संघीय प्रदेशको राजधानी बन्ने आधारहरु के के हुन् ?

दाङ संघीय प्रदेश बन्नका लागि थुप्रै आधारहरु छन् । यहाँको भौगोलिक अवस्था, वातावरण, हावापानी, खोलानालालगायतका कारणले गर्दा दाङमा संघीय प्रदेशको राजधानी बनाउन सकिन्छ । दाङ एशियाकै ठूलो उपत्यका हो । संघीय प्रदेशको राजधानी बन्नको लागि विमानस्थललगायतका ठूला पूर्वाधार बनाउनको लागि प्रशस्त जग्गा चाहिन्छ । दाङमा यसका लागि आवश्यक पर्ने सम्पूर्ण वातावरण छ । मौसमका दृष्टिले पनि दाङको हावापानी राम्रो छ । यहाँ धेरै गर्मी पनि हुँदैन धेरै चिसो पनि हुँदैन । यी विविध कारणले गर्दा दाङ संघीय प्रदेशको राजधानी बन्छ ।

तुलसीपुर पश्चिम दाङ, रोल्पा, रुकुम र सल्यानको केन्द्रविन्दु पनि हो । यहाँका विकासका सम्भावनाहरु के देख्नुहुन्छ ?

तुलसीपुर निकै सम्भावना बोकेको शहर हो । अहिले राप्तीका केही जिल्लाको मात्र केन्द्र भएको तुलसीपुर अबको केही वर्ष भित्रै समग्र पश्चिम नेपालको आर्थिक केन्द्रबिन्दु बन्न सक्छ । तुलसीपुर–सुर्खेत सडकखण्ड नियमित रुपमा सुचारु गर्न सकेको खण्डमा कर्णालीसँग पनि हाम्रो सिधा सडक सञ्जाल जोडिनेछ ।

दाङको विकासको सबैभन्दा ठूलो सम्भावना भनेकै कृषि हो । कृषिका लागि प्रशस्त जमिन हामीसँग छ । पशुपालन, माछापालन, कुखुरा पालनलगायत कृषिजन्य अन्य थुप्रै उद्योगधन्दा स्थापना गर्न सकिन्छ । साथै धान, गहुँ, मकै आदिको व्यावसायिक उत्पादन गर्नुपर्छ । कृषि मात्र नभएर दाङमा उद्योगधन्दाको पनि प्रशस्त सम्भावना छ । यहाँको भौगोलिक अवस्था, हावापानी, कच्चा पदार्थको पर्याप्तता र माटोको कारणले गर्दा ठूला उद्योगहरु स्थापना हुन सक्छन् ।

सिमेन्ट उद्योगहरु स्थापना भइसकेका छन् । इँट्टा उद्योग, बिस्कुट, धारा, ग्याँसलगायतका अन्य मझौला उद्योगहरु पनि दाङका लागि उपयुक्त छन् । तर, सरकारले सबैभन्दा पहिले व्यावसायिक वातावरण तयार गर्नुपर्छ । सहज ढंगले उद्योगधन्दा खुल्ने वातावरण तयार गर्नुपर्छ । प्रक्रियागत जटिलताका कारण पनि उद्योगधन्दा स्थापना गर्न समस्या परिरहेको छ । लोडसेडिङ र लो भोल्टेजका कारण यहाँका उद्योगधन्दाहरु समस्यामा परेका छन् । यी सबै समस्या क्रमशः समाधान गर्दै जाने हो भने दाङमा लगानीको सम्भावना राम्रो बन्नेछ ।

यहाँका व्यवसायीहरुको समस्या के हो ?

नेपालका सबै व्यवसायीहरुका साझा समस्या छन् । त्यस अलवा दाङका व्यवसायीहरुका केही विशिष्टखाले समस्या पनि छन् । यहाँको सबैभन्दा ठूलो समस्या भनेकै लोडसेडिङ र लो भोल्टेज हो । त्यस्तै सरकार नीति नियमहरुको सहजरुपमा कार्यान्वयन भइरहेका छैनन् । सरकारी निकायहरुबाट अपेक्षाकृत रुपमा सहज वातावरण बन्न सकेको छैन ।

घरभाडाको समस्या पनि दाङको अर्को ठूलो समस्या हो । अरु समस्या भनेको देशभर नै एकै खालका छन् । नीतिगत समस्याका कारणले गर्दा पनि मुलुकमा सहज रुपमा लगानीको वातावरण बन्न सकेको छैन । यसका लागि सरकारले समयमै ध्यान दिनुपर्छ ।

व्यवसायी समस्यामा पर्नु भनेको देशको आर्थिक विकासमा समस्या पर्नु हो । व्यवसायीको सुरक्षा हुन सकेन भने देशमा लगानीको वातावरण बन्न सक्दैन । आम नागरिक, व्यवसायी र राज्यबीच सुमधुर सम्बन्ध हुन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *