विगत सहमति आत्मसाथ गरे संविधान– शर्मा

  
  प्रकाशित मितिः बुधबार, माघ २८, २०७१       | 125 Views   ||

दाङ, माघ २८ । एकीकृत नेकपा माओवादीकी पोलिटब्यूरो सदस्य एवं सभासद् रेखा शर्माले सहमतिबाट संविधान लेखनको शुरुवात नहुँदासम्म आफूहरुको आन्दोलन जारी रहने बताउनुभएको छ ।

दाङको घोराही–५ नवलपुर निबासी जमुनादेवी पोख्रलको निधन भएको एक बर्ष पुगेको अवसरमा बुधबार आयोजित कार्यक्रममा उहाँले अहिलेसम्म भएका सहमति समझदारी आत्मसात गरेर मात्रै संविधान निर्माण गर्नुपर्ने बताउनुभयो ।

त्यसकै लागि आफ्नो पार्टीले आन्दोलन शुरु गरेको र सहमतिको शुरुवात नहुँदासम्म आन्दोलन जारी रहने उहाँले बताउनुभयो ।

सो अवसरमा जमुनादेवीका छोराहरु रामप्रसाद जैशी र नारदमणि पोख्रेलले आमाको बार्षिकीमा आफूहरुले पढेको विद्यालयलाई आर्थिक सहयोग गर्नुभयो ।

उहाँहरुले गोरक्षरत्न माध्यमिक विद्यालय चौघेरालाई २५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको छ । जेठा छोरा जैशीले विद्यालयका प्रध्यानाध्यापक सेम मल्ललाई चेक हस्तान्तरण गर्नुभयो ।

उहाँहरुले यसअघि नेपाल पत्रकार महासंघ, प्रगतिशील लेखक संघ र निमावि बेल्घारीमा बुवाआमाको स्मृतिमा अक्षयकोष स्थापना गरिसक्नुभएको छ ।

जेठा छोरा रामप्रसाद जैशीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले समाज रुपान्तरणमा विश्वास गर्ने सबैले नयाँ संस्कार आत्मसात गर्नुपर्ने बताए ।

कार्यक्रममा एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य विश्वराज आचार्य, नेकपा माओवादीका जिल्ला सदस्य अम्मरबहादुर ओली, प्रगतिशील लेखक संघ दाङका अध्यक्ष केशव थापा, नेपाल पत्रकार महासंघका सहसचिव डिल्ली मल्ल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष नरेन्द्र केसी, गोरक्षरत्न माविका प्रअ सेम मल्ल, निमावि बेल्घारीका प्रअ डिल्ली जीएम, स्थानीय बुद्धिजीवी बिष्णु पुन, भाञ्ज कृष्णप्रसाद बोहरालगायतले बोल्नुभएको थियो ।

कान्छा छोरा नारदमणि पोख्रेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन भतिजा काशीनाथ पोख्रेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *