राप्ती अञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष शाहको निधन

  
  प्रकाशित मितिः बिहिबार, फाल्गुन ७, २०७१       | 179 Views   ||

Jitendra shahतुलसीपुर, फागुन ६ । राप्ती अञ्चलको यातायात व्यवसायी समितिका अध्यक्ष जितेन्द्रबहादुर शाहको हृदयघात भई निधन भएको छ ।

फागुन २ गते आइतबार राती घरमै बेहोस भएपछि उपचारका लागि अञ्चल अस्पताल तुलसीपुर पु¥याउँदा अस्पतालका चिकित्सकले मृत्यु भइसकेको जनाएका थिए ।

दाङ तुलसीपुर निबासी यातायात ब्यवसायी एवं समाजसेवी शाह यातायात व्यवसायका खम्बाको रुपमा रहनुभएको थियो । उहाँकै नेतृत्वमा समग्र यातायातको सुधार भएको थियो । राप्ती अञ्चल सार्वजनिक यातायात ब्यवसायी समितिका अध्यक्ष समेत रहनुभएका शाह विगत लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील रहदै आउनुभएको थियो ।

शाहको सोमबार नै शितलपुरको बबई नदीमा दाहसंस्कार गरिएको छ । शाहका नौ बर्षीय छोरा आरुत शाहले दागबत्ती दिनुभएको थियो । तुलसीपुरका समाजसेवी क्षेत्रबहादुर शाहका काइला छोरा जितेन्द्रबहादुर शाह २०६१ सालमा गंगा समितिको संस्थापक अध्यक्ष रहनुभएको थियो ।

शाह तत्कालीन राप्ती बस समिति र गंगा समितिबीच एकीकरण भएपछि २०६३ देखि हालसम्म राप्ती अञ्चल सार्वजनिक यातायात ब्यवसायी समितिमा निर्विरोध अध्यक्ष पदमा रहनुभएको थियो ।

शाहलाई अन्तिम श्रद्धान्जली दिन छिमेकी जिल्ला तथा अञ्चलका यातायात व्यवसायी समितिका पदाधिकारीहरु, राजनीतिक दलका नेताहरु, समाजसेवी, सञ्चारकर्मी, कानुन व्यवसायी, उद्योगी व्यापारी, सुरक्षा निकाय, यातायात मजदुर र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

यातायात क्षेत्रका हस्ती शाहको दाहसंस्कारमा सहभागी हुन र उहाँलाई अन्तिम श्रद्धाञ्जलि दिन बबई नदी पुग्ने सर्वसाधारण र सुभेच्छुकहरु तुलसीपुरबाट बबई नदीसम्म पुग्दा झन्डै एक घण्टा बाटोमै बिताउनु परेको थियो ।

यसैबीच शाहको निधनप्रति सरकारका वाणिज्य तथा आपूर्तिमन्त्री सुनील थापाले एक विज्ञप्ती जारी गरी यातायात क्षेत्रको जुझारु तथा उदाउँदो युवाको निधनले आफूलाई स्तब्ध बनाएको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।

त्यस्तै शाहको निधनप्रति जिल्लामा क्रियाशील दर्जन बढी सामाजिक संघसस्थाहरुले शोक विज्ञप्ती जारी गरी उहाँको मृत्युले यातायात क्षेत्रको हस्तीलाई गुमाउनु परेकोमा दुःख ब्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *