घोराही नगरपालिकाद्वारा बादी समुदायलाई सहयोग

  
  प्रकाशित मितिः बिहिबार, फाल्गुन ७, २०७१       | 145 Views   ||

दाङ, फागुन ६ । बादी समुदायका लागि घोराही नगरपालिकाले दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नगरपालिकाले घोराही–८ दुर्गा भवानी टोलमा बस्दै आएका १६ घर विपन्न बादी समुदायलाई आर्यआर्जनका लागि भन्दै उक्त रकम प्रदान गरेको हो ।

आर्थिक रुपमा विपन्न १६ घर बादी परिवारलाई बाख्रापालन, रिक्सा खरिद, फलफूल पसल सञ्चालन गर्न उक्त रकम प्रदान गरिएको घोराही नगरपालिकाका कार्यकारी अधिकृत तुफानसिंह केसीले बताउनुभयो ।

अनुदानस्वरुप प्रदान गरिएको दुई लाख रुपैयाँ घुम्ती कोषका रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । बार्षिक दुई प्रतिशत ब्याजदरमा बादी समुदायभित्र उक्त रकम परिचालन गर्ने गरी रकम प्रदान गरिएको कार्यकारी अधिकृत केसीले जानकारी दिनुभयो ।

आर्थिक रुपमा पछाडि पारिएको बादी समुदायलाई समाजमा स्थापित गर्ने उद्देश्यले लगानी गरेको उहाँले बताउनुभयो । टोलका बादी समुदायको अवस्था अत्यन्तै नाजुक रहेकाले छोराछोरी पढाउन र परिवारको पालन पोषण गर्ने उक्त रकमले महत्वपूर्ण सहयोग पु¥याउने स्थानीय राजु बादीले बताउनुभयो ।

रकम हस्तान्तरण गर्दै घोराही नगरपालिका कार्यकारी अधिकृत तुफानसिंह केसीले प्राप्त रकम सदुपयोग गर्ने सुझाव दिनुभयो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका अधिकृत केसीले बादी समुदाय अरुमा पर निर्भर हुनुभन्दा आफै सक्षम हुन आग्रह गर्नुभयो । बादी समुदाय परम्परागत सोचबाट अगाडि बढेको भन्दै त्यो भन्दा माथि उठ्न समुदायलाई आग्रह गर्नुभयो ।

कार्यकारी अधिकृत केसीले बालकुमार बादी, डल्ली बादी, सन्तोष बादी, तिलकुमार बादी, सुशीला बादी, उषा बादी, दिलसरा बादी, सुन्तली बादी, बंशी बादी, बबिता बादी, माला बादी, स्कुली बादी, सरस्वती बादी, देबराज बादी, शान्ता बादी र राजु बादी गरी १६ बादी समुदायका महिला पुरुषलाई संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभएको थियो ।

दुर्गा भवानी टोल विकास संस्थाका सचिव रञ्जिता बादीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतम, दलित महिला एकता केन्द्र दाङका अध्यक्ष निर्मला कुमारी गुप्ता, टोल विकास संस्थाका संस्थापक सदस्य राजु बादी लगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार जनक नेपालीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *