पहिचानसहितको संघीयता जातीय राज्य होइन- भट्टराई

  
  प्रकाशित मितिः बिहिबार, फाल्गुन ७, २०७१       | 115 Views   ||

brb_dang 1दाङ, फागुन ६ । एकीकृत नेकपा (माओवादी)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूहरुले अघि सारेको पहिचानसहितको संघीयताको प्रस्ताव जातीय राज्य नभएको बताउनुभएको छ । क्रान्तिकारी पत्रकार संघ नेपाल दाङ शाखाले सोमबार घोराहीमा आयोजना गरेको ‘अग्रगामी संविधान निर्माणका चुनौतीहरु’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताउनुभएको हो ।

सत्तापक्षीय दलहरुले लगाइरहेको जातीय राज्यको आरोप सरासर झुटो भएको भन्दै नेता भट्टराईले एमाओवादीले जसको छुट्टै भाषा, संस्कृति र ऐतिहासिक निरन्तरता छ, त्यो जाति जात नभएर राष्ट्रिय समुदाय भएको भन्दै उनीहरुलाई अधिकारसम्पन्न बनाउन भनेको बताउनवुभयो ।

उहाँले नेपालमा खस आर्य, तिब्बत–बर्मेली र मधेशी गरी तीन भाषिक समुदायको बसोबास रहेको उल्लेख गर्दै अहिले खस आर्यले मात्र राष्ट्रिय भाषा, संस्कृतिको मान्यता पाएकाले थप दुई भाषिक समुदायलाई पनि त्यो अधिकार दिंदा बिखण्डन नहुने बरु नयाँ राष्ट्रिय एकताको शुरुवात हुने बताउनुभयो ।

‘हामीले उठाएको काष्ट अर्थात् जातपातको कुरा होइन, नेशनलिटी अर्थात् राष्ट्रियता समुदायको अधिकार सुनिश्चित गर्ने कुरा हो ’– उहाँले भन्नुभयो, ‘यसले उत्पीडनको अन्त्य गर्छ र राष्ट्रिय एकताको विकास गर्छ ।’

अहिले खस आर्य भाषाको मात्र पठनपाठन हुने तराईका थारु बाहुल्य क्षेत्रका विद्यालयमा थारु भाषाबाट पनि पठनपाठन थाल्दा र अदालतहरुमा थारु भाषाबाट पनि बहस गर्न पाउँदा त्यसले बिखण्डन ल्याउँछ भन्नुको कुनै तुक नभएको उहाँले बताउनु भयो । खोसिएको भाषा संस्कृतिलाई राष्ट्रिय पहिचान दिंदा पनि कुनै बिखण्डन नआउने बरु राष्ट्रिय एकताको भाव सिर्जना हुने उहाँले बताउनुभयो ।

भट्टराईले सत्ताधारी दलहरुले बहुमतको तरबार झुण्ड्याएर बोलाएको वार्ताको कुनै औचित्य नरहेको भन्दै आफूहरु त्यस्तो वार्तामा नबस्ने बताउनुभयो । उहाँले विगतका सहमति लागु गर्ने प्रतिबद्धता सत्तारुढ दलहरुबाट आए वार्ता हुने स्पष्ट पार्नुभयो । ‘बहुमतीय प्रक्रियाको तरबार झुण्ड्याएर वार्ता हुन सक्दैन, वार्तामा बोलाउने हो भने वार्ताको ढोका खोल्नुपर्छ ।’

दुबै पक्षलाई मान्य संविधान नहुँदासम्म दिगो शान्ति नहुने स्पष्ट गर्दै उहाँले हिजो गरिएका सबै सम्झौता पालना गरिए सहमति हुने सम्भावना अझै रहेको बताउनुभयो । आफूहरुले सहमतिबाटै संविधान जारी गर्न दबाब सिर्जना गर्ने उद्देश्यले देशब्यापी आन्दोलन सञ्चालन गरेको जानकारी दिंदै भट्टराईले सहमतिका लागि सत्तारुढ दलहरु तयार नभए मुलुक नयाँ द्वन्द्वतिर अघि जाने चेतावनी पनि दिनुभयो ।

‘हामीले सहमतिबाट संविधान बनाउन गरेको आग्रहलाई कमजोरी ठानेर एकतर्फीरुपमा संविधान घोषणा गरियो भने हामी पनि समानान्तर संविधानसभा गठन गर्न बाध्य हुने छौं’– उहाँले भन्नुभयो– ‘त्यसपछि हाम्रो समानान्तर संविधानसभाबाटै संविधान जारी गरिनेछ ।’

संविधानसभाका सबै प्रक्रिया अस्वीकार गरेर आफूहरुले सहमति मात्र नभनेको स्पष्ट गर्दै उहाँले मुख्य–मुख्य एजेण्डामा आन्दोलनका सहयात्री दलहरुबीच सहमति हुनुपर्ने बताउनुभयो । माघ ५ गतेसम्म आइपुग्दा संविधानसभाको हत्या गरिएको दावी गर्दै उहाँले सत्तारुढ दलहरुले कुनै पनि बेला ताली पिटेर संविधान जारी गर्ने खतरा रहेको बताउनुभयो ।

सत्तारुढ दलहरु कांग्रेस र एमालेमा नेतृत्व परिवर्तन भएकाले पनि सहमति कार्यान्वयनमा समस्या आएको उहाँले बताउनुभयो । तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एमाले महासचिव माधवकुमार नेपालको पालामा भएको बृहत् शान्ति सम्झौताको स्वामित्व लिन कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले अप्ठ्यारो मानेकाले नै अहिले समस्या आएको नेता भट्टराईले दावी गर्नुभयो ।

गत कार्तिक १७ गते नौ बूँदे सहमतिमार्फत् सत्तारुढ दलहरुले विगतका सहमति उल्ट्याउने प्रयास गरेपछि संविधान निर्माणमा अवरोध सिर्जना भएको उहाँले बताउनुभयो । अघिल्लो संविधानसभाले गरेका सहमतिको स्वामित्व यो संविधानसभाले लिने संकल्प प्रस्ताव पारित गरे पनि कांग्रेस, एमालेले ल्याएको नौ बूँदे प्रस्तावमा त्यसलाई उल्ट्याइएको उहाँको दावी छ ।

‘पुराना सहमतिविपरीत पुरानै संसदीय व्यवस्था, प्रत्यक्ष निर्वाचन प्रणाली र संघीयताबिरोधी प्रस्ताव ल्याएर उहाँहरुले सहमतिको वातावरण बिथोल्नुभयो ’– संविधानसभाको सम्बाद समितिका सभापतिसमेत रहनुभएका भट्टराईले भन्नुभयो, ‘पहिचानका पाँच र सामथ्र्यका चार आधारसहित राज्य पुनःसंरचना गर्ने सहमति भए पनि सत्तारुढ दलहरुले त्यसविपरीत भौगोलिक विभाजनको मात्र प्रस्ताव ल्याएर सहमति उल्लंघन गरेका छन् ।’

क्रान्तिकारी पत्रकार संघ दाङका अध्यक्ष नरेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगी, व्यवसायी, पत्रकार, अधिकारकर्मीलगायत विभिन्न क्षेत्रका पन्ध्र जनाले जिज्ञासा राख्नुभएको थियो ।

संघका केन्द्रीय सदस्य गणेश ओलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष डिल्ली मल्लले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *