फिल्म कार्यशालाले उत्साहित रोल्पाली

  
  प्रकाशित मितिः बिहिबार, फाल्गुन ७, २०७१       | 188 Views   ||

film_rolpa 1‘हेलो, हेलो म यहाँ फिल्म हेर्ने ठाउँमा छु यतै आउ न है ।’ बेलुकी पौने सात बजे एक युवक फोनमा आफ्ना साथीलाई यसरी बोलाउँदै थिए । एक साताअघि रोल्पाको सदरमुकाम लिबाङ टुडिखेलमा बेलुकी पौने सात बजेको समयमा फिल्म सुरु हुनभन्दा अगाडि नै प्रदर्शनस्थलमा उनीमात्रै हैन धेरै दर्शको भीड लागिसकेको थियो ।

अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला २०१५ को शिलशिलामा रोल्पामा हरेक दिन बेलुकी नेपाली चलचित्र टुडिखेलमा खुल्ला रुपमा प्रदर्शनमा आएपछि हिजो आज रोल्पाको सदरमुकाम लिबाङको माहौल नै चलचित्रमय भयो ।

अहिलेसम्म एउटा फिल्म हल नभएको रोल्पाको सदरमुकाम लिबाङमा कार्यशालाको आयोजकले प्रोजेक्टमार्फत् नेपाली फिल्म देखाएपछि माघ महिनाको जाडोको कुनै मतलब नगरि केटाकेटी, युवायुवती र अधबैंशे दर्शकहरुले माघ २९ गतेसम्म लगातार ६ दिन टुडिखेलमा उभिएरै फिल्म हेरे ।

बेलुकी ७ बजेदेखि लाग्ने फिल्मको लागि कतिपयले आफ्नै घरबाट कुर्सी, मुढा, बेञ्चको समेत व्यवस्था गरेर फिल्म हेर्न ६ बजे नै टुडिखेलस्थित मिलनकेन्द्र अगाडि पुगिसकेका हुन्थे ।

‘१० बजेसम्म ड्युटी छ, आज त ड्युटी सकिएको पत्तै नपाइने भो’ ड्युटीमा बर्दीसहितका एक प्रहरी जवानले भने ।

भीडको बीच भागमा बच्चा बोकेर फिल्म हेर्न उभिएकी कमला मगरले जिल्लामा एउटा पनि हल नहुँदा ठूलो पर्दामा फिल्म हेर्न नपाइरहेको गुनासो गरिन् । उनीसँगै छेउमै उभिएकी अर्को महिलाले आफूलाई नेपाली चलचित्र खुब मन पर्ने बताउँदै जिल्लामा हलको व्यवस्था भई यसो हेर्न पाए हुन्थ्यो भन्ने मनको कुरा खोलिन् ।

आयोजकले झोला, शहीद, बसाइ, फर्किआउ जस्ता आधा दर्जन जति फिल्म प्रोजेक्टरमार्फत् देखाइएको थियो । ती मध्ये पहिलो दिन प्रदर्शन गरिएको चलचित्र झोलालाई रोल्पालीहरुले धेरै रुचाए ।

film_rolpaदैनिक सयौंको संख्यामा बिनाशुल्क फिल्म हेर्न दर्शकहरु टुडिखेलमा जम्मा हुने गरेको भन्दै फिल्म कार्यशाला व्यवस्थापन समितिका संयोजक चेतन कुवँरले दैनिक झण्डै ७ सय बढीले फिल्म हेरेको बताए । दक्ष प्राविधिको अभावमा व्यवस्थित तरिकाले फिल्म देखाउन नसकिएको कुवँरले बताए । उनले भने, ‘दैनिक एक हजारको दरले पारिश्रमिक दिन्छु, फिल्म देखाउँदा बेर भन्दा पनि त्यस्तो पोख्त प्राबिधिक नै मिलेन ।’

रोल्पालीहरुको फिल्म हेर्ने धोको भने अझै पूरा भएको छैन । बिशेष गरि धेरै जसो नेपाली भाषाका माध्यमबाट मनोरंजन प्राप्त गर्न रुचाउने रोल्पालीहरुले अहिलेसम्म हलमा गएर फिल्म हेर्न पाएका छैनन् ।

यसैबीच कार्यशालाको उक्त समूहले जिल्लाका आधा दर्जन स्थानमा पुगेर छोटो समयको फिल्म लघुसिनेमा निर्माण गरि प्रदर्शन ग¥यो । लिबांङ, घोडागाउँ, माडिचौर, कोर्चाबाङका विभिन्न स्थानहरुमा पुगी उक्त स्थानका समुदायको पहिचान, बिशेषता, समस्या, अभाव र सम्भावनाका विभिन्न बिषयहरुमा अध्ययन अनुसन्धान गरि फिल्म निर्माण गरिएको थियो ।

ती फिल्ममध्ये रोमान्स रोल्पा नामक माडिचौरमा सुटिङ गरिएको फिल्म उत्कृष्ट हुन सफल भयो । यसले रोल्पाको सामाजिक, धार्मिक, प्राकृतिक र पर्यटकीय सम्भावनाहरुको खोजी गरी रोल्पा जिल्लालाई सिनेमाकरण गर्न सहयोग गर्ने अखिल नेपाल चलचित्र कर्मी संघका अध्यक्ष केपी पाठकले बताए ।

‘रोल्पाको समस्या, अभाव, सम्भावना र बिकासको खोजी देशभित्र र बाहिरबाट समेत हुनेछ ।’ पाठकले भने, ‘रोल्पा युद्ध, प्राकृतिक र सांस्कृतिक पर्यटनको राम्रो सम्भावना बोकेको ठाउँ हो, साथै यहाँका मौलिक पहिचान र अभावको कुरालाई बाहिरसम्म ल्याउन र त्यसमा पहल गर्न यो कार्यले थप सहयोग गर्छ भन्ने बिश्वास छ ।’

चलचित्र निर्देशक अनुप थापाले रोल्पाको प्राकृतिक, सांस्कृतिक सौन्दर्य र यहाँको वास्तविक अभाव, समस्या अनि सम्भावनाका कुरालाई बाहिर ल्याउन यसै ठाउँमा चलचित्र छायांकन हुनुपर्ने बताए । तर त्यसको लागि गहिरो अध्ययन गर्न आवश्यक रहेको भन्दै आफू अर्को पटक रोल्पा जसरी पनि फर्किने बताए ।

प्रस्तुति : मनिषा श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *