माओ | यज्ञबहादुर डाँगी

  
  प्रकाशित मितिः बिहिबार, फाल्गुन ७, २०७१       | 161 Views   ||

Dangi_newमाओ ! पठाइदिनू तिम्रो
‘महान बहस’को महान पुस्तक हामीलाई
पठाइदिनू, पठाइदिनू हामीलाई

शान्ति प्रक्रिया एक्लै नआउँदो रहेछ
सँगसँगै जे आएको छ–अधातु
आपत्ति छ त्यसप्रति हाम्रो

पठाइदिनू
चौबाटोको बजारमा छौँ हामी
यो ठाउँ यस्तो हो
अलिकति खुट्टा खस्कियो कि
खतरनाक इलाकामा पुग्दछौँ हामी
यही ठेगानामा पठाइदिनू हामीलाई
तिम्रो महान पुस्तक हामीलाई

पठाउँदा
तिम्रो लामो हिडाईको संस्मरण पनि पठाइदिनू
अक्सर सोच्दैछौँ हामी
कति कठिन ठाउँ बनिरहेछ धर्ती
चटक्क छोडेर यो ठाउँ
लगत्तै ठेगाना फेर्दैछौँ हामी
क्रान्तिपथ हुँदै
तुफानी मार्ग जाँदैछौँ हामी

हामी चाहन्छौँ यहीनेर
पहिलो कुरा छोडेर
दोस्रो, तेस्रो र चौथो कुरा गर्नु व्यर्थ छ
केवल त्यही कुरो सही छ
जे गर्दै आएका थियौँ
त्यतिखेरको
हामीभित्रको
एक जवान खुसीको गालामा
यतिखेर जवानीमै जथाभावी
चाउरीहरु जम्न शुरु भए किन ?
यस खतराबाट बच्न चाहन्छौँ हामी

पठाइदिनू
पठाउँदा खु्रश्चोभको सचित्र पनि पठाइदिनू
त्यसका हातमा कस्ता औँला थिए
हामी जान्न चाहन्छौँ
र, बुझ्न चाहन्छौँ
हातको जथाभाबी बदमासी
यतिखेर हाम्रो छातीभित्रको भय
आगोमा फेरिएर बलिरहेछ भित्रभित्रै

तिमीले नै दिएका हौ
हाम्रो कदमलाई गति
तिमीले नै दिएका हौ
हाम्रो गतिलाई दिशा
तिमीले नै दिएका हौ
हाम्रो हातलाई हिम्मत
पठाइदिनू सम्पूर्ण साधनहरु
मौनतासित बस्दै गरेको हावालाई
हुरी बनाउने इच्छा छ हाम्रो
खुम्चेर बस्दै गरेको आसमानलाई
विशाल बनाउने इच्छा छ हाम्रो
क्षीण रुपमा बल्दै गरेको आगोलाई
ज्वाला बनाउने इच्छा छ हाम्रो
छाती भित्रभित्रै बल्दै गरेको भयलाई
विष्फोट गराउने इच्छा छ हाम्रो

माओ पठाइदिनू तिम्रो
‘महान बहस’को महान पुस्तक
यतिखेर निकै जरुरी भैसक्यो हामीलाई
जरुर पठाइदिनू ।
–दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *