लम्कीदेखि लिस्नेसम्मका सैन्य कमिस्नरसँग

  
  प्रकाशित मितिः बिहिबार, फाल्गुन ७, २०७१       | 300 Views   ||

Manarishi_RGB– मनऋषि धिताल

हामीले सुगरसाप्रे बिहान छोड्यौं र नयाँ सम्पर्कमा हिड्यौं । बाटोभरि जंगल थियो । जंगलभित्र जो कसैलाई बाटो पत्ता लगाउन गाह्रो थियो । कुनै पनि पैतलाका डोब नदेखिने घाँसे चिप्लेटी हुँदै कमरेड महान हामीलाई डो¥याउँदै छन् । बाटोमा महानको खुट्टामा चोट लाग्यो । हिजो उनले बाटोभरि मलाई बोके पनि म आज उनको झोलासम्म बोक्ने अवस्थामा छैन । पहाडको उकाली ओरालीमा कमजोर चप्पल लगाएर हिडेका कमरेड महान चोट लागेपछि खोच्याएर हिड्छन् । तर, हामीभन्दा उनको हिडाइ छिटो नै छ ।

पाँच घन्टाको हिडाइपछि हामी मध्यानतिर पान्डोनको नारङ्गे पुग्यौं । यो मगरको बस्ती हो । यहाँ विजयादशमीको रमझम देख्न सकिन्थ्यो । पार्टीले केही दिनका लागि उनीहरुको संस्कारको सम्मान गर्दै विजयादशमी स्वतन्त्रतापूर्वक मान्न दिइएको थियो । यहाँ हामीले विद्रोही नेता सुदर्शनलाई भेट्यौं । पत्रकार साथी गुणराज लोहनी र हामीलाई सुदूरपश्चिमबाट नियमित लेख रचना पठाइरहने प्रशान्त पनि यहीं थिए । लेखहरुबाट मैले प्रशान्तलाई थारु समुदायका लेखक ठानेको थिएँ । तर उनी थारु समुदायका रहेनछन् । स्थानीय जनता विद्रोही नेताहरुलाई खानाका लागि निम्ता गर्न आएका थिए । राप्ती अञ्चलबाट सुदूरपश्चिममा आएका प्रशान्तले सुदूरपश्चिममा जनयुद्धको विकासबारे हामीसँग कुराकानी गरे । उनले भने, ‘०५५/०५६ सम्म हामी तराईमै केन्द्रित थियौं । राजमार्ग उत्तर लागेका थिएनौं । अहिले थाहा भयो चुरे उत्तरको बस्ती कति उत्पीडित रहेछ र कति क्रान्तिकारी रहेछ । साथै भूगोल पनि यति सुन्दर रहेछ ।’

दुई दिनसम्मको हाम्रो बसाईका क्रममा यहाँ भेटिएका विद्रोही नेता कार्यकर्ताहरुले हामीलाई युद्धका रमाइला अनुभूतिहरु सुनाए । सुदूरपश्चिममा सेना निर्माण र विकासबारे पनि प्रकाश पारे । राप्तीबाट सरुवा भई आउने सुरुतिरका सीमित कार्यकर्तामध्ये एक हुन्– प्रशान्त ।

म हुर्केको राजापुर क्षेत्र पनि हाल विद्रोहीहरुको सेती महाकालीमा पर्ने रहेछ । हाल यो राजापुर इलाकाबाट जनमुक्ति सेनाको लिस्ने गाम तेश्रो ब्रिगेडमा सयौं युवायुवतीहरु कार्यरत रहेछन् । यी मध्ये एक युवाले मलाई जनादेशमै कार्यरत एक पत्रकारको नाम लिएर सोधे, ‘……. लाई चिन्नुहुन्छ ?’ हाम्रो नजिक भएका सुदर्शन, प्रशान्त, प्रतिभाहरु हाँस्न थाल्नुभयो । मैले अँ चिन्छु भनें । र, उनको परिचय मागें । उनी राजापुरमा म हुर्केको गाउँका थिए । तर, म भन्दा कम उमेरका । सुदर्शनले उहाँ नै हो तपाईले सोधेको भनेपछि उनी आश्चर्यमा परे । उनले मलाई नामले मात्र चिनेका रहेछन् । उनले मलाई बेलीविस्तार गरे, ‘हाम्रो गाउँका धेरै युवायुवती यतै छन् । कोही सेनामा कोही संगठनमा ।’ उनले तराईमा भातै भात खाएकाहरु पनि उच्च हिमाली भेकमा गएर सातु मात्रै खाएर लड्न सकिन्छ भन्ने कुरा आफूहरुले देखाइदिएको पनि बताए र गौरवान्वित हुँदै अर्घाखाँची, जुम्ला, लिस्ने, गाम, दमाचौरका भीडन्तका कथाहरु सुनाए ।

यहाँ भेटिएका विद्रोहीहरुका केन्द्रीय नेता सुदर्शनले कैलालीको लम्की भीडन्तदेखिका स्मरणहरु क्रमशः सुनाए ।

२०५८ चैत्र ६ गते कैलालीको पूर्वपश्चिम राजमार्गमा पर्ने लम्की इलाका प्रहरी कार्यालय कब्जा भएको थियो । दश दिनको तयारीमा गरिएको लम्की आक्रमणबाट ५६ लाख नगद, बीस थान हतियार र संचार उपकरणहरु बिद्रोहीहरुका हातमा आएका थिए । लम्की मोर्चाका कमिश्नर सुदर्शन भन्नुहुन्छ, ‘मोर्चामा खटेको सेनालाई दुश्मनहरुका लास गन्ने फुर्सद हुँदैन । मरेका लासहरुलाई कुल्चदै अगाडि बढिन्छ ।’ लम्की भीडन्तपछि बिद्रोहीहरुको खोजीमा हिडेको सरकारी फौज र बिद्रोही सेना तीन घण्टाको दुरीमा बास बसे । गाउँ पसेको सेनाले त्यतिबेला सुगरखालमा सात जना गाउँलेको हत्या ग¥यो ।

सुदर्शनले त्यसपछि संकटकालको सैन्य लङमार्चको स्मरण सुनाउनुभयो । फौजी कार्वाहीको तयारीको खबर प्राप्त भएपछि सेती महाकालीको फौज त्यसतर्फ लाग्यो । दैलेखको डुङ्गेश्वरबाट सुर्खेतको अवलचिङसम्म लगातार तीस घण्टाको बाटो नबिसाइकन र केही पनि नखाइकन जनमुक्ति सेना हिडिरह्यो । बाटोमा सातु, चिउरा र बिस्कुट मात्रै खाएर सेना हिडिरह्यो । सबैका खुट्टामा फोका उठेका थिए । नयाँ फौजलाई खुट्टामा उठेका फोकाहरु नै तालिम भए । त्यहाँबाट जनमुक्ति सेना सल्यानको नाथेपीपल, दमाचौर, रोल्पाको घोडागाउँ, खुङ्ग्री हुँदै हप्ता दिनपछि प्यूठानको लिस्ने लेक पुग्यो । लिस्नेमा यो फौज दुई दिन बस्यो । यहाँ सबैतिरबाट जम्मा भएको झण्डै तीनहजार फौज थियो । र, बाहिरी घेरासमेत जोड्दा चार–पाँच हजार जनमुक्ति सेना लिस्ने लेकमा जम्मा भयो ।

२०५९ बैशाख १९ गते बिहानै केही जनसेना खाना खाइरहेका थिए । सैन्य कमाण्डको बैठक पनि बसिरहेको थियो । शाही सेनाले एक्कासी नजिकैबाट ८१ प्रहार ग¥यो । क्षति भने केही भएन । यो हतियारले ६ किमिसम्म हान्न सक्छ । यसपछि खाना छोडेर जनमुक्ति सेना र शाही सेनाबीच अग्लो मोर्चा कब्जा गर्ने प्रतिस्पर्धा सुरु भयो । यहाँ शाही सेनाले प्यूठान, रोल्पालगायतका ठाउँबाट चारैतिर घेरा कस्न खोजेको थियो । तर जनमुक्ति सेनाले चलाखीपूर्ण तरिकाले अर्ध गोलाकार प्रतिघेरा कस्यो । जनमुक्ति सेनाका कमाण्डर राजेशको फौजले तितेपातल मोर्चा कस्यो । पासाङको कमाण्डको सेना बीचमा थियो र विविधको कमाण्डिङको सेती–महाकालीको फौजले सोझै प्रत्याक्रमण सुरु ग¥यो । प्यूठानको शाही सेनालाई जनमुक्ति सेनाले विजुवारसम्म लखेट्यो । बाटोमा बलात्कार गर्ने एक शाही सेनालाई जनमुक्ति सेनाले कब्जामा लियो र ती बलात्कृत महिलाले बन्दुक खोसेर उसैलाई गोली ठोकेर मारिन् र जनमुक्ति सेनासँगै लम्बेयात्रामा सामेल भइन् । आतंकित सेनाले ८ बर्षको एक बच्चालाई काटेर हत्या ग¥यो । तीन घण्टासम्म लिस्ने लेकमै भएको युद्धमा जनमुक्ति सेनातर्फ ६ जनाले शहादत प्राप्त गरे र विजुवारसम्म लखेट्दै गएको जनमुक्ति सेनाले एउटा एलएमजी र ६ वटा एसएलआर कब्जा गरेर फक्र्यो ।

भोलिपल्ट बैसाख २० गते जनमुक्ति सेना रोल्पाको पाङमा केन्द्रित भयो । लिस्ने मोर्चाको हार लुकाउन सरकारले जनमुक्ति सेनातर्फ हजारौं मारिएका भ्रमपूर्ण समाचार प्रशारण ग¥यो ।

सैन्य कमिश्नर सुदर्शन त्यसपछिका सैन्य मोर्चाहरुको चित्रण गर्दै भन्नुहुन्छ, ‘त्यसपछि जनमुक्ति सेनाले सरकारी फौजलाई बढार्ने लक्ष्य बनायो । तीन दिनभित्रै रोल्पाको गामस्थित संयुक्त आधार शिविर बढार्ने योजना बन्यो । सर्वे र नक्साङ्कन तुरुन्तै भयो । आफ्ना घाइते र बिरामीहरु जनसेनाले बोकिरहेको थियो । बैसाख २४ गते राती ११ बजे गाम हमला भयो । यो ऐतिहासिक हमला थियो । शाही सेनाको सैन्य किल्लाबन्दी पूरै अमेरिकी प्रविधिमा बनाइएको थियो । यो मोर्चामा सेती–महाकालीको फौजले सबभन्दा बढी लड्यो । क्षति पनि सेती–महाकालीतर्फ बढी भयो । कम्पनी कमाण्डर रोशन लगायत २० जना सेती महाकालीको र अन्य ११ गरी ३१ जना जनमुक्ति सेनाले यहाँ सहादत प्राप्त गरे । एउटा ८१, दुइवटा एलएमजी, ५५ थान एसएलआर र चालीस हजार राउण्ड गोली कब्जा भयो । ९० जना शाही सेना र पचासभन्दा बढी प्रहरी मारिए । यो मोर्चा राती १ बजे पूर्ण विजय भयो । मौसम निकै अनुकूल थियो । जनमुक्ति सेना यहाँबाट थवाङतिर लाग्यो । भोलिपल्ट बीबीसीका दक्षिण एशिया सम्वाददाता ड्यानियल ल्याकसमेत यहाँ आए ।

त्यसपछि जेठ १० गते रुकुमको साँख आधार शिविर बढार्ने योजना बन्यो तर उ भाग्यो । तत्कालै जेठ १४ गते खारा बढार्ने योजना बन्यो । कम्पनी फर्मेशनमै खारामा राती १२ बजेदेखि लडाई सुरु भयो र बिहान ६ बजेसम्म घमासान रुपमा चल्यो । यो मोर्चामा घाइते र सहिद भएका जनमुक्ति सेनाका हतियार उठाएर जनता पनि अग्रमोर्चामा लड्न गए । यसै क्रममा तीनजना स्वयंसेवकसमेत सहिद भए । यो मोर्चा असफलजस्तै भयो । दुईवटा अग्रमोर्चा कब्जा भए पनि समयले साथ नदिएर जनमुक्ति सेना यहाँबाट फक्र्यो । यो मोर्चामा जनसेनाले चार दर्जन सहयोद्धा र केही हतियार पनि गुमायो । भूससमेत चाल्न नपाएको ढिडो खाएर यो मोर्चामा जनमुक्ति सेना वीरताकासाथ लड्यो । दुश्मन पछ्याएर अगाडि बढ्न सकेन ।

त्यहाँबाट सेती–महाकालीको फौज सल्यानतिर लाग्यो । सल्यानको बुराँसे दमाचौरमा शाही सेना आएको खबर प्राप्त भएपछि जेठ २९ गते उसलाई त्यहाँबाट भगाउने योजना बन्छ र जनसेना रोल्पाको झेनाम हुदै दमाचौर आइपुग्छ । साँझ ६ बजेदेखि शाही सेनामाथि गरिएको आक्रमण बिहान ७ बजेसम्म जारी रह्यो । शाही सेना जनताको घर–घरमा पस्यो र घरका मानिसलाई मानव ढाल बनायो । पूरै गाउँ घेरा हालेर एक–एक घर खानतलासी लिदै कार्वाही गर्दा तीस पैतीस जना शाही सेना मरे । केहीलाई स्थानीय मिलिसियाहरुले मारिदिए । त्यहाँबाट शाही सेना भाग्यो । र, सेती महाकालीको फौज अर्घाखाँची मोर्चाको तयारीमा आफ्नो गन्तव्यतिर लाग्यो ।

जनयुद्धको क्रममा लेखिएको युद्ध पत्रकारको डायरी तत्कालीन अवस्थाको यथार्थ चित्रणका लागि भाषा सम्पादन नगरी छापिएको छ । –सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *