फागुन एक | हिरामणि दुःखी

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन १३, २०७१       | 224 Views   ||

Hiramani Dukhiसम्झन्छु फागुन एक अघिल्लो
रोमान्चित हुन्छ मन
जिरिङ्ग उम्रन्छन् तनभरि काँडाहरू
उर्लिएर आउँछ हृदयभित्र
एउटा अजङ्गको सुनामी
उद्धेलित हुन्छन् भावनाका छालहरू
त्यो स्वप्निल संसार
कति चम्किलो थियो
पूर्ण कदको चाँदनी रातजस्तै
कति अग्लो थियो
सगरमाथाको उचाइजस्तै
र, कति कञ्चन थियो
सारदीय स्वर्णिम बिहानीजस्तै
उन्मुक्त थिए मान्छेहरू
न थियो रङ्गको पर्खाल
न थियो वर्णको गजबार
न उभिएको थियो मनुको तरबार
रोकेको थिएन बधुशिक्षाले पनि
बर्जित पोथी बास्न ।

देख्दैछु फागुन एक अहिले
अलिनो तरकारीजस्तै छ
खालबाट उठेको हरूवा जुवाडेजस्तो
उदास–उदास देखिन्छ
स्वप्न हराएका बटुवाहरू
गन्तव्य भुलेका मालचरीजस्तै
असरल्ल छन् आकाशमा
टुक्रिएका छन् सपनाहरू
चुँडिएका छन् हृदयका सरगमहरू
भुइँकुहिरोमा अलमलिएर
पहिल्याउन सकेका छैनन्
हटारुहरूले अगाडिको यात्रा
हो, यस्तै यस्तै लाग्छ
यतिखेरको फागुन एक ।

उभिएका छन् पिठ जोडेर
छुट्टाछुट्टै दशकका फागुन एकहरू
ऊध्र्वगामी थियो पहिलो दशक
पश्चगामी छ पछिल्लो दशक
परन्तु मरिसकेका छैनन्
सपनाहरू अझै
असरल्लै छरिएका घाइते सपनाहरू
उठ्दैछन् र खोज्दैछन्
एउटा दरिलो बैशाखी ।

२ फागुन २०७१ काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *