कसरी बाँचिरहेका छौं हामी ?

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन १३, २०७१       | 191 Views   ||

एसएलसी परीक्षाको तयारीका लागि ट्यूसन पढ्न गएका दुई जना निर्दोष किशोरीलाई कक्षाकोठामै एसिड प्रहार भएको पाँच दिन बितिसक्दा पनि अपराधी फेला पर्न सकेका छैनन् ।

प्रविधि र सञ्चारको अहिलेको विकसित युगमा समेत राजधानीकै मुटुमा कलिला विद्यार्थीहरुलाई एसिड हान्ने अपराधीको सुइकोसम्म नपाउने फितलो सुरक्षा व्यवस्था र सरकारको लाचारीले प्रष्ट हुन्छ हामी कति सुरक्षित छौं ?

यो त एउटा सानो घटना हो, जसलाई हामीले भर्खरै भोगेका छौं । यहाँ दिनदिनै मान्छेहरु मारिनु, कुटिनु, लुटिनु र अपराधीहरु वर्षौंसम्म पत्ता नलाग्नु सामान्य दिनचर्याजस्तै बनिसकेको छ ।

राजधानीकै मुटुमा हुने विभिन्न आपराधिक घटनाका दोषीहरु फेला नपर्नु, फेला परे पनि कुनै न कुनै राजनीतिक आवरण र नेताविशेषको संरक्षणमा निर्दोष सावित गर्नु नेपाली राजनीतिको एउटा विशेषता नै बन्न थालिसकेको छ ।

हाम्रो देशमा हुने गरेका विभिन्न घटनाहरु हेर्दा लाग्छ– हामी बाँच्नुको, लुटिनबाट जोगिनुको मुख्य कारण यहाँको सुरक्षा व्यवस्था कडा र सरकारी सुरक्षा संयन्त्र सतर्क भएर हैन अपराधीले अपराध नगरेर हो ।

केही दिन पहिले एकीकृत नेकपा (माओवादी) अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले आफूलाई सुरक्षा थ्रेट आएको सार्वजनिक गर्नुभयो । त्यसयता नेताहरुको सुरक्षाका विषयमा सरकारदेखि ठूला मिडिया र सामाजिक सञ्जालसम्म प्रचण्डको सुरक्षाका विषयमा व्यापक बहस भइरहेको छ ।

सामाजिक सञ्जालमा हुने हल्काफुल्का टिप्पणी, ठट्टा र गालीगलौजलाई छोडेर सरकारी पक्षका साथै देशकै ठूला भनिएका मिडियाहरुमा आइरहेका क्रिया प्रतिक्रिया हेर्दासमेत प्रचण्डको अभिव्यक्तिलाई मजाकको विषय बनाएको भान हुन्छ ।

दश वर्षे सशस्त्र जनयुद्धको नेतृत्व गर्दै साढे दुई सय वर्षदेखिको जहाँनिया राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापनाका लागि लडेको पार्टीको मुख्य नेताले आफूलाई सुरक्षा थ्रेट आएको बताउँदा सरकारले गम्भीरतापूर्वक लिनुको साटो युद्धकालदेखि अहिलेसम्म पार्टीभित्रकै असन्तुष्टहरुले थ्रेट दिएका होलान् भन्ने जस्ता हल्का टिकाटिप्पणी गर्नु कति जायज होला ?

सरकारदेखि आफूलाई व्यावसायिक दावी गर्ने कतिपय ठूला भनिएका मिडिया र व्यावसायिक पत्रकार, विश्लेषक दावी गर्ने विद्वान पत्रकार लेखकहरुको सतही विश्लेषण र टिप्पणी हेर्दा लाग्छ– जानेर होस् वा नजानेर, चाहेर होस् वा नचाहेर एमाओवादी अध्यक्ष प्रचण्डलाई सिध्याउने वातावरण तयार गर्दैछन् ।

जनयुद्धका क्रममा पीडित भएका परिवार तथा पार्टी विभाजन भइसकेपछि कार्यकर्ताहरुमा आएको निरासाका कारण उनलाई थ्रेट आएको हो भन्ने आसयको विश्लेषण गर्ने विद्वानहरुले एकपटक जंगबहादुरको कोतपर्वदेखि बहुदलकालकै मदन भण्डारीकाण्ड हुँदै राजा बीरेन्द्रको परिवारै सखाप पारिएको राजदरबार हत्याकाण्डलाई किन बिर्सिएझैं गरिरहेका होलान् ?

कहाँसम्म भने आफूलाई स्वघोषित बाबा र माता भन्नेहरुले कोहीलाई प्रधानमन्त्री/मन्त्री बन्ने योग छ भन्दै मख्ख पार्दैछन् भने कसैलाई घुमाउरो भाषामा यो सालभित्रै ठूलै नेताको हत्या हुनसक्ने सम्भावना छ भन्दै ‘भविष्यवाणी’ गर्न तल्लीन छन् ।

यी सबै घटनाक्रमहरुलाई एक ठाउँमा ल्याएर विश्लेषण गर्ने हो भन्ने आशंका उत्पन्न हुन्छ कि कतै प्रविधि र सञ्चारका सबै माध्यमहरुमार्फत् अनेकथरि होहल्ला गर्ने र त्यही हल्लाकै बीचबाट परिवर्तनका एजेण्डा बोक्ने नेता र व्यक्तिहरुमाथि भौतिक हमला गर्ने सुनियोजित षड्यन्त्रको तानाबाना त बुनिदै छैन ?

यी यावत घटनाक्रम, विश्लेषण र आपराधिक क्रियाकलापको बढोत्तरी, आपराधिक क्रियाकलापहरुप्रति सरकारको लाचारी र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिले देशको सुरक्षा अवस्थाको अस्तव्यस्त र भयग्रस्त तस्बीर प्रष्ट देखाउँछ ।

विडम्बना, फितलो सुरक्षा व्यवस्थालाई कडाई गर्न र आफ्ना नागरिक तथा नेताहरुको सुरक्षामा गम्भीर बन्नुपर्ने सरकार नै विपक्षी दलको प्रमुख नेताले म असुरक्षित भएँ भन्दा मजाकको विषय बनाउँछन् भने आम नागरिकको सुरक्षा कसले गर्ला ?

त्यसैले यतिखेर हामी देशको सुरक्षा व्यवस्था कडा भएर बाँचिरहेका होइनौं, अपराधीले नमारेर बाँचिरहेका छौं भन्नुपर्ने अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *