सल्यानका तीन सडकको स्तरवृद्धि गरिने

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन १३, २०७१       | 146 Views   ||

सल्यान, फागुन १३ । जिल्लाका तीन सडकको स्तरवृद्धि हुने भएको छ । राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत सल्यानको ‘क’ बर्गका तीन वटा सडक ‘खलंगा–सिमखर्क–बालुवासंग्रही (३२ किमि), थारमारे–बडागाउँ–स्यानीपिप्ली (३६ किमि) र लुहाम–काभ्रा–रामपुर (२६ किमि) सडकको स्तरबृद्धि गर्ने भएको हो ।

चालु आर्थिक वर्षमा सडक स्तरबृद्धि गरिने भएको छ । ‘क’ वर्गमा छनौट भएका सडक स्तरबृद्धिका लागि विश्व बैंक र नेपाल सरकारले संयुक्त रुपमा बजेट खर्च गरिने भएको छ ।

स्तरवृद्धि गरिने सडकमा ग्य्राबलिङ र ओटासिल पीच हुने स्थानीय विकास अधिकारी हरिप्रसाद दाहालले जानकारी दिए । दाहालले भने, ‘सडकको स्तरोन्नतिका लागि पा“च वर्षे कार्यक्रमअन्तर्गत ४ करोड रकम आइसकेको छ । राम्रो काम गर्न सके कामको आधारमा माग भएबमोजिमको रकम आउनेछ ।

सडकमा तीनवटा पुल निर्माणको योजना रहेको छ । पुलका सर्वे र डिजाइनको काम भैरहेको जिल्ला प्राविधिक कार्यालय सल्यानले जनाएको छ ।

सर्वे र डिजाइन भएकामध्ये थारमारे–बडागाउँ–स्यानीपिप्ली सडकको स्टमेट फाइनल भएको प्राविधिक कार्यालयका प्रमुख जगदिश पोख्रेलले बताए । पोख्रेलले भने–‘यो वर्ष थारमारे–स्यानीपिप्ली र खलंगा–सिमखर्क–बालुवासंग्रही सडकमा काम सुरु हुनेछ ।’

पहिलो चरणमा सडकमा खर्च गर्ने रकम ४ करोड मात्र रातो किताबमा उल्लेख भए पनि सडकको सर्भेअनुसार ओटासिल पीचको लागि प्रतिकिलोमिटर ८० लाख र एउटा पुलको लागि ४ करोडसम्मको बजेट जिल्लामा आउने पोख्रेलले बताए । जिल्ला सदरमुकामसँग जोड्ने सडक प्राथमिकतामा परेकाले सडकको काम पहिले स्तरवृद्धि गर्न लागिएको छ ।

जिल्लामा अहिलेसम्म ४ सय ९८ किमि सडक निर्माण कार्य सम्पन्न भएको छ । निर्माण भएको सडकमा पक्की ८ किमि, ग्य्राबल ८२ किमि, कच्ची ५ सय ८ किमि, केही राम्रो १ सय ६ किमि र खराब ४ सय किमि रहेको जिल्ला प्राविधिक कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार निर्माण भएका १७ वटा सडकमा गाडी चल्छन् भने अन्य सडकमा भने कहिलेकाहीं मात्र यातायातका साधनहरु सञ्चालन आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *