पर्यटकीय नक्सा तथा तस्वीर प्रकाशन गरिदै

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन १३, २०७१       | 272 Views   ||

bardiyaमध्यपश्चिमको पर्यटकीय स्थलहरुमध्ये सबैभन्दा बढी पर्यटकको रोजाईमा परेको स्थान हो बर्दिया राष्ट्रिय निकुञ्ज । अझ बिशेष गरी यो निकुञ्ज बाघ तथा वाइल्ड लाइफको रुचि राख्ने पर्यटकको पहिलो रोजाइमा पर्ने गर्दछ । तर पर्यटकलाई चाहिने आधारभूत नक्सा समेन नहुँदा बर्दिया राष्ट्रिय निकुञ्ज आउने पर्यटकले निकै सास्ती झेल्नु परेको थियो । तर अब त्यो सास्ती झेल्नु पर्ने छैन ।

मनघरी फाउन्डेसनले बर्दिया राष्ट्रिय निकुञ्जलाई लक्षित गरेर पर्यटकीय नक्सा प्रकाशन गर्न लागेको छ । प्रकाशन गर्न लागेको नक्सामा एकातिर बर्दियाको राष्ट्रिय निकुञ्जमा आउने पर्यटकलाई लक्षित गरी पर्यटकीय नक्सा तथा अर्कोतिर मध्यपश्चिमका पन्ध्रै जिल्लाका पर्यटकीय स्थलको सचित्र जानकारीसमेत प्रकाशनको अन्तिम तयारी गरेको छ ।

बर्षेनी ५० हजारभन्दा पनि बढी आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने बर्दियामा पर्यटकीय नक्सा नहुँदा पर्यटकहरु हराउने तथा गलत दिशातर्फ जाने भएकाले नक्सा बनाउन लागेको मनघरी फाउन्डेसनका अध्यक्ष भरतबन्धु थापाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘बर्षेनी ५० हजारभन्दा पनि बढी पर्यटकको आगमन हुने स्थान तथा बाघ हेर्नका लागि पहिलो रोजाइमा पर्ने बर्दियाको अहिलेसम्म पनि नक्सा नहुनु पर्यटन क्षेत्रमा हामी कति पछि छौं भन्ने ज्वलन्त उदाहरण हो ।’

वाइल्ड लाइफ रुचि राख्ने तथा बाघको अवलोकनका लागि विश्वमै प्रख्यात रहेको बर्दियामा पर्यटकीय नक्सा नहुँदा निकै समस्या छ । सो समस्यालाई निराकरण गर्नका लागि हिमालयन म्याप हाउसको प्राविधिक सहयोगमा नक्सा प्रकाशन गर्न लागिएको अध्यक्ष थापाले बताउनुभयो । पर्या पर्यटन विकास मञ्च, बर्दिया र रैका ट्राभल्स एण्ड टुरको सहयोगमा प्रकाशन गर्न लागिएको नक्सामा बर्दिया आउने पर्यटकहरुको रोजाइमा पर्ने गरेका स्थान तथा आवात जावतका बाटाहरु, अस्पताल, मन्दिर, होटल तथा पर्यटकका सरोकारका बिषयमा समाबेश गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्ज पाटे बाघ हेर्न कहलिएको ठाउँ हो । निकुञ्जमा पाटे बाघ, एकसिंगे गैंडालगायत ४ सय ६७ प्रजातिका चरा रहेका छन् । निकुन्ज परिसरमै गोही प्रजनन केन्द्रमा घडियाल र मगर गोही हेर्न पाइन्छ । निकुञ्जमा चित्तल, बाह्रसिंगा, रतुवा, लघुना र जरायो गरी ५ प्रकारका हरिण पाइन्छ । थारु संस्कृतिको हिसाबले पनि बर्दिया निकै उत्कृष्ट रहेको छ ।

बर्दियामा आउने पर्यटकहरुलाई उचित नक्सा नहुदा पर्यटकले भोग्नु परेको समस्यालाई बन्दै गरेको नक्साले केही निराकरण गर्ने व्यवसायी एव पर्या पर्यटन विकास मन्चका कार्यबाहक अध्यक्ष मोहन चौधरी बताउनुभयो । उहाँले भन्नुभयो, ‘होटलमा आउनेबित्तिकै बर्दियाको बिषयमा नक्सासहित जानकारी लिन चाहन्छन् तर नक्सा नहुँदा त कहिलेकाही पाहुना निकै रिसाउने गर्छन् ।’ कहिलेकाँही त पर्यटकहरु जंगल वाक गएर फर्कदा बाटो बिराएर हराउनेसमेत गरेको उहाँले बताउनुभयो ।

नक्साको अर्कोतर्फ मध्यपश्चिमका दैलेख, सुर्खेत, बाँके, जाजरकोट, बर्दिया, हुम्ला, जुम्ला, कालिकोट, मुगु, डोल्पा, रुकुम, रोल्पा, सल्यान, दाङ र प्युठान जिल्लाका पर्यटकीय स्थलको जानकारीका साथै तस्विरसमेत प्रकाशन गर्न लागिएको छ । मध्यपश्चिम क्षेत्रका जिल्लाहरु पर्यटकीय सम्भावना निकै प्रचुर भए पनि उचित प्रचार प्रसार नहुँदा पर्यटकको रोजाइमा पर्न सकेका छैनन् ।

यही कुरालाई उजागर गर्ने हेतुले मनघरी फाउन्डेशनले यसअघि दैलेखको कहिल्यै ननिभ्ने अखण्ड ज्वाला, सुर्खेतको काँक्रेबिहार, नेपालको सबैभन्दा ठूलो रारा ताल, बर्षेनी एक लाखभन्दा बढी भक्तजनको रोजाइमा परेको प्यूठानको स्वर्गद्धारीको पोष्टर तथा पन्ध्रै जिल्लालाई समेटेर सचित्र पोष्टर तथा समृद्ध मध्यपश्चिमको वृत्तचित्रसमेत बनाई मध्यपश्चिमका कर्णाली, भेरी र राप्ती अञ्चलका ७ जिल्लामा अन्तरक्रिया र वृत्तचित्र प्रर्दशनी गरिसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *