सपनामा भैरव अर्याल

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन १३, २०७१       | 2926 Views   ||

Madhav Dhungel-1– माधव ढुङ्गेल

एउटै ओछ्यानमा सुत्दैमा पनि सपना एउटै नदेखिने रहेछ । देखेको सपना त्यही हो कि अर्को, अरुले जान्ने हुँदैन रहेछ । त्यसैले सपना ढाँट्न पाइने रहेछ तर पनि मानव समाज कस्तो छ भने सपना सुनेर अर्थ निकाल्छ । मेरी हजुरआमाले निकाल्ने अर्थ र सिग्मन्ड फ्रायडले निकाल्ने अर्थमा भिन्नता होस्, तर अर्थ त सबैले निकाल्दो रहेछ, आफ्नै समझमा निकाल्दो रहेछ ।

सपना सुनाउनु हुँदैन भन्ने पनि छन्, सपनै सुनाएर आनन्द लिने पनि छन् । अन्ठाउन्न सालमा देखेको एउटा सपना आज पनि उत्तिकै ताजा छ । त्यतिबेलै पनि अँध्यारामा उठेर लेखेको थिएँ तर चित्त बुझ्दो लेखाइ हुन सकेन । सपना समात्न मात्रै होइनरहेछ, उतार्न पनि गारो रहेछ । आज जस्तो भयो त्यो तपाईंलाई सुनाएको छु ।

Bhairab_Aryalभयो के भने, म घर गएको रहेछु । नाइट बसमा कसरी पुगियो थाहा छैन तर गाउँ स्वात्तै राताम्पुर भएछ । गाउँ कस्तो हो भने कमलाखोंच । दक्षिणतिर चुरे पहाड, रातो माटो र गेग¥यानको पाखो । पाखामुनि कच्ची मोटरबाटो जहाँबाट काठमाडौंको नाइट बसले छतमा मिलाएर बाँसका मान्द्रा ओसाथ्र्यो ।

बाटामुनि रुखहरुमा लुकेको झुरुप्पै गाउँ खोलापारिबाट बगैंचा जस्तो देखिन्छ । गाउँमुनि बारी, बारीमुनि खेत । केहीछिन खेत हिडेपछि कमला खोला । गोठालाहरुले पौडी खेल्ने र भैंसीले आहाल बस्ने ठाउँ ।

राति पानी बेजोड परेछ क्यारे । पाखै बगेछ स्वात्तै र आएछ थलथले हिलो । हिलोमा पौडिएका गेग¥यान र साना बाटुला ढुङ्गाहरु । रातो माटाको लतपत लागेर गाउँ नै पूरै राताम्मे । अरु के–के बगायो थाहा छैन, तर भैंसीलाई खोले पकाउने सिलाबरको कुँडे बगाएर पु¥याएछ काकाको घरमा । बाँसको झ्याङमा अड्किएको रहेछ ।

गाडीबाट ओर्लिएपछि पहिलो नजर गाउँमा प¥यो, सबै राताम्मे । मलाई नै पर्खेर अगाडि उभिएका छन् दण्डपाणि बाजे । ती बाजे कस्ता भने, सानैमा मसँग झगडा परेको । बुद्धि प्रशस्त भएका तर त्यो बुद्धि अरुलाई ठग्नमा मात्रै काम आउने । बोलचाल अझै भएको छैन । तैपनि स्वागतमा उनै उभिएका छन् । आँखाअगाडि सप्पै रातो छ, हेरेको हे¥यै टोलाएछु म । उनैले मलाई हात समाएर फकाए, ‘पिर नगर बाबु, तिम्रो मात्रै होइन, सबैको उस्तै बिचल्ली छ ।’

केही बोली आएन । खुरुखुरु उनले तानेतिरै तानिएँ । घर पुगेँ । घरमा अरु पनि रहेछन्, सायद मलाई पर्खिएका होलान्, यस्तै लाग्यो । सबैको अनुहार मतिर छ, केही नबोले पनि उनीहरु मलाई सम्झाउन खोजिरहेछन् र धैर्य लिन भनिरहेछन् । बोली कसैको फुटेको छैन । मलाई भने त्यो बगाएकोमा खास पिर छैन बरु दृश्यको नयाँपन अनौठो र गम्भीर लागिरहेको छ । नबोल्दाखेरिको जुन गहनता छ, म त्यसैको आनन्द सायद लिइराखेको छु ।

भैंसीको गोठतिर गएँ । दाम्लोमा बाँधिएको भैंसीले चिनेजसरी आइँ ग¥यो । त्यो पनि राताम्य छ, भित्रैदेखि माया पलाएर आयो तर घाँस हालिदिने होस् आएन । मलखादतिर आँखा गए । मलखादको मल सबै बगाएछ, खाल्टाभित्रको समेत बगाएर लगेछ र भरिएछ निम्ठो भएर थलथले माटो । कस्तो बैराग लाग्दो भएछ यसपालि ।

मलखादको माटो मिल्काउँदै गएँ । खाडल झन्झन् बढ्दै गयो । के गर्न लाग्यो भनेर होला, मानिसहरु मलाई पछ्याइरहेका छन् । बोल्ने आँट कसैले गरेन, न मैले न उनीहरुले । खाँबामा अडेसा लागेर पछ्यौराले आधी मुख छोप्दै आमा मलाई नै हेरिरहनुभएको छ । म माटो मिल्काउँदै जान्छु त भैरव अर्याल पो सुतेका रहेछन् लमतन्न । ठ्याक्कै बूढानीलकण्ठमा विष्णुको मूर्तिजस्तो । मेरो मलखादमा भैरव अर्याल ।

हुनलाई भैरव अर्यालको मूर्ति हो, माटाले पूरै राताम्य छ । चिनिन्छ, भैरव अर्याल हो, प्रस्टै छ । मुख कताकति हाँसेजस्तो मोनालिसाको ढाँचामा । आँखा कताकति रसाएजस्तो, कुटेको आँपलाई रुमालले निचोरेर रस निकाले जस्तो । कता गोकर्णको भीरमा म¥यो भन्थे, मेरो मलखादमा आएछ बरा । किन आयो यो मेरो मलखादमा ?

कतै हामी आफन्त नै पो हौं कि ? यसले मलाई आफ्नो ठानेको हो कि ? हेर्दै जान्छु, मुख उज्यालो देख्छु, आँखा झन्झन् भुल्किरहेछन् ।

हेर्दाहेर्दै मेरा आँखाबाट आसु रसायो । मान्छेहरु मलाई थप्थपाउन आए । नरो भने । मैले भनेँ, ‘भैरव अर्याल हो ।’

उनीहरुले भने, ‘त के भो ?’

मैले भनेँ, ‘ठूलो साहित्यकार हो ।’

फेरि पनि मान्छेहरु भन्छन्, ‘होस् न त, तँ किन रुन्छस् ?’

मैले उनीहरुलाई भन्ने कुरै केही पाइनँ । म उनीहरुलाई बुझाउन चाहन्थेँ । ऊ असाध्यै योग्य साहित्यकार हो, साँच्चै महान् सर्जक हो भन्न चाहन्थेँ, रुँदै अड्किँदै भनेँ पनि । तर, त्यसको असर केही परेन । उनीहरु पटक्कै रोएनन् न त अचम्भित नै भए । मेरो भनाइको प्रभाव ठ्याम्मै परेन उनीहरुमा । जुन कुराले मेरो गला अवरुद्ध छ, उनीहरुलाई त्यसले प्रभावै पार्दैन । जुन संवेदनाले म बोल्नै सकेको छैन, त्यो उनीहरुका लागि मूल्यहीन बेकारको छ । कसलाई सुनाऊँ म ? म फेरि दोहो¥याएर भन्छु तर उनीहरु खालि मलाई नरुनका लागि सम्झाइहन्छन् ।

म सहारा खोज्दै बाको मुखमा हेर्छु । बाले पनि आँखाभरि आँसु पारेर नरो भन्नुहुन्छ । म बालाई भन्छु, ‘बा, ऊ भैरव अर्याल हो । यो चानचुने मान्छे हैन । ठूलो साहित्यकार हो बा, निबन्धकार । ऊ हाम्रो मलखादमा लम्पसार छ, हाम्रै मलखादमा ऊ किन आयो बा ?’

बा केही बोल्नुहुन्न, यत्ति भन्नुहुन्छ, ‘जे भो भै त गो, अब किन रुन्छस् ?’

बाको कुराले पनि शान्त हुन सकिनँ । ०३३ सालमा गोकर्णमा म¥यो भनेको भैरव अर्याल मेरो मलखादमा लडिरहेछ, के यो केही पनि होइन ? किन बुझ्दैनन् मान्छेहरु ? यो कति ठूलो कुरा हो, किन मान्छेहरु अचम्भित छैनन् ?

मलाई भाउन्न भएर आउँछ । रुनै मात्रै आउँछ, मन भक्कानिएको छ । बोलूँ बोली छैन, आधी–आधी निस्कन्छ मुखबाट । मलाई यत्ति चिन्ता छ, यिनीहरु आश्चर्यमा किन छैनन् ?

मान्छे थुप्रिएको देखेर होला, छिमेकी आए गणेश दाइ । उनी जागिरे हुन्, क्याम्पस पढेका मान्छे । उनलाई देखेपछि मलाई ठूलो सहारा भयो । बाको अँगालोबाट उम्किएर म उनीकहाँ पुगेँ । मैले उनलाई मलखादमा लगेँ, ‘देख्नुभो भैरव अर्याल । गोकर्णमा म¥यो भन्थे, ईः यहाँ हाम्रो मलखादमा ।’

यिनी अचम्भित हुन्छन् भन्ने आशा थियो । अहँ, यिनमा त्यो केही देखिएन । हेरे, बस्, सिद्धियो ।

‘तपाईं त चिन्नुहुन्छ नि हैन ? भैरव अर्याललाई चिन्नुहुन्छ नि ? ईः यही मान्छे हो । हाम्रो मलखादमा । कहाँको मान्छे यहाँ छ हेर्नुस् त ।’

‘अब के गर्ने त ?’ उनले यत्ति सोधे । मलाई नै सोधे ।

के गर्ने ? यो पनि कुनै प्रतिक्रिया हो ? यो पनि कुनै संवेदना हो ? धिक्कार छ तिमीले क्याम्पस पढेको । के पढ्छौ तिमी मन नभएका मान्छेहरु ? कहाँ छ भावना, कहाँ छ कल्पना, कहाँ छ सुन्दरता तिम्रो हृदयमा ?

आँसु पुछेँ, सहन खोजेँ । थामेँ मनलाई निक्कै बेरसम्म । ओठ टोकेँ, आँखा चिम्लेँ । मेरो कष्ट देखेर ती पठित दाइले यत्ति बोले, ‘पिर नगर, हामी छौं ।’

यो आश्वासन त मलाई झन् खप्नै नसक्ने भयो । म केही नबोली कुदेछु, बेतोड कुदेछु म कसैले मार्नका लागि लखेटेका छन् झैँ । बल्लतल्ल दिदीको घरमा पुगेँ । बाहिरैबाट बोलाएँ, ‘दिदी, हाम्रो मलखादमा भैरव अर्याल ।’

सायद मेरो आवाजमा कुनै आपतकालको रङ थियो । भित्र रातमाटाको लेदो सोहोर्दै हुनुहुँदो रहेछ, आत्तिँदै बाहिर निस्कनुभयो । अनुहार एकदमै बिगारेर विस्मयपूर्वक सोध्नुभयो, ‘के रे ? भैरव अर्याल ?’

अब मलाई कुनै जबाफ दिनु आवश्यक भएन । उहाँको अनुहारमा जुन आश्चर्यभाव देखें, मलाई पुग्यो । निकै ठूलो भारी बिसाएजस्तो भयो । मन हलुको भएर आयो, शरीर फुर्तिलो र हृदय उज्यालो भयो । धेरै समयदेखि खोजिरहेको ठूलो रहस्य फेला प¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *