जोतभोग गर्दै आएको जग्गा रैकर गर

  
  प्रकाशित मितिः सोमवार, पुस १३, २०७२       | 285 Views   ||

guthi peeditजनउभार समाचारदाता

दाङ, पुस १  । पुस्तौंदेखि गुठी जग्गा जोतभोग गर्दै आएका किसानहरुले आफूहरुले चर्चा गर्दै आएको जग्गालाई आफूहरुको नाममा रैकर (दर्ता) गर्न माग गरेका छन् । दाङको घोराहीमा सम्पन्न गुठी जग्गाका किसानहरुको राष्ट्रिय सम्मेलनमा सहभागी विभिन्न १३ जिल्लाका गुठीपीडित किसानहरुले यस्तो माग गरेका हुन् ।

आइतबारदेखि शुरु भएको राष्ट्रिय सम्मेलन विभिन्न वार्षिक कार्ययोजना निर्माण गर्दै मंगलबार सम्पन्न भएको छ । सम्मेलनमा १३ जिल्लाका गुठी जग्गापीडित किसानहरुको सहभागीता थियो ।

पञ्चायती व्यवस्थादेखि लोकतन्त्र स्थापना हुँदासम्म आफूहरुले जोतभोग गर्दै आएको जग्गा रैकर गर्न माग गरे पनि आफूहरुको मागलाई राज्यले सम्बोधन नगरेको गुठीपीडित किसानहरुको गुनासो छ । ‘हामीले पुस्तौंदेखि लाखौं बिघा गुठी जग्गा जोतभोग गर्दै आएका छौं, यसमा धेरै किसानहरुको मोहियानी हक पनि कायम गरिएको छ तर रैकर गरिएको छैन’, दाङको चौघेरास्थित रत्ननाथ गुठीपीडित इन्दिरा चौधरीले भन्नुभयो– ‘रैकरका लागि धेरै संघर्ष र आन्दोलन ग¥यौं तर सत्ता चलाउनेहरुले आश्वासन मात्रै दिए काम गरेनन् ।’ आफूजस्ता हजारौं किसानहरु गुठी पीडित रहेको उल्लेख गर्दै उहाँले अब आश्वासन बाँड्ने तर कान नखोलिएका सत्ता चलाउनेहरुका कान संघर्षबाटै खोल्ने चेतावनी दिनुभयो ।

त्यस्तै पाल्पा जिल्ला भूमिअधिकार मञ्चका अध्यक्ष एवं गुठीपीडित किसान रोमबहादुर रानाले गुठीको समस्या दिनप्रति दिन जटिल बन्दै गएको तर यसमा कसैको पनि गम्भीरता नदेखाएको बताउनुभयो । विभिन्न समयमा राजनीतिक दलका नेताहरुले आफूहरुका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि सत्तामा पुगेपछि ती प्रतिबद्धता भुल्ने गरेको उहाँको आरोप छ । स्वर्गद्वारी गुठी किसान संघर्ष समितिका अध्यक्ष सहदेव चौधरीले सुकुम्बासीहरुले आफुले उपभोग गर्दै आएको जग्गा पाएको तर गुठीको जग्गा उपभोग गर्दै आएका किसानहरुले नपाएको धारणा राख्नुभयो । अहिलेको संविधान पनि गुठी किसानहरुको पक्षमा नरहेको उल्लेख गर्दै गुठी ऐन संशोधन गरेर तत्काल मोहियानी कायम भएका जग्गालाई किसानको नाममा रैकर गर्नुपर्ने पीडित किसानहरुको माग छ ।

राष्ट्रिय भूमिअधिकार नेपालका अध्यक्ष लेमबहादुर दर्जीले गुठीपीडित किसानहरुका माग सुनुवाइ नभए अब चुप लागेर नबस्ने चेतावनी दिनुभयो । ‘हामीले धेरै पीडा सह्यौं, पुस्तौं पुस्तादेखि अहिलेसम्म पीडा भोगिरहेका छौं तर हाम्रा समस्या कसैले सुनेन’, उहाँले भन्नुभयो, ‘अब हामी चुप लागेर बस्दैनौं । लाखौं पीडित किसानहरु आफ्नो अधिकारका लागि एक भएर उठ्छौं ।’ जोतभोग गर्दै आएको एवं मोहियानी हक कायम गरिएको जग्गा किसानहरुको नाममा रैकर हुनुपर्ने र बाँकी कर मिनाहा गर्नुपर्ने अध्यक्ष दर्जीको भनाइ छ ।

दाङमा स्वर्गद्वारी गुठी र रत्ननाथ गुठीको गरी करीब एक हजार दुुई सय विगाह जग्गा वर्षाैदेखि झण्डै सात सय परिवारले चर्चा गर्दै आएका छन् । नेपालभर विभिन्न गुठीका नाममा पाँच लाख बिघाभन्दा बढी जग्गा छ । त्यसमा हजारौं किसानहरुले पुस्तौंदेखि जोतभोग गर्दै आएका छन् । उनीहरुले चर्काे रुपमा कुत तिर्दै आएका छन् । बिघौं जग्गामा किसानहरुको मोहियानी हक पनि कायम गरिएको छ । तर त्यो जग्गा उनीहरुको नाममा रैकर गरिएको छैन ।

राष्ट्रिय भूमिअधिकार मञ्चको तथ्याङ्कअनुसार नेपालका ६८ जिल्लामा गुठी समस्या अत्यधिक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *