युद्ध साहित्यमा रोल्पा र आगामी चुनौतीबारे

  
  प्रकाशित मितिः मङ्लबार, पुस १४, २०७२       | 354 Views   ||

nabin red1नवीन लोचन मगर

साहित्य कलाले आफ्नो युगको समकालीन राजनीतिलाई ऊर्जा प्रदान गर्नुका साथै राजनीतिक, सामाजिक, आर्थिक अर्थात् परिस्थितिका सबै उपजहरुलाई सरल र सहज माध्यमबाट जनतामा लैजाने काम गर्दछ । राजनीति र साहित्यलाई एकअर्काको अभिभाज्यका रुपमा पनि लिने गरिन्छ । साहित्यिक बौद्धिकता नभएका राजनेता सफल हुन पनि सक्दैनन् । राजनीतिले साहित्य कलाको नेतृत्व गरे पनि राजनीतिक, सामाजिक परिवेशलाई जनतामा लैजाने काम भने साहित्यले नै गर्दछ । साहित्य वर्गीय हुने कुरा पनि कहीँ छिपेको छैन । यहीँनेर भन्न सकिन्छ यसले आफ्नो पक्षको राजनीतिलाई मार्गदर्शन समेत गर्दछ ।

हाम्रो अगाडि एउटा प्रश्न जबर्जस्त उभिएको छ कि प्रगतिवादीहरुका आजका रचना कस्तो हुने ? रचनाले कसको पक्षपोषण गर्ने ? जनविरोधीहरु क्षण–क्षणमै काँचुली फेर्छन् । कतै समानताका नाममा एक्काइशौं शताब्दीका राउटे बन्नतिर हामी सबै उद्दत त छैनौं ? मैले यो किन भनिरहेको छु भने हामी जे कुरा पनि रेडिमेट खोज्छौं तर परिश्रम गर्न डराउँछौं । प्रविधिको उपयोग गर्नेको नाममा हामी उपभोक्तावादी चिन्तनका अगाडि लीन हुँदैछौं । संक्रमणकालीन अवस्थामा गुज्रिएको हाम्रो मुलुकमा त्यो भन्दा माथि उठ्न त हामी सक्दैनौं तर यसको मतलव यो होइन कि हामी पश्चिमा संस्कृतिको भूमरीमा भासिएर क्षितिजको उज्यालो नै भुलौं । माक्र्सले मानवीय श्रमिकको क्रियाकलापलाई कला साहित्यको उत्पत्तिको कारक भनेका छन् भने लेनिनले क्रान्तिकारी मजदुर–किसानहरु साँचो अर्थमा महान कलाका अधिकारी भनेका छन् । यसरी हेर्दा जीवन र जगतलाई उजागर गर्न नसक्ने अथवा श्रमजीवी जनताभन्दा बाहिरको साहित्य अन्धभक्ति या व्यक्ति गुनगान मात्र हो भन्न सकिन्छ । जनताको श्रम पसिनामा भिजेर उज्यालो भविष्य कोर्ने साहित्य नै वास्तविक जनसाहित्य हो । जनसाहित्यलाई वर्गसंघर्षको अभिन्न अंगको रुपमा पनि लिन सकिन्छ । यहिँनेर लुना चाल्स्क्रीले भनेका छन् ‘साहित्यको काम मानिस र नवीन जीवन पद्धतिको स्थापना प्रक्रियामा शक्ति र ओज थप्नु हो ।’

नेपाली साहित्यमा २००७ साल यता निकै प्रगति भएको पाइन्छ । आ–आफ्नो वर्गीय धरातलमा टेकेर लेखिएका साहित्यले त्यतिखेर पनि आ–आफ्नै पक्षको गाइड गरेको भए पनि कलमको व्यापकता भने धेरै नै भएको पाइन्छ । माओवादी आन्दोलन सुरुभए यता पनि प्रत्यक्ष युद्धमा सहभागी तथा युद्ध इतरकाले पक्ष र विपक्षमा साहित्य सिर्जना गरेका छन् । युद्धको क्रममा त्यसको विरुद्धमा पनि साहित्य सिर्जनाहरु भए । प्रदीप नेपालको ‘आकाशगंगाको तिरैतिर’, खगेन्द्र संग्रौलाको ‘जूनकीरीको संगीत’, गोविन्द वर्तमानको ‘सोह्र साँझ’, डा. ऋषिराज बरालको ‘लालभञ्ज्याङमा उभिएर’ यसका उदाहरण हुन् । जुन पुस्तकहरुले माओवादी जनयुद्ध जनताको विरोधमा भएको भन्ने अर्थ लगाएका छन् र युद्धलाई नकारात्मक प्रभाव पार्ने गरी लेखिएका छन् । त्यस्तै शान्ति प्रक्रिया सुरु भए यता पनि त्यो क्रम चलि नै रह्यो । खासगरी पछिल्लो समय सुधीर शर्माको ‘प्रयोगशाला’, जगदिश घिमिरेको ‘सकस’, डा. ऋषिराज बरालको ‘सलाम रोल्पा’, रविन्द्र श्रेष्ठको ‘उदास शनिबार’, रुक्माङ्गत कटवालको ‘आत्मकथा’ चर्चामा रहे । यी पुस्तकहरु पनि माओवादी आन्दोलनको विरुद्धमा लेखिएका छन् ।

जनयुद्ध र शान्तिप्रक्रिया यता जनयुद्धको पक्षमा पनि थुप्रै साहित्य लेखिए । खासगरी संस्मरण, कथा, कविता, गीत, गजल, निबन्ध, पत्रसाहित्य, उपन्यासलगायतका विधाहरुमा थुप्रै कलमहरु चलेको पाइन्छ । एक हिसाबले माओवादी जनयुद्ध आफैमा एउटा महाकाव्य थियो । यस क्रममा कला र विचार दुबै हिसाबले उत्कृष्ट साहित्य पनि लेखिएका छन् । ती मध्ये कृष्णसेन इच्छुकको ‘बन्दी र चन्द्रागिरी’ त्यो दशककै उत्कृष्ट प्राप्ति थियो । त्यस्तै घनश्याम धकालको ‘रातो आकाश’, नारायण वाग्लेको ‘पल्पसा क्याफे’, दीपशिखाको ‘रात फुलेको याम’ जस्ता कृतिहरु चर्चामा रहे । साहित्यमा वर्ग सापेक्षता हुन्छ नै कतिपय माओवादी जनयुद्धभित्रैबाट पनि जनयुद्धलाई नकारात्मक असर पार्ने खालका साहित्य लेखिएका छन् । युद्ध साहित्यभित्र पनि दुइ फरक–फरक स्वार्थ छन् । एकथरिले जनतालाई वर्गीय चेतना अभिवृद्धि गर्न र क्रान्तिलाई ऊर्जा प्रदान गर्न साहित्य लेखे भने अर्कोथरिले आफ्नो सम्पत्तिलाई नराम्रो भन्दै आफूलाई रेडिमेट देखाउन र कथित किताबी ठेलीको धङ्धङी देखाउँदै घुमाइफिराई ठूलाबडा, शासक प्रशासकको गुनगान गाए । युद्धका क्रममै पुस्तककारका रुपमा कैयौं बाहिर आए पनि तिनको स्थान त्यति बलियो बन्न सकेन । ती सबै छरिएका युद्ध साहित्यलाई एकत्रित गरेर अभिभावकत्व दिएको भए त्यसको आयतन अझै बलियो बन्न सक्थ्यो ।

रोल्पा, जनयुद्धको उद्गम स्थल र सबैभन्दा बढी प्रभावित जिल्ला भएकै कारणले पनि यहाँका मान्छेहरुमा त्यसप्रति सकारात्मक, नकारात्मक भावना, दृष्टिकोण आउनु स्वभाविक हो । खासगरी जनयुद्धको क्रममा अभिव्यक्त त्याग, तपस्या, बलिदान, सौर्य र सिर्जनाका उच्च किर्तिमानहरुलाई ऐतिहासिक रुपमै संस्थागत, स्थापित र जीवन्त बनाउने कुरा आजको चुनौती हो । जनयुद्ध पूर्व पनि रोल्पामा प्रगतिवादी अझ क्रान्तिकारी चेतसहितको साहित्यले आफ्नो बलियो स्थान बनाएको पाइन्छ । कृष्णबहादुर महरा, कुलानन्द गिरीजस्ता स्रष्टाहरुले वि.सं. २०३० वरिपरि नै आफ्नो गतिविधि गरेको पाइन्छ । जनयुद्ध पूर्व र सुरुभए यता थुप्रै प्रगतिवादी साहित्यिक पत्रिकाहरु पनि प्रकाशित भएका छन् । २०३७ सालमा कृष्णबहादुर महरा र कुलानन्द गिरीको सम्पादकत्वमा साहित्य प्रधान पत्रिका ‘हटारु’ प्रकाशित भएको पाइन्छ । त्यस्तै २०५४ मा रोल्पा कारागारका बन्दीहरुद्वारा ‘जन्जीरले बाधिएका हातहरु’ प्रकाशित गरेकोमा राजनीतिक आस्थाकै आधारमा प्रशासनद्वारा बन्द गरिएको बुझिन्छ । २०५६ मा जलजला सांस्कृतिक परिवारद्वारा ‘जलजलाका गीतहरु’, २०५८ सालमा अनेमसंघ

(क्रान्तिकारी)द्वारा महिला गर्जन, २०५८ मा थबाङबाट लिथो मेसिनको सहायताबाट ‘जनज्वाला’, २०६४ मा थबाङी युवाहरुद्वारा ‘जनकम्यून’, २०६८ मा पाँचौ डिभिजनका केही रोल्पाली जनमुक्ति सेनाहरुद्वारा ‘टीकाचुली’ त्रैमासिक आदि साहित्यिक पत्रिकाहरु प्रकाशित भएको पाइन्छ भने २०६४ सालदेखि अखिल नेपाल लेखक संघले समेत जिल्लाव्यापी आफ्नो गतिविधि गर्दै आएको छ ।

साहित्यिक कृतिका हिसाबले जनयुद्ध पूर्व र जनयुद्ध सुरु भएयता थुप्रै कृतिहरु प्रकाशित भएका छन् । ती कृतिहरु कला र विचारका हिसाबले पनि त्यत्तिकै सशक्त देखिन्छन् । जनमुक्ति आन्दोलनमै एक हातले कलम र अर्को हातले बन्दुक समाएर अगाडि बढेका स्रष्टाहरु पनि रोल्पामा कम छैनन् । कृष्णबहादुर महरा, कुलानन्द गिरी, नेत्रविक्रम चन्द ‘विप्लव’, विमल पुन ‘अनन्त’, नन्दकिशोर पुन पासाङ, शहिद किमबहादुर थापा ‘सुनिल’, राजेन्द्र थापा ‘सोनाम’, सन्तोष बुढामगर, क्षितिज मगर, गुलाफ मगर, गंगामुक्ति पुन, शहिद कमल पुन, प्रकाश यात्री, प्रतिभा, मोहित श्रेष्ठ, नरबहादुर महरा, श्यामकुमार बुढा ‘चिन्तन’, कुलमान बुढामगर, कुमार शाह, झन्कार मगर, महेश आरोही, सीता आचार्य, चेतन कुवँर, राजबहादुर बुढा अविनाश, उभार पुन, प्रगति, भूमिका, अनुभव, मुलधन बुढामगर ‘अर्जुन साइँला’, विकल्प, बीरबहादुर केसी ‘अपराजय’, मौसम रोकामगर, निर्मल महरा ‘एटम’, पुरण क्षेत्री, प्रकाश यात्री, अवशेष, उदियमान, टेकबहादुर घर्ती क्रान्ति, विधान, भागमल पुन, संजीवकुमार, भीमकुमारी बाँठा निशाना, सागर पुन, सम्झना घर्ती असिना, एचपी मगर टुहुरो, नवीन लोचनमगर, हरिसरा घर्ती टीका, डम्बर बुढा विप्लव, कमल विवश मगर, ओमप्रकाश पुन ज्वाला, दीपेन्द्र घर्ती प्रभाकर, विनप्रसाद पुन टार्जन, इर्धासी झाँक्रीमगर, ग्रुतप्रित गिरी प्रतिरोध लगायत थुप्रै स्रष्टाहरुले क्रान्तिकारी आन्दोलनमै होमिएर कलम चलाएको पाइन्छ ।

यसरी हेर्दा रोल्पामा युद्धसाहित्य र साहित्यिक गतिविधि हिजो पनि सशक्त थियो र आज पनि उति नै सशक्त रुपमा अगाडि बढिरहेको छ ।

क्रान्ति र प्रगतिको पक्षमा चल्ने कलमहरु ढुलमुलिएका हुन् कि भन्ने प्रश्न उठि नै रहेको छ । गलत कुराको भण्डाफोर गर्दै जनतामा समकालीन राजनीतिक चेतना भर्नु आजको आवश्यकता हो । निरासा, कुण्ठा, पलायनता जस्ता कुराहरुका विरुद्धमा विचार, राजनीतिक–सामाजिक सचेतना, ऊर्जा अथवा नयाँ जीवन पद्धतिको स्थापना प्रक्रियामा कलात्मक ढंगबाट शक्ति र ओज थप्नु नै आजको साहित्य हो । साहित्यको बजारिकरण भइरहेको बेला, साहित्यलाई रोमान्स, सेक्ससँग मात्र तुलना गरिरहेको बेला हामी स्पष्ट हुन जरुरी छ कि साहित्य जीवन हो, जगत हो, राजनीति हो, मुलुकको काँचुली फेर्न सक्ने बलियो हतियार हो ।

हामी निचोडमा भन्न सक्छौं कि प्रगतिवादीहरुको आजको कलम निरन्तर क्रान्ति चेतसहितको नै हुनु आवश्यक छ । सम्बृद्ध समाज निर्माणका खातिर जनयुद्धले निर्माण गरेका सांस्कृतिक सभ्यतालाई संस्थागत गर्नु हाम्रो ठूलो जिम्मेवारी हो । जनयुद्धका क्रममा जति पनि सांस्कृतिक रुपान्तरणका कुराहरु उठे र जति पनि कुराहरु स्थापित भए ती कुराहरु आज संकटमा छन् । कम्यून, व्यवहारिक पाठशाला (जनवादी स्कुल), समाजमा रहेका सामाजिक संस्कारका नाममा गरिने विभिन्न हिंसा, कुप्रथा विरुद्धका आन्दोलन, अभियान ती सबैको महत्व आज विशेष रुपले खड्किएको छ । हामी झस्किएर पनि क्षितिजको उज्यालो नभुलौं । हाम्रो कलमले सधै सकारात्मक सन्देश प्रवाह गर्न सकोस् । यही नै आजको मुख्य आवश्यकता हो ।

(लेखक प्रगतिशील लेखक संघ, रोल्पाका अध्यक्ष हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *