विद्यालय सुधार कार्यक्रममा ९ करोड बृद्धि

  
  प्रकाशित मितिः मङ्लबार, पुस १४, २०७२       | 139 Views   ||

जनउभार समाचारदाता

दाङ । यस वर्ष दाङको शिक्षा क्षेत्रका लागि सवा एक अर्बभन्दा बढी बजेट रहेको छ । चालु आर्थिक वर्ष २०७२/७३ मा जिल्ला शिक्षा कार्यालय दाङमा रू. १ अर्ब १७ करोड १९ लाख ८५ हजार ४ सय ८१ रुपैयाँ आएको हो । जसमध्ये विद्यालय सुधार कार्यक्रममा रू. ४२ करोड १० लाख र अन्य विभिन्न शिर्षकमा रू. ७५ करोड ९ लाख ८५ हजार ४ सय ८१ रुपयाँ रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षको भन्दा यस वर्ष शिक्षा कार्यालयको कुल बजेटमा बृद्धि भएको छ । गत आवको भन्दा यस आवको कुल बजेटमा रू. १ करोड ४६ लाख ९३ हजार रुपैयाँ बजेट बृद्धि भएको छ । जसमध्ये विद्यालय सुधार कार्यक्रममा गत आर्थिक वर्षको भन्दा झण्डै ९ करोड बजेट बृद्धि भएकाले कुल बजेट बृद्धि भएको जिल्ला शिक्षा कार्यालय दाङका सहायक जिल्ला शिक्षा अधिकारी रुद्रप्रसाद रेग्मीले जानकारी दिनुुभयो । गत वर्ष विद्यालय सुधार कार्यक्रममा झण्डै ३३ करोड ५६ लाख रहेकोमा यसवर्ष उक्त शीर्षकमा ४२ करोड १० लाख रुपैयाँ बजेट रहेको छ । गत आवमा शिक्षा कार्यालयको कुल बजेट एक अर्ब १५ करोड ७२ लाख ९२ हजार ३ सय १० रुपैयाँ रहेको थियो ।

यस वर्ष प्रारम्भिक बालविकास तथा शिक्षा कार्यक्रममा रू. २ करोड ६० लाख ३१ हजार, विद्यालय शिक्षामा पहुँचको सुनिश्चिततामा रू. १४ करोड ९० लाख ७४ हजार, शैक्षिक गुणस्तर अभिबृद्धिमा रू. ११ करोड ८० लाख ९१ हजार, शिक्षक शिक्षा विकासमा रू. १० लाख ७७ हजार, प्रभावकारी सेवा प्रवाहका लागि क्षमता अभिबृद्धिमा रू. ३८ लाख ३१ हजार रुपैयाँ रहेको सहायक जिल्ला शिक्षा अधिकारी रेग्मीले बताउनुभयो ।

त्यस्तै विद्यालय व्यवस्थापन तथा अनुगमन कार्यक्रममा रू. ८८ लाख ५७ हजार, प्रोत्साहन तथा सहयोगमा रू. ५ करोड २४ लाख १६ हजार र विद्यालयलाई प्रति विद्यार्थी एकाइ लागत गैरतलब अनुदान कार्यक्रमअन्तर्गत विभिन्न शीर्षकहरुमा रू. ६ करोड १७ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

विनियोजित कुल बजेटमध्ये शिक्षक तलब भत्ता (साधारण खर्च) तर्फ ६४ प्रतिशत र विकासतर्फ ३६ प्रतिशत रहेको सहायक जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जसमध्ये जिल्ला शिक्षा कार्यालयले सञ्चालन गर्ने कार्यक्रम ३ प्रतिशत मात्रै रहेको र बाँकी ९७ प्रतिशत विद्यालय अनुदान बजेट रहेको सहायक जिल्ला शिक्षा अधिकारी रेग्मीले बताउनुभयो ।

कमलरी र द्वन्द्वपीडित बालबालिकाका लागि सवा एक करोड

दाङ । जिल्ला शिक्षा कार्यालय दाङमार्फत् दाङका द्वन्द्वपीडित बालबालिका र मुक्त कमलरीको छात्रावृत्तिका लागि झण्डै सवा एक करोड बजेट आएको छ । जिल्लाका विभिन्न विद्यालयमा रहेका एक हजार ७ सय ९३ जना मुक्त कमलरीका लागि ८४ लाख ८७ हजार र तीन सय ९३ द्वन्द्वपीडित बालबालिकाका लागि ३५ लाख ७८ हजार बजेट आएको हो ।

त्यसैगरी जिल्लामा रहेका दुई वटा मुक्त कमलरीका लागि रहेका छात्रावास सञ्चालनका लागि एक सय ५३ मुक्त कमलरीहरुलाई खाना बस्नसहित १६ लाख ४४ हजार बजेट आएको सहायक जिल्ला शिक्षा अधिकारी रुद्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

त्यस्तै आधारभूत तहका लागि दलित छात्रबृत्तिमा १९ हजार ३४ जनाका लागि ७६ लाख १४ हजार, आधारभूत तहको छात्रा छात्रवृत्तिमा ४० हजार ८ सय ९ जनाका लागि १ करोड ६३ लाख २४ हजार, माध्यमिक शिक्षा छात्रवृति कक्षा ८–१० सम्मका लागि ९ सय ६९ जनाका लागि १६ लाख ४७ हजार, दलित छात्रवृत्ति कक्षा ९–१० सम्मका एक हजार ३ सय ४४ जनाका लागि ६ लाख ७२ हजार रुपैयाँ बजेट आएको छ ।

त्यसैगरी अपाङ्ग छात्रवृत्ति कक्षा ९–१० सम्मका एक सय ८५ जनाका लागि १२ लाख ९५ हजार, फिडर छात्राबास सञ्चालनमा २० जना छात्राका लागि १० लाख बजेट आएको छ । जुन छात्रबास दाङमा पद्योदय पव्लिक नमुना उमाविमा मात्रै सञ्चालन छ ।

त्यस्तै लक्षित वर्गका लागि छात्रवृत्ति आधारभूततर्फ एक सय २७ जनाका लागि ६४ हजार, लक्षित वर्गका लागि छात्रवृत्ति माविमा दश जनाका लागि १७ हजार, उमावि विज्ञान पढ्ने लक्षित समूहको छात्रवृत्ति १४ जनाका लागि ४ लाख २० हजार, अति सिमान्तकृत बालबालिकाका लागि सञ्चालन हुने छात्रवास सञ्चालन खर्च र छात्रबृत्ति एक छात्राबास र २० जना विद्यार्थीहरुका लागि १० लाख बजेट आएको शिक्षा कार्यालयले जनाएको छ । तर अति सिमान्तकृत वालवालिकाका लागि सञ्चालन हुने छात्रवास सञ्चालन अहिलेसम्म दाङ जिल्लामा छैन ।

विद्यालय सुधार कार्यक्रमअन्तर्गत प्रोत्साहन तथा सहयोग उपशीर्षकमा यी विभिन्न छात्रबृत्ति र छात्राबास सञ्चालनका लागि जम्मा ५ करोड २४ लाख १६ हजार बजेट आएको छ । वर्षेनी यस्ता बजेट आए पनि लक्षित वर्गसम्म यो बजेट नपुग्न नसकेको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *