गिद्धका लागि रेष्टुरेन्ट !

  
  प्रकाशित मितिः बुधबार, पुस १५, २०७२       | 146 Views   ||

gidda

गणेश ओली

दाङ, पुस ८ । गिद्धका लागि रेष्टुरेन्ट ! झट्ट सुन्दा आश्चर्य लाग्न सक्छ । तर दाङमा गिद्धका लागि दुईवटा रेष्टुरेन्ट सञ्चालनमा रहेका छन । गिद्धले जथाभाबी खाना खाँदा लोप हुँदै जान थालेपछि जोगाउनका रेष्टुरेन्टको व्यवस्था गरिएको संरक्षणकर्मीहरुको भनाई छ ।

प्रकृतिको कुचिकार मानिने गिद्धका लागि रेष्टुरेन्टको व्यवस्था र संरक्षण अभियान थालिएपछि अहिले लोपोन्मुख गिद्ध पाइन थालेको दाङको बिजौरीमा रेष्टुरेन्ट सञ्चालन गरेको संस्था पर्यावरणीय दीगो विकास एवं अनुसन्धान केन्द्र दाङका अध्यक्ष डिल्लीबहादुर रावतले बताउनुभयो । उहाँले रेष्टुरेन्टमा मान्छेका लागि नभै गिद्धका लागि आहारा (मरेको गाईको सिनो) राखिने जानकारी दिनुभयो ।

गिद्धका लागि खोलिएको जटायु रेष्टुरेन्टको नजिकै वृद्ध गाई पालिन्छ  । जसलाई पशुवृद्धाश्रम भनिन्छ । त्यहाँ बृद्ध भई काम नलाग्ने गाई वा गोरु गाउँलेहरुले दिने गरेको रावतले बताउनुभयो । गाई गोरुहरु मरेपछि छाला काढेर रेष्टुरेन्टमा राखिन्छ । गिद्धका लागि खानयोग्य यही मासु नै रेष्टुरेन्टको विशेषता हो ।

गाउँमा बिरामी भई मरेका गाईगोरु जथाभावी फाल्दा त्यही सिनो खाएर गिद्ध मरेको भन्ने अनुसन्धानले देखाएपछि सुरक्षित आहारका लागि रेष्टुरेन्ट खोलेको कार्यक्रम संयोजक तुलसीराम ओलीले जानकारी दिनुभयो । जटायु रेष्टुरेन्ट खुल्नुअघि छिटपुट रुपमा गिद्ध पाइएकामा अहिले प्रशस्त गिद्ध पाइन थालेको उहाँको भनाई छ । उहाँका अनुसार अहिले यहाँ एकैपल्ट पाँच सय गिद्धसम्म हेर्न सकिन्छ ।

नेपालमा अहिलेसम्म दाङको लालमटिया, बिजौरी, बर्दियाको खुटिया, कास्कीको घान्द्रुक र कोशी टप्पु क्षेत्रमा जटायु रेष्टुरेन्ट खुलेको नेपाल पंक्षी संरक्षण संघका फिल्ड अधिकृत भुपाल विश्वासले बताउनुभयो ।

पशु बिरामी हुँदा डाइक्लोफेनेक औषधी प्रयोग गरिने र सो औषधी प्रयोग भएर मरेका पशु खाएमा गिद्ध मर्ने भएकाले यसको रोकथाम र रेष्टुरेन्ट सञ्चालन गरेर गिद्ध संरक्षण अभियानमा लागेको उनीहरुको भनाई छ । पशु उपचारमा प्रयोग गर्ने डाइक्लोफेनेक औषधिका कारण गिद्ध संकटमा परेको पत्ता लागेपछि योे औषधिको उत्पादन, वितरण र प्रयोगमा नेपाल सरकारले नै रोक लगाएको छ । मरेका गिद्धहरुको अध्ययनबाट ९९ दशमलव ९ प्रतिसत गिद्ध डाइक्लोफेनेक औषधिका कारण मरेको पत्ता लागेको छ ।

नेपालमा पाइने सानो खैरो, डंगर, सुन गिद्ध, गोब्रे, राज गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र हाडफोर गिद्धमध्ये सानो खैरो, डंगर, सुनगिद्ध र गोब्रे गिद्धलाई आयुसिनले अतिसंकटोन्मुखको सुचीमा राखेको विश्वासले बताउनुभयो । राजगिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र हाडफोर गिद्ध पनि संकटको नजिक पुगिरहेको आयुसिएनको तथ्यांकमा उल्लेख छ ।

विश्वमा पाइने २२ प्रजातिका गिद्धमध्ये ९ प्रजातिका गिद्ध दक्षिण एशियामा पाइन्छन् । दक्षिण एशियामा पाइने नौ प्रजातिका गिद्धमध्ये नेपालमा आठ प्रजातिका गिद्ध पाइन्छन् ।

प्रकृतिको कुचिकार मानिने गिद्ध संरक्षणका लागि दाङमा महिला र विद्यार्थीसमेत संलग्न रहेका छन् । जिल्लाका विभिन्न विद्यालय र गाउँ–गाउँमा गिद्ध संरक्षण समूह गठन भएका छन् । सो समूहले गिद्ध संरक्षण अभियानका साथै बचत, चेतनामुलक कार्यक्रम गर्दै आएको अध्यक्ष रावतले बताउनुभयो ।

पहिले जिल्लामा ५/७ वटा गुँड रहेकोमा अभियान शुरु भएपछि दाङको बिजौरीमा ६२ र देउखुरीमा ७० वटा गिद्धका गुँड रहेको अध्यक्ष रावतले जानकारी दिनुभयो ।

बिजौरीमा पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र र देउखुरीमा कालिका सामुदायिक वन उपभोक्ता समिति लालमटियाले रेष्टुरेन्ट स्थापना गरेर गिद्ध संरक्षण अभियान अघि बढाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *