महासंघले मनायो २३ औं स्थापना दिवस

  
  प्रकाशित मितिः बुधबार, पुस १५, २०७२       | 144 Views   ||

जनउभार समाचारदाता

दाङ, पुस ८ । नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो २३ औं स्थापना दिवस तथा साधारणसभा मनाएको छ । महासंघले स्थापना दिवसको अवसरमा पाँच जना पत्रकारलाई पुरस्कृत गरेको छ भने दुई जना अग्रज पत्रकार एवम् महासंघमा पुरस्कार अक्षयकोष स्थापना गर्ने दाताहरुलाई सम्मान गरेको छ ।

सो अवसरमा अविराम पत्रकारिता पुरस्कारबाट सुशील गौतमलाई र यज्ञबहादुर बुढाथोकी स्मृति पत्रकारिता पुरस्कारबाट दधिराम सुबेदीलाई पुरस्कृत गरेको छ भने वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार दशरथ घिमिरे, महिला सिर्जनशील पत्रकारिता पुरस्कार सपना बोहरा र बिशेष प्रोत्साहन पत्रकारिता पुरस्कार निशानदाजु भट्टराईलाई प्रदान गरेको छ ।

त्यस्तै अग्रज पत्रकार रामप्रसाद पौडेल र निमबहादुर थापालाई स्थापना दिवसको अवसरमा सम्मान गरिएको छ । त्यस्तै महासंघमा पुरस्कार स्थापना गर्ने दाताहरु नारायणप्रसाद शर्मा, खगराज लोहनी, टीकाराम रेग्मी, रामप्रसाद जैशी÷नारदमणि पोख्रेल, सुदर्शन रिजाल÷राधा रिजाल, नारायणी रजौरे, प्रा.डा. शिवहरि मरहट्ठा, उत्तमकुमार श्रेष्ठ, मनोज बुढाथोकी, दामोदर सुवेदी, सर्वजीत वलीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

महासंघका अध्यक्ष सुदीप गौतमको अध्यक्षतामा भएको स्थापना दिवस कार्यक्रमको उद्घाटन गर्दै महासंघ दाङ शाखाका संस्थापक अध्यक्ष एवम् प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माले नेपालीलाई एकताको सूत्रमा बाँध्न पत्रकारिताले महत्वपुर्ण भूमिका खेल्ने बताउनुभयो । शर्माले नेपाली पत्रकारिताले समाजलाई राष्ट्रिय सोचका साथ अघि बढ्न पनि सहयोग पु¥याउने बताउनुभयो । हरेक पत्रकार पत्रकारितामै रहेर जीवन चलाउने स्थिति नबन्दासम्म यसको सही बिकास हुन नसक्ने शर्माको भनाई थियो ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदीप शर्माले देशको असहज अवस्थाले पत्रकारिता असुरक्षित भएको बताउनुभयो । उहाँले जिल्लाको पत्रकारिताको मूलधार अहिले पनि स्वच्छ र मर्यादित रहेको भन्दै पत्रकारिताको गरिमा र साख जोगाउन पत्रकारहरुले आफ्नो धर्म भुल्न नहुनेमा जोड दिनुभयो ।

कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले आफू भर्खरै दाङमा आएको कुरा उल्लेख गर्दै पत्रकारिता व्यावसायिक मर्यादाका साथै स्वच्छ र स्वस्थ प्रतिस्पर्धामा अघि बढ्न सके सफल हुने बताउनुभयो ।

कार्यक्रममा स्थानीय बिकास अधिकार रमेश गौतम, महासंघका पूर्वअध्यक्ष सुशील गौतम, महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायत, एमाले दाङका विवेक श्रेष्ठ, एमाओवादी दाङका कोषाध्यक्ष लुमबहादुर कार्की, दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण भुसाल, राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल, प्रेस युनियनका अध्यक्ष सुशील बस्नेत, प्रेस चौतारीका अध्यक्ष टीका बस्नेत, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष नरेन्द्र केसी, क्रान्तिकारी महासंघका प्रकाश चौधरी, क्रान्तिकारी पत्रकार संगठनका जानकी दहित, सञ्चारिका समूहका अध्यक्ष नारायणी रजौरे, सकल्प महिला सञ्चार संस्थाका अध्यक्ष लीला शाहलगायतले बोल्नुभएको थियो ।

महासंघ दाङका उपाध्यक्ष लक्ष्मी आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव गजेन्द्र बोहरा र सहसचिव डिल्ली मल्लले गर्नुभएको थियो ।

उद्घाटनपछि शुरु भएको बन्द सत्रमा महासंघको प्रगति प्रतिवेदन सचिव गजेन्द्र बोहरा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष रोशनमान श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।

२३ औं स्थापना दिवस तथा वार्षिक साधारणसभाबाट पारित प्रस्तावहरु

१. अहिले मुलुकका विभिन्न क्षेत्रमा विभिन्न पक्षबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी गतिविधि भइरहेको र पत्रकार एवं सञ्चारमाध्यममाथि आक्रमण भइरहेकोतर्फ यो साधारणसभाको गम्भीर ध्यानाकृष्ट भएको छ । हामी यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौँ ।

२. श्रमजीवी ऐन लागु भैसकेको झन्डै २० वर्ष पूरा भइसक्दा पनि उक्त ऐन पूर्णरुपमा लागु हुन नसकेकोमा यो साधारणसभा दुःख प्रकट गर्दछ । र श्रमजीवी पत्रकार ऐनले निर्धारण गरेको न्यूनतम पारिश्रमिकलगायत सम्पूर्ण प्रावधान कडाइका साथ लागु गर्न जोडदार माग गर्दछ ।

३. मुलुकमा भारतले गरेको नाकाबन्दी अन्तर्राष्ट्रिय नियम, प्रचलन र सम्झौताविरोधी कार्य भएकाले यो साधारणसभा नाकाबन्दीको तीव्र निन्दा गर्दछ । साथै राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकताका पक्षमा अझ दृढतापूर्वक लाग्न सम्पूर्ण पत्रकारहरुलाई हार्दिक आह्वान गर्दछ ।

४. नाकाबन्दीका कारण विद्युतीय तथा छापा सञ्चारमाध्यमहरुलाई चाहिने इन्धनलगायत विविध सामग्रीको आपूर्तिमा निकै समस्याहरु उत्पन्न भइ सञ्चारकर्मी र सञ्चार माध्यमहरुलाई गम्भीर कठिनाई उत्पन्न भएकाले त्यसको सहजीकरणका लागि स्थानीय प्रशासनलगायत नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ ।

५. मुलुक गम्भीर राष्ट्रिय संकटमा परेको यस घडीमा सबै जातजाति, धर्म, भाषा र मुलुकका विभिन्न भेगमा बस्ने समुदायहरुबीच परम्परागत एकता र सौहार्दतालाई कायम राख्ने पक्षमा पत्रकारिताका माध्यमबाट निरन्तर रुपमा क्रियाशील रहने प्रतिवद्धता यो साधारणसभाले प्रकट गर्दछ ।

६. दाङलाई प्रादेशिक राजधानी बनाउने सम्बन्धमा नेपाल पत्रकार महासंघ दाङ शाखाले विगतमा खेलेको भूमिकालाई अझ दृढतापूर्वक अघि बढाउने यो साधारणसभा प्रण गर्दछ ।

७. स्थापना दिवसको यस घडीमा हामी सबै संस्थापकहरुको कार्यको उच्च मूल्याङ्कन गर्दै नेपाल पत्रकार महासंघ दाङले विगतमा स्थापित गरेका पत्रकारिताका मूल्य, मान्यता र आदर्शहरुलाई दृढतापूर्वक अघि बढाउन प्रतिवद्धता व्यक्त गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *