मौसम बेमौसम
चलिरहन्छ थरिथरिको हावा
र पातहरु
पछ्याइरहन्छन् त्यसलाई
चलिरहन्छ हावा
ठोक्किन्छ पहाडमा
र,
फर्कन्छ बारम्बार
हावाले पहाड ढाल्न सक्तैन
हावाले पहाड ढालेको इतिहास छैन
बन्नुपर्छ मानिस
स्वाभिमानको पहाड
साहसको हिमाल
र, ढल्नु हुँदैन
कमजोर हावाको झोक्काले
जसरी झर्छन् सुकेका पातहरु
सुकेका पातजस्तै मानिसहरु ।
अहिले पनि
चारैतिर
चलिरहेछ दूषित हावा
र, ढलिरहेछन्
हावाको झोक्कामा
सुकेका पातजस्तै
कमजोर मानिसहरु ।
०००