आफ्नै योजनाका बारेमा दलित समुदाय अनभिज्ञ

  
  प्रकाशित मितिः बुधबार, पुस १५, २०७२       | 176 Views   ||

जनक नेपाली

दाङ, पुस ८ । दलित समुदाय आफ्ना योजनाका बारेमा अनभिज्ञ रहेको जिल्ला बिकास समिति दाङले जनाएको छ । दलित समुदायको उत्थानका लागि बिभिन्न योजना जिल्ला बिकास समिति दाङले अगाडि सारे पनि सोचे जति ती योजना सफल हुन नसकेको हो ।

दलितले पाएका योजनाका बारेमा तल्लो तहसम्म जानकारी नपुग्दा लक्षित वर्गको लागि छुट्याइएको बजेटसमेत फ्रीज हुने गरेको स्थानीय बिकास अधिकारी रमेश गौतमले बताउनुभयो । ‘दलित समुदायलाई सेवासुविधा दिन पटक–पटक सार्वजनिक सूचना गर्दा पनि सम्बन्धित व्यक्तिहरु जिल्ला बिकास समितिको सम्पर्कमा नआउँदा बजेट फ्रिज भएर जान्छ’– गौतमले भन्नुभयो । दलित समुदाय सूचनाको पहुँचबाट निकै बाहिर रहेको भन्दै उनीहरुसम्म कसरी सूचना पु¥याउन सकिन्छ भन्ने बारेमा सबैको ध्यान जानुपर्ने उहाँले बताउनुभयो ।

दलित अगुवा भीम विश्वकर्माले राज्यको विभेदकारी नीतिका कारण अझैसम्म दलित समुदायले राज्यबाट पाएका सेवा–सुविधा सहीरुपमा उपयोग गर्न नसकेको बताउनुभयो । विकले बस्तीस्तरका योजना छनौट गर्दा कहाँ कसरी गर्ने भन्ने बारेमा दलित समुदायलाई जानकारी नहुँदा धेरै योजना छुट्ने गरेको बताउनुभयो । दलित समुदायका नागरिकहरुको पत्रिका र रेडियोमा पहुँच नपुग्ने भन्दै कतिपय अवस्थामा दलितका क्षेत्रमा काम गर्ने संघसंस्थालाई समेत यस्ता कामका लागि परिचालन गर्नुपर्ने बिकले बताउनुभयो  ।

राज्यले दलित समुदायका बालबालिकालाई उच्च शिक्षासम्म निःशुल्क भने पनि अहिलेसम्म कार्यान्वयन हुने अवस्था नरहेको घोराही–११ का चुर्ण परियारले बताउनुभयो । विद्यालयले कुनै–कुनै बहानामा दलित समुदायका विद्यार्थीसँग शुल्क असुल्ने गरेको परियारले बताउनुभयो । ‘जिल्लामा दलित समुदायका लागि आउने छात्रवृत्तिको बारेमा हामीलाई थाहा हुँदैन कुन बेला कसरी आएर छात्रबृत्ति वितरण हुन्छ’– उहाँले भन्नुभयो । दलित समुदायले माविसम्म मुस्किलले पढाउने गरे पनि उच्च मावि पढाउनमा सबैभन्दा बढी समस्या हुने गरेकाले उच्च माध्यमिक शिक्षा परिषद्ले यस बारेमा खासै चासो नदिएको परियारको भनाई छ । उच्च माध्यमिक शिक्षा परिषद्ले दलित समुदायका लागि छात्रबृत्ति प्रदान गर्ने भए पनि छात्रबृत्तिका बारेमा सूचना नदिदा अधिकांश दलित बालबालिकाहरु पढ्नबाट वञ्चित हुनुपर्ने अवस्था रहेको परियारको भनाई छ ।

जिल्ला शिक्षा अधिकारी प्रल्हाद अर्यालले दलित समुदायका बालबालिकाहरुको लागि बार्षिक ५ सयदेखि ३० हजारसम्म छात्रबृत्ति प्रदान गर्दै आएको बताउनुभयो । अर्यालले कक्षा ८ सम्म सम्पूर्ण बालबालिकाले पाठ्यपुस्तक पाउने र दलित समुदायका बालबालिकाले पाठ्यपुस्तक र छात्रबृत्ति दुवै पाउने व्यवस्था रहेको जानकारी दिनुभयो । ‘बरु दलित समुदायका बालबालिकाले पाएको छात्रबृत्ति रकम बालबालिकाको शैक्षिक प्रयोजनका लागि खर्च हुन्छ कि हुँदैन भन्ने चिन्ता छ’– अर्यालले भन्नुभयो । स्वयम् दलित समुदायका व्यक्तिहरुले स्थानीय निकायबाट प्रवाह गर्ने सूचनामा ध्यान दिन नसक्दा धेरै सेवासुविधा पाउनबाट छुटेको उहाँको भनाई छ ।

जिल्ला बिकास समिति दाङका सामाजिक बिकास अधिकृत बालकृष्ण खनालले हालसालै जिल्ला बिकास समितिबाट अनमी र सिएमए पढ्दै आएका दलित समुदायका दुई जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्नका लागि सार्वजनिक सूचना आह्वान गर्दा पनि अहिलेसम्म कसैको निवेदन नआएको बताउनुभयो । स्थानीय गाउँ तहसम्म यस्ता सूचना पु¥याउन नसक्दा अधिकांश दलित समुदायका बालबालिकाले सेवा पाउन नसकेको उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *