दाङको कृषि क्षेत्रमा रिजमको २२ करोड लगानी

  
  प्रकाशित मितिः बुधबार, पुस १५, २०७२       | 336 Views   ||

सबैभन्दा बढी लगानी मह उत्पादन, प्रशोधन र बजारीकरणमा

hone refine center– उदय बीसी
दाङ, पुस ८ । दाङको कृषिजन्य वस्तुको उत्पादन, प्रशोधन र बजारीकरण गर्न साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना (रिजम) ले करीब २२ करोडभन्दा बढी लगानी गरेको छ ।

तीन वर्षको अवधिमा विभिन्न ५० वटा कृषिजन्य वस्तुको प्रशोधन र बजारीकरणका योजनाहरुमा लगानी गरिएको रिजमका कृषि प्राविधिक मुकुन्दराज देवकोटा जानकारी दिनुभयो । ‘लगानीको प्रतिफल राम्रो हुने देखिएको छ’, उहाँले भन्नुभयो, ‘प्रतिफलको राम्रो सम्भावना देखेपछि लगानीकर्ताहरु हौसिएका छन् ।’

उहाँका अनुसार यी योजनामध्ये सबैभन्दा बढी मह उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी भएको छ । मह उत्पादन, प्रशोधन र बजारीकरणमा झण्डै ६ करोड लगानी भएको छ । त्यस्तै तरकारी उत्पादन, च्याउ उत्पादन र बजारीकरणलगायतका क्षेत्रमा बाँकी रकम लगानी भएको देवकोटाले बताउनुभयो ।

प्रशोधनका योजनामा प्रतियोजना करीब एक/एक करोड लगानी भएको र अन्य कृषक समूहले गर्ने उत्पादनका योजनामा प्रतियोजना १५ लाख बढी र सहकारीले सञ्चालन गरेका गरेका उत्पादनका योजनाहमा प्रतियोजना ५० लाखभन्दा वढी लगानी भएको छ । रिजमले दाङका चार नगरपालिका र ३१ गाविसलाई आधार क्षेत्र बनाएर काम गरिरहेको कृषि प्राविधिक देवकोटाले बताउनुभयो ।

यस वर्ष थप १७ वटा नयाँ योजनाहरुको (पिसिएन) आधा प्रपोजल स्वीकृत भएर आएको र पूर्णरुपमा योजना छनोटका लागि पठाएको उहाँले जानकारी दिनुभयो । रिजमले दाङको रामपुर, देउखुरीको नर्ती र गढवामा कृषिजन्य वस्तुको बजारीकरणका लागि बिक्री केन्द्र सञ्चालन गर्दै आएको छ भने नर्तीकै वनगाउँमा विभिन्न जातका विरुवाका बेर्ना उत्पादन गर्न टिसियु कल्चर खेती शुरु गरेको छ । जहाँ केरा, आलुलगायतका विरुवा उत्पादन हुने गर्दछन् ।

यसपटक पठाइएका १७ वटै योजनाहरु छनोट भएर आएमा लगानीको दायरा अभैm फराकिलो हुने रिजमले जनाएको छ । ‘सकभर सबै योजना छनोट भएर आउँछन्, यसले कृषकहरुलाई पनि आफ्नो व्यवसायमा प्रोत्साहन बढाउनेछ, अनि रिजमको लगानी (अनुदान)मा दायरा पनि फराकिलो भएर जानेछ’, देवकोटाले भन्नुभयो ।

भर्खरै मात्र जिल्लाको सदरमुकाम घोराहीमा आफ्नो उप–आयोजनाको रुपमा शिवशक्ति बी कन्सर्नमा आधुनिक मह प्रशोधन केन्द्र स्थापना गरेको छ । जसमा रिजमले करीब ४० लाख बढी लगानी गरेको छ । उक्त कन्सर्नले जिल्लामा उत्पादन गर्ने कुल महको ५० प्रतिशत मह उत्पादन तथा बजारीकरण गर्ने लक्ष्य लिएको छ । ‘हामीजस्ता व्यवसायिक कृषकहरुलाई रिजमको लगानीले व्यवसायमा धेरै सघाएको छ’, शिवशक्ति बी कन्सर्नका प्रोप्राइटर विष्णु श्रेष्ठले भन्नुभयो, ‘रिजमबाट व्यवसायलाई आधुनिकीकरण गर्न पनि सकेका छौं ।’

श्रेष्ठ मात्रै होइनन् रिजमले आफूहरुको व्यवसायिक लगानीमा अनुदान थप गरिदिएपछि व्यवसाय सञ्चालनमा सहयोग पुग्नुका साथै यसलाई सही व्यावसायीकरण गर्ने आँट आएको कृषकहरुको भनाइ छ । रिजमले मध्य तथा सुदुर पश्चिमका दश जिल्लामा विभिन्न कृषि क्षेत्रमा काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *