सुरक्षित दाङ अभियान चलाइने

  
  प्रकाशित मितिः बुधबार, पुस १५, २०७२       | 186 Views   ||

जनउभार समाचारदाता

घोराही । दाङ प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले हरेक क्षेत्रबाट दाङलाई सुरक्षित बनाउन सुरक्षित दाङ अभियान सञ्चालन गर्ने बताउनुभएको छ । केही दिन पहिले धादिङबाट दाङमा सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी काफ्लेले सोमबार दाङका पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गर्दै शान्ति, विकास र समृद्धिलाई ध्यान दिदै सुरक्षित दाङ अभियान सञ्चालन गर्ने बताउनुभएको हो ।

जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा रहदासम्म यहाँका सबै क्षेत्रहरुसँग सहकार्य गर्दै नीतिनियम पालना गराउन र सेवा प्रवाहमा प्रतिबद्ध रहने प्रतिबद्धता जनाउनुभयो ।

सुरक्षित दाङ अभियानमा अपराधलाई न्यूनीकरण गर्नका लागि प्रहरीको भूमिकालाई बढाउँदै सशक्त बनाउने, जनतासँग प्रहरीको सहकार्यलाई बिस्तार गर्ने, जनता र सेवा प्रदायक निकायका बीचमा हातेमालो गर्ने, सरोकारवालाहरुको सल्लाह सुझाबलाई ऊर्जाका रुपमा प्रयोग गर्ने, प्रकोप र सडक दुर्घटना घटाउन लागि गर्ने योजना रहेको प्रजिअ काफ्लेले जानकारी दिनुभयो ।

सो अवसरमा पत्रकार महासंघ दाङका केन्द्रीय सदस्य अजयदीप शर्मा, दाङ शाखाका कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्य, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, दाङ शाखाका सल्लाहकार एवम् पूर्वअध्यक्ष प्रताप रेग्मी, पूर्वअध्यक्ष केबी मसाललगायतले जिल्लाको पत्रकारिताको अवस्था, स्थानीय प्रशासन र पत्रकारहरुको सम्बन्ध, विगतमा भोगेका कठीनाई तथा सकारात्मक पक्षहरुको विषयमा समेत जानकारी दिनुभएको थियो । सो अवसरमा पत्रकार र आम सञ्चारमाध्यमलाई सूचना प्रवाहमा सहजताको वातावरण सृजना गर्न पनि आग्रह गर्नुभएको थियो ।

त्यस्तै, जिल्लाको शान्ति सुरक्षा, विकास र समृद्धिमा पत्रकार र सञ्चारमाध्यमको सहयोगी भूमिका रहने भन्दै पत्रकारहरुले सबै सरकारी कार्यालयहरुलाई सञ्चारमैत्री बनाइदिन आग्रह गरेका थिए । साथै परिचयात्मक कार्यक्रममा जिल्लाका वर्तमान समस्या, चुनौतीका बारेमा पनि छलफल भएको थियो । बजार अनुगमन, इन्धन, ढुंगा गिट्टी बालुवाको सहजता, सबै कार्यालयहरुमा नागरिक सहायता कक्षको स्थापना, सूचना अधिकारीको व्यवस्थामा पनि प्रशासन गम्भीर भएर लाग्नुपर्ने बिषयमा छलफल भएको थियो ।

यसैबीच सोमबार नै प्रमुख जिल्ला अधिकारी काफ्लेले सुरक्षा निकायका प्रमुखहरु, कार्यालय प्रमुखहरु तथा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग पनि छुट्टाछुट्टै परिचयात्मक कार्यक्रम एवम् छलफल गर्नुभएको थियो ।

यसैबीच सोमबार नै दाङ जिल्ला उद्योग वाणिज्य संघ र स्थानीय शान्ति समिति, दाङले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी भर्खरै जिल्लामा आउनुभएका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेलाई स्वागत गरेका छन् । दुबै संस्थाले आ–आफ्नै भवनमा कार्यक्रमको आयोजना गरी स्वागत गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *