महिला स्वास्थ्य शिविर प्रतिवेदन सार्वजनिक

  
  प्रकाशित मितिः बुधबार, पुस १५, २०७२       | 186 Views   ||

जनउभार समाचारदाता

घोराही । जिल्ला जनस्वास्थ्य कार्यालय, परिवार नियोजन संघ र ओरेक नेपाल दाङको सहकार्यमा सञ्चालित महिला स्वास्थ्य शिविर प्रतिवेदन सार्वजनिक गरिएको छ । मंगलबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो ।

बेलामा पुस ८ गते र हलवारको खाद्रेमा पुस १० गते सञ्चालित निःशुल्क शिविरमा ६ सय ३० जनाले सेवा लिएका छन् । प्रतिवेदन सार्वजनिक गर्दै ओरक नेपाल दाङका संयोजक लक्ष्मी अर्यालले शिविरमा ३९ जना महिलाहरुले पाठेघरको मुख सुनिएको, ४० जना ग्यास्टिक, ११ जना पिसाबको संक्रमण, १५ जना पाठेघरको मुखमा घाउ भएका र १९ जना यौनी चिलाउने समस्या बिरामीहरुले सेवा लिएको जानकारी दिनुभयो ।

त्यस्तै महिनावारी गडबडी, दुखाइ ३०, उच्च रक्तचाप एक, रगत बग्ने सात, पहिलो डिग्री पाठेघर खसेका ३५, दोस्रो डिग्री पाठेघर खसेका २६, तेस्रो डिग्री पाठेघर खसेका १७, गर्भवती चेकजाँच १४, तल्लो पेट दुख्ने ७१, रक्तअल्पता चार, सेतोपानी बग्ने एक सय १९, जोर्नीे दुख्ने ४०, टाउको दुख्ने ६ र अन्य समस्या भएका ५३ जनाले सेवा लिएका छन् ।

दुबै शिविरमा ३९ जना महिलाहरुको पाठेघरमा रिङपसरी लगाइएको र १६ जनाको अप्रेसनका लागि रिफर गरिएको संयोजक अर्यालले बताउनुभयो । शिविरमा सेवा लिन आउनेहरुमा अधिकांश निम्न आर्थिक भएका प्रतिवेदनमा जनाइएको छ । जसमा दुई जना उच्च आर्थिक अवस्था भएका, एक सय ४८ मध्यम र तीन सय ८५ जना निम्न आर्थिक अवस्था भएको पाइएको बताइएको छ ।

कार्यक्रममा सविना भुसालले परिवार नियोजन संघले विभिन्न समयमा गरेका शिविरबाट सेवा लिने सेवाग्राहीहरुको बारेमा जानकारी दिनुभएको थियो । जसअनुसार विभिन्न २२ वटा क्याम्पमा तीन हजार दुई जनाले सेवा लिएका र जसमध्ये दुई हजार पाँच सय २९ जनाको यौनजन्य संक्रमण भएको पाइएको छ । त्यस्तै सन् २०१५ मा नौ सय ७९ जनाले पाठेघरको मुखको परीक्षण गराएको र जसमध्ये १२ जनाको संक्रमित भएको पाइएको भुसालले जानकारी दिनुभयो ।

संघका सचिव तुल्सीराम रानाको अध्यक्षतामा भएको कार्यक्रममा डा. अरविन्द्र भुसाल, डा. दिपिका सुवेदी, नेपाल पत्रकार महासंघ दाङका कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्य, जिल्ला जनस्वास्थ्यका चनु श्रेष्ठ, पत्रकार निमुसंगम घर्तीलगायतले बोल्नुभएको थियो । वक्ताहरुले ग्रामीण क्षेत्रका व्यक्तिहरुमा स्वास्थ्यको अवस्था धेरै जटिल भएको भन्दै यस्ता शिविरहरुलाई अझ प्रभावकारी बनाएर लैजानुका साथै विभिन्न सचेतनामुलक कार्यक्रम लैजान आवश्यक रहेको भएको बताएका थिए ।

कार्यक्रमको सहजीकरण परिवार नियोजन संघका शाखा प्रबन्धक वासुदेव विष्टले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *