लैंगिक हिंसा न्यूनीकरण परिवारबाटै शुरु गर्नुपर्नेमा जोड

  
  प्रकाशित मितिः बुधबार, पुस १५, २०७२       | 119 Views   ||

जनउभार समाचारदाता

घोराही, पुस १४ । लैंगिक हिंसाका कारण पत्ता लगाई परिवार स्तरबाटै सचेतना जगाउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले निष्कर्ष निकालेका छन् । महिला तथा बालबालिका कार्यालय दाङको आयोजनामा मंगलबार घोराहीमा भएको बहुपक्षीय साझेदारी निकायहरुबीच लैंगिक हिंसा समन्वय सुदृढीकरण सम्बन्धी कार्यशालाका सहभागीहरुले हिंसाको कारण र जगबाटै निदान खोज्नुपर्नेमा जोड दिएका हुन् ।

असीमित रुप र तरिकाबाट लैङ्गिक हिंसा हुने गरेको भन्दै वक्ताहरुले त्यसको कारण पत्ता लगाई निदान गर्न परिवारबाटै अभियान थाल्नुपर्ने निष्कर्ष निकालेका हुन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले सामाजिक न्यायका लागि हिंसा न्यूनीकरण गर्न कारण पत्ता लगाई जगैबाट निदान गर्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि पारिवारिक छलफल, पीडितलाई न्याय र पिडकलाई गल्तीको अनुभूति दिलाउन न्यायिक निकायले विशेष ध्यान दिनुपर्नेमा काफ्लेले जोड दिनुभयो ।

कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका प्रमुख विना श्रेष्ठले आर्थिक, सामाजिक, राजनीतिक, मानसिकरुपले महिलाहरुलाई कमजोर पारिदा हिंसा हुने गरेको भन्दै घरबाटै शान्ति र लैंगिक समानताको अभियान सुरु गर्नुपर्ने बताउनुभयो ।

युएनएफपीएका रामबहादुर थापाले हिंसाको न्यूनीकरण गर्न सचेतना, न्याय र परिवारबाटै समानताको बिकास थाल्नुपर्नेमा जोड दिदै सोही अनुसारका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । अस्पतालमा आधारीत एकद्वार संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन राधा पौडेलले पीडितलाई न्याय दिन र सचेतना फैलाउन सबैको भुमिका रहेकोमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *