सुरक्षित दाङ अभियानले जिल्लाको समग्र विकासमा भूमिका खेल्छ

  
  प्रकाशित मितिः बुधबार, पुस १५, २०७२       | 135 Views   ||

Dipak Kafle_CDO– दीपक काफ्ले
प्रमुख जिल्ला अधिकारी, दाङ

तपाई सरुवा भएर दाङ आएलगत्तै सुरक्षित दाङ अभियान सञ्चालन गर्ने भनेर घोषणा गर्नुभयो, सुरक्षित दाङ अभियान भनेको के हो ?

सुरक्षित दाङ अभियानमा हामीले मान्छेको मानवीय सुरक्षा गर्छौं । मान्छे के–के भयो भने सुरक्षित हुन्छ भन्नेमा हामी केन्द्रीत हुन्छौं । सरकारी सुरक्षा, सामाजिक सुरक्षालगायत सम्पूर्ण दाङको वृत्ति विकासका लागि हामीले काम गर्नुपर्छ । व्यक्ति सुरक्षित हुनका लागि उसले विकासको फल चाख्न पाउनुर्छ । ऊ सफा, स्वस्थ, शिक्षित र सुरक्षित हुनुपर्छ । उसको गरिबी निवारण हुनुपर्छ र मानवीय हिसाबमा राज्यले आफूलाई सुरक्षा दिएको छ भन्ने भावनाको विकास हुनुपर्छ । यी सबै काम सुरक्षित दाङ अभियानभित्र पार्न सक्छौं भन्ने अभिलाषाले समग्र दाङको विकासको लागि गरिने सम्पूर्ण क्रियाकलापहरुको एकीकृत काम नै सुरक्षित दाङ अभियान हो ।

सुरक्षित दाङ अभियानको सञ्चालन कसरी हुन्छ ?

यसमा हामीले पाँचवटा कुरा अघि सारेका छौं । एउटा, हामीले सुरक्षा पहरा दिन्छौं । त्यो सरकारी सुरक्षा हो । त्यसपछि सेवा प्रदायक निकाय र जनताबीच हातेमालो गर्छौं । हरेक कामहरुमा उचित हातेमालो हुन्छ । विकासको काममा, प्रशारण, स्वास्थ्य, शिक्षा रोजगारी र व्यावसायिक कामहरुमा हामी सेवा प्रदायक निकायबीच हातेमालो गर्छौं । सेवाप्रदायक निकाय भन्नाले सरकारी निकाय मात्र होइन । हरेक सेवा प्रदान गर्ने निकायहरु जस्तै, व्यापार कृषि, स्वास्थ्यलगायत सबै क्षेत्र पर्छ । जहाँबाट सेवा प्रदान हुन्छ, त्यो निकाय र सेवा लिने जनताबीच उचित हातेमालो गरिन्छ ।

हामीले युवा ऊर्जाको प्रयोग गर्छौं । युवा भन्नाले यहाँ रहेका क्रियटिभ पर्सनालिटी भएको हरेक व्यक्ति पर्छ । उनीहरुको सक्रियतालाई हामीले प्रयोग गर्छौं । सडक दुर्घटना र दैवी प्रकोपका जति पनि घटना हुन्छन् त्यसलाई न्यूनीकरण गर्छौं र अपराधका घटनाहरुलाई न्यूनीकरण गर्छौं । यसरी विकास, प्रशासन र यसका उपभोक्ताको त्रिपक्षीय सम्बन्धलाई प्रगाढ बनाएर दाङको समग्र गतिविधिलाई अभिवृद्धि गरेर दाङको हरेक व्यक्ति सुरक्षित छ र समृद्ध छ भन्ने दिशातर्फ लैजाने हाम्रो सोच रहेको छ ।

सुरक्षित दाङ अभियानमा तपाईले सरसफाईको कुरालाई पनि जोड दिनुभएको छ । सरसफाईको व्यवस्थापन कसरी हुन्छ ?

सरसफाईको व्यवस्थापन गर्ने विभिन्न निकायहरु छन् । जिल्लामा सभापतिको हैसियतले स्थानीय विकास अधिकारीले जिल्लामा रहेको खानेपानी तथा सरसफाई बोर्डको नेतृत्व गर्नुहुन्छ । त्यसमा खानेपानी कार्यालय सदस्य सचिव छ र अरु सरोकारवाला निकायहरु त्यसको सदस्य रहेका छन् । ती सबै निकायहरुलाई परिचालन गरेर कामहरु अघि बढ्छन् । उद्योग वाणिज्य संघहरु, अन्य सरोकारवाला निकायहरु, गैरसरकारी संस्था, नागरीक समाज, पत्रकार तथा सबै व्यक्तिहरुलाई प्रयोग गरेर सरसफाई अभियान अघि बढ्छ ।

मैले जिल्ला अधिकारीलाई विद्यालयको सरसफाईको विषयमा सचेत बनाएको छु । विद्यालयभित्रको सरसफाईलाई जोड दिएका छौं । सरसफाईलाई एउटा व्यक्तिको दैनिकीसँग जोडेर अगाडि बढाउन सकिन्छ । किनभने यहाँ मान्छे समृद्ध तर घर आसपासमा फोहार छ भने त्यसको खासै अर्थ रहदैन ।

लमहीमा भर्खरै भएको कार्यक्रममा पनि मैले सहभागीहरुलाई तीनवटा प्रतिवद्धता जाहेर गर्नुस् भनेको थिएँ । ‘म फोहर गर्दैन, अरुलाई फोहर गर्न दिन्न र त्यति गर्दागर्दै पनि फोहर भइहाल्यो भने त्यो फोहरलाई सफा गर्छु’ भन्ने । यी तीनवटै प्रतिबद्धता सबै दाङबासीले गर्नुपर्छ । त्यो प्रतिबद्धता मैले पनि गर्नुपर्छ । मेरो क्वार्टर र अफिसमा पनि फोहोर हुन सक्छ ।

अभियान भनेको कुनै व्यक्ति वा समूहले मात्र सञ्चालन हुँदैन । सबै तप्काका व्यक्तिहरुले आफ्नो तहबाट पहल थाल्नुपर्छ । यी सबै विषयलाई हामीले सुरक्षित दाङ अभियानभित्र समाहित गर्न खोजेका छौं ।

सरकारी तवरबाट आउने यस्ता अभियानहरु सरकारी निकायबीच नै उचित समन्वय नहुँदा समस्या उत्पन्न हुने गरेको गुनासा आउँछन् । दाङमा तपाईंले कस्तो पाउनुभयो ?

समस्याहरु छन् र त हामी छौं । समस्या आयो भने समाधान गर्ने हामी नै हो । सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । सञ्चार क्षेत्रले हामीभित्र देखिएका समस्याहरु उजागर गरेपछि पनि हामीलाई थाहा हुन्छ । कुनै काममा सरकारी निकायहरुबीच पनि केही समन्वयको अभाव भएको होला । ती समस्याको समाधान हामी आफैले गर्नुपर्छ । कुनै कुरामा हामीले कानुनी कारवाही गर्नुपर्ने हुन्छ । कुनै विषयहरु व्यवहारिक रुपमा हल गर्नुपर्ने हुन्छ । त्यस अवस्थामा कोसँग के समन्वय गरेर अघि बढ्न सकिन्छ भनेर हामीले योजना बनाउँछौं ।

तपाई दाङ आएर कार्यभार सम्हाल्नुभएको करीब दुई हप्ता भयो । दाङमा मुख्य समस्या के पाउनुभयो ?

म देउखुरीका सतबरिया, गढवा, गंगापरस्पुर, चैलाही लगायतका गाविसहरुमा पुगे । म उत्साहित भएको छु । मैले परिकल्पना गरेको भन्दा अलि विकसित रहेछ दाङ । दाङका मान्छेको वृत्ति विकास र जीवनस्तर अलिकति माथि नै रहेछ । शिक्षामा यहाँको स्थिति पनि मैले हेरें । सबै कुराको वृत्ति विकास हामीले हेर्नुपर्छ ।

अहिले मैले सबै क्षेत्रको अध्ययन गरिरहेको छु । स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, जीवनस्तर समग्र कुराको अध्ययन गरिरहेको छु  । सबै कुराको हामी आफैले समस्या समाधान गर्न सक्दैनौं । जिल्ला परिषद् नजिक आइसकेको छ । हामीले बजेट विनियोजन गर्दा सबै पक्षलाई समेटेर विकासको सूचकको आधारमा गर्नुपर्छ । यसका लागि मैले सहजीकरण गर्दैछु । यसका लागि म राजनीतिक दलका नेताहरुसँग पनि बस्छु । अहिलेको अवस्था र आगामी लक्ष्य के भनेर हामीले स्पष्ट योजना बनाउनुपर्छ । सरकारी निकाय र गैर सरकारी निकायहरुसँग बसेर हामीले आउँदो परिषद्लाई सूचकको आधार काम गर्नुपर्छ ।

सबै कुरा प्रमुख जिल्ला अधिकारीले मात्र गर्छ भन्नु गलत हो । मैले गर्ने भनेको सहजीकरण हो । यसका लागि राजनीतिक दलहरुले अग्रसर लिनुपर्छ । अन्तः यो देशको विभाजन के भनेर तयार पार्ने काम राजनीतिक दलहरुकै हो । उहाँहरुकै सहभागीतामा हामीले दृढसंकल्पका साथ काम अघि बढाउनुपर्छ । राजनीतिक नेतृत्वभन्दा सिडिओ अघि भएर काम गरेको राम्रो पनि हुँदैन । राजनीतिक दलहरुको समन्वय र उहाँहरुको स्वीकारोक्तिमा हामी अगाडि बढ्नुपर्छ । त्यही आधारमा हामीले समुन्नत दाङ बनाउनुपर्छ ।

भारतीय नाकाबन्दीका कारण इन्धन संकट उत्पन्न भयो । दाङमा इन्धनको वितरणमा केही समस्या उत्पन्न भएको छ । तपाईले यसलाई सहज बनाउन के पहल थाल्नुहुन्छ ?

हामीसँग प्रशासनिक र व्यावसायिक धर्म रहेको छ । व्यवसायमा नाफा अवश्य पनि हुन्छ । यसलाई हामीले अन्यथा मान्नु हुँदैन । तर, नाफा गर्ने नाममा उसले आफ्ना व्यावसायिक मर्यादाहरु नाघ्नु हुँदैन । जब व्यावसायिक मर्यादा नाघ्ने प्रयत्न गरिन्छ, तब राज्यका कानुनहरुले त्यसलाई छोड्दैन । कानुनको प्रयोगकर्ताले यसमा सोच्नुपर्छ ।

अब बजार अनुगमनलाई बढाउनुपर्छ भन्नेछ । मैले आएको छोटो अवधिमा पनि विशेष गरेर पेट्रोल पम्पहरुमा थोरै इन्धन तथा डिजेलहरु परिणाम घटाएर दिन्छन् भन्ने खबर सुनेपछि यहाँको संयन्त्रलाई प्रयोग गरेर केही पेट्रोलपम्पहरुको निरीक्षण गर्ने काम भएको छ । त्यो बाहेक कालोबजारीका केही सूचना आएका छन् । यसलाई रोक्न हामी बजार अनुगमनलाई जोड दिन्छौं । कहिलेकाँही तथ्य बाहिरका सूचना पनि आउँछन् । अहिले मान्छेले न्यूनतम सहज रुपमा वस्तुको खरिद गर्न पाउनुपर्छ । अभावको बीचमा सम्पूर्ण रुपमा सहज रुपमा बस्तु खरिद गर्न पाउन सकिएला भन्न त सकिदैन ।

बजार अनुगमनलाई अझ व्यवस्थित गर्ने केही योजना छ कि ?

बजार अनुगमनलाई व्यवस्थित गर्ने हाम्रो योजना रहेको छ । यति ठूलो जिल्ला छ दाङ । तर, अहिलेसम्म यहाँ वाणिज्य कार्यालय स्थापना हुन सकेको छैन । वाणिज्य कार्यालय स्थापनाका लागि यहाँका माननीयज्यूहरुसँग कुरा गर्ने तयारी गरेको छु । वाणिज्य कार्यालय स्थापना भएपछि यस क्षेत्रको समग्र वाणिज्यको नियमन उक्त कार्यालयले गर्नेछ । जिल्ला प्रशासन कार्यालय भनेको जिल्लामा त्यो प्रकृतिको काम गर्ने कुनै कार्यालय छैन भने सबै गर्नुपर्छ । जिल्ला प्रशासनमा भीडभाड धेरै हुन्छ । जिल्ला प्रशासनलाई सबै काम गर्न सजिलो पनि छैन । कर्मचारी व्यवस्थापनमा त्यत्तिकै गाह्रो हुन्छ । वाणिज्य कार्यालय स्थापनाका लागि जिल्लाबाट निर्णय गरेर जानुपर्छ । तत्कालका लागि हाम्रो संयन्त्रले बजार अनुगमन आफै गर्छ ।

अन्त्यमा दाङबासीलाई के भन्न चाहनुहुन्छ ?

दाङको समग्र विकासका सूचकहरु हेर्दा म केही उत्साहित पनि छु । हामी सबै दाङको समृद्धिका लागि जो जहाँ छौं त्यहींबाट असल नियतले काम गरौं । यहाँको स्थानीय प्रशासन, विकाससम्बन्धी कार्यालयहरु, गैरसरकारी संस्थाहरु, नागरिक समाज, सञ्चार क्षेत्र लगायतका सबै निकायहरु मिलेर साझेदारी गरौं । तपाईंको पत्रिकामार्फत् सबैलाई म यहीं अपील गर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *