सल्यान साक्षर जिल्ला घोषणा

  
  प्रकाशित मितिः बुधबार, पुस १५, २०७२       | 106 Views   ||

salyan_जनउभार समाचारदाता

सल्यान । नेपालको २२ औं साक्षर जिल्लाको रुपमा सल्यानलाई घोषणा गरिएको छ । मंगलबार खलंगा टुडिखेलमा विशेष समारोहका बीच शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले २२ औं साक्षर जिल्लाको रुपमा घोषणा गर्नुभएको हो ।

जिल्लामा कुल जनसंख्याको ९७ प्रतिशत बढी नागरिक साक्षर भएकाले सल्यानलाई साक्षर घोषणा गरिएको हो । सल्यान सदरमुकाम खलंगामा औपचारिक कार्यक्रमका बीच साक्षर जिल्ला घोषणा गर्दै शिक्षामन्त्री पोख्रेलले सिकाइ र पढाइलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

शिक्षा सबैको तेस्रो आँखा भएको भन्दै उहाँले सबै साक्षर भए मात्रै घर, समाज र देशको बिकास हुने बताउनुभयो । साक्षर नेपाल अभियानअन्तर्गत २०६७ देखि जिल्लाका सबै गाविस एवं नगरपालिकामा साक्षर अभियान सञ्चालन गरिएको थियो ।

कार्यक्रममा सल्यानबाट प्रतिनिधित्व गर्ने क्षेत्र नं. १ का सांसद् टेकबहादुर बस्नेत, क्षेत्र नं. २ का सांसद् प्रकाश ज्वाला, अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष रमेश मल्ल, शिक्षक महासंघका केन्द्रीय सहअध्यक्ष रत्नबहादुर ओली, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरु लगायतले साक्षर जिल्ला घोषणा अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच शिक्षामन्त्री पोख्रेलले मंगलबार नै शीतलपाटीमा रहेको शिवजन उमाविमा सञ्चालन गर्न लागिएको तीन बर्षे आइ एस्सी एजी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा उहाँले कृषि क्याम्पस निर्माण गरिरहेको शिवजन उमाविलाई निरन्तर सहयोग गर्न जिल्ला शिक्षा कार्यालयलाई निर्देशनसमेत दिनुभयो ।

सहिदस्मृति स्कूलको निरीक्षण

शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले दाङको मानपुर वनकट्टीस्थित सहिदस्मृति आवासीय माविको निरीक्षण तथा विद्यार्थीहरुसँग भेटघाट गर्नुभएको छ । सल्यानलाई साक्षर जिल्ला घोषणा गर्न जाने क्रममा मन्त्री पोख्रेलले बनकट्टीमा पुगेर विद्यार्थीहरुसँग छलफल गर्नुभएको हो ।

त्यस्तै, मंगलबार बिहान एकीकृत नेकपा माओवादी दाङले घोराहीको रझेनामा आयोजना गरेको कार्यकर्ता भेटघाटका क्रममा बोल्दै उहाँले नाकाबन्दी अन्त्य गर्न सरकार लागेको बताउनुभयो । आन्दोलनरत मधेशी मोर्चासँग वार्ता र भारतसँग कूटनीतिक पहल गरेर नाकाबन्दी अन्त्य गर्न लागिरहेको बताउनुभयो । अब शिक्षकहरुले दलीय राजनीति गर्न नपाउने बताउनुभयो । उहाँले अब नयाँ ऐन आएपछि शिक्षकहरु राजनीतिक दलभन्दा विद्यार्थीप्रति उत्तरदायी बन्ने परिपाटीको थालनी हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *