महिलाअधिकारकर्मीहरु पुरुष विरोधी हैन, विभेदपूर्ण मूल्यमान्यता विरोधी हुन्

  
  प्रकाशित मितिः बिहिबार, मंसिर २३, २०७३       | 249 Views   ||

Tulasa Giri– तुलसा गिरी (संयोजक) ओरेक नेपाल, दाङ

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान यसै सातादेखि शुरु भएको छ, जिल्लामा के कस्ता कार्यक्रमहरु गरेर अभियान सञ्चालन गर्दै हुनुहुन्छ ?

सर्वप्रथम त महिला हिंसा विरुद्धको १६ दिवशीय अभियानमा के–के कार्यक्रम गरियो सगै यो दिवश कसरी शुरुभयो भन्ने कुरालाई पनि जोड्न चाहन्छु । यो अभियान सन १९९१ देखि अन्तर्राष्ट्रिय रुपमा विश्वभर मनाउन थालिएको हो हरेक वर्ष २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म मनाइन्छ । यो अभियानको शुरुवात डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन दिदीबहिनीहरूको तत्कालीन त्रुजिलो तानाशाही सरकारले सन् १९६० मा गरेको निर्मम हत्यासँग जोडिएको छ । यो महिला भएकै कारणले उनीहरुमाथि गरिएको हिंसा हो भन्ने निष्कर्ष निकालेर महिला अधिकारकर्मीहरुले महिलामाथि हुने सबै प्रकारको हिंसाको विरोध स्वरुप १६ दिवशीय अभियान मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघले १९९९ मा यसलाई मान्यता प्रदान गरेको छ ।

नेपालमा पनि ‘घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि हिंसारहित समाज’ भन्ने राष्ट्रिय नाराका साथ यस वर्षको महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ ।

प्रत्येक वर्षझंै यस वर्ष पनि दाङमा समुदायस्तरदेखि जिल्लास्तरसम्म महिला हिंसा अन्त्यका लागि सरकारी कार्यालय र अधिकारको क्षेत्र कार्यरत सञ्जाल, संघसंस्थाको उत्साहपूर्वक सहभागितामा अभियान चलिरहेको छ । महिला अधिकारको क्षेत्रमा कार्यरत ओरेक नेपालले ‘संरचनात्मक असमानताको सम्बोधनः सबैका लागि सुरक्षित शिक्षाको आधार’ भन्ने मुख्य नाराका साथ समुदायस्तरदेखि राष्ट्रिय स्तरसम्म विभिन्न कार्यक्रमहरू गरेर यो दिवस मनाइरहेका छ ।

१६ दिवसीय अभियानभरि प्रत्येक दिन कार्यक्रम तय गरिएको थियो । समग्रमा ओरेकको सुरक्षा आवासमा र ओरेकद्वारा स्थानीय महिला सामुदायिक संस्थासँगको सहकार्यमा सञ्चालित १० वटा महिला स्वास्थ्य परामर्श केन्द्रमा आएका केसलार्ई आधार मानेर नै कार्यक्रम तय गरेको थियो । मुख्य गरेर महिला हिंसाको सवाल सबैको साझा सवाल बन्नुपर्छ र न्यायिक प्रक्रियामा सामाजिक न्यायलाई सँगै जोडेर लैजानुपर्छ भन्ने कुरामा जोड दिनका लागि हामीले जिल्लादेखि गाविससम्म कार्यक्रम ग¥यौं । आफुविरुद्ध भएको हिंसाको विरोध गर्दै न्यायिक प्रक्रियाको लागि अगाडि बढेकी वृद्ध महिलालाई उनकै गाउँमा गएर सम्मान गर्ने काम गरियो, यसले हिंसा सहन हुँदैन भन्ने सन्देश दिन्छ भन्ने अपेक्षा गरेका छौं ।

सार्वजनिक यातायात महिलामैत्री नहुँदा र अरक्षण सिटको प्रयोगसमेत गर्न नपाउँदा महिलाले विभिन्न खालको समस्या भोग्नुपरेकोले यसप्रति यातायात व्यवसायी र सरोकारवाला निकाय ध्यानाकर्षण गराइयो । अदालती प्रक्रियाबाट फैसला भइसक्दा पनि हिंसा प्रभावित महिलाको नागरिकता र उनीहरुको बच्चा जन्मदर्ता नहुँदा समस्या परेकोले यसको विषयमा पनि हामी जिल्लामा सरोकारवालाहरुसँग कार्यक्रम गर्दैछौं, यसले केही निकास दिन्छ भन्ने अपेक्षा गरेका छौं ।

त्यसैगरी बालविवाह महिला हिंसाको एउटा मुख्य कारण भएको र यसले महिला स्वास्थ्यमा प्रत्यक्ष असर पारेकाले यसको विरुद्ध रेडियो, पत्रिका र स्थानीय टेलिभिजनबाट सूचना÷सन्देश प्रसारण र प्रकाशन गरिरहेका छौं । त्यसैगरि ओरेकको सूचना केन्द्र रहेका २० वटा विद्यालयमा बालविवाह विरुद्धको होर्डिङबोड यसै अभियानभित्र राख्दैछौं भने २३ गते स्वास्थ्य चौकी धनौरीसँगको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गर्दैछौं । यी कार्यक्रमहरु ओरेक र महिला मानवअधिकार रक्षक सञ्जाल दाङ सहकार्यमा भइरहेका छन् ।

यहाँहरुले अभियान सञ्चालन गर्दा लैंगिक हिंसाका सवालहरु मिडियासम्म आउँछन्, अभियान अवधिभर धेरै चर्चा परिचर्चा हुन्छ र बिस्तारै सबै कुरा सेलाउँदै जान्छ । यो कतिपयले भन्ने गरेजस्तो कर्मकाण्डी र संस्थाको कार्यप्रगति देखाउने काम मात्रै हुँदैन र ? लैंगिक हिंसाविरुद्ध निरन्तर खबरदारी गरिरहनुपर्ने होइन र ?

हरेक अभियानको सामान्य बेलामा भन्दा अलि बढी चर्चा नै हुन्छ । अभियान भनेकै सामुहिक हुन्छ र यसले सबैको ध्यान तान्छ मिडियाले पनि यसमा धेरै खोजी गरिरहेको हुन्छ, त्यसले पनि यहाहरुलाई त्यस्तो लागेको होला । यहाँले ओरेकलाई नजिकबाट हेर्ने प्रयास मात्र गर्नुभयो भने थाहा पाउन सक्नुहुन्छ, यो एउटा यस्तो संस्था हो जसले महिला हिंसाविरुद्ध वर्षैंभरि वकालत, पैरवी र खबरदारी गरिरहेको छ । जटिल खालका महिला हिंसाका सवालमा, न्यायिक प्रक्रियामा अप्ठ्यारो परेको केशमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र खबरदारी गर्ने काम गरिरहेका छौं भने महिला हिंसाका घटनालाई न्यायिक प्रक्रियाको लागि सम्बन्धित निकायमा धाउने त हाम्रो दैनिकीजस्तै बनेको छ ।

तपाईं लैंगिक सवाललाई विशेष जोड दिने एउटा संस्थाको जिल्ला प्रमुखको रुपमा दाङमा क्रियाशील भएको पनि केही समय भइसकेको छ, जिल्लामा लैंगिक हिंसाको अवस्था कस्तो पाउनुभएको छ ?

दाङमा पनि अन्य जिल्लामा भएका महिला हिंसाका घटनासँग करिब–करिब मिल्दो नै छ । लैङ्गिक विभेदका कारणले महिलाले सबैभन्दा धेरै घरेलु हिंसा भोग्नु परिरहेको राष्ट्रिय तथ्याङ्कसँग ओरेकमा एक वर्षमा आएका महिला हिंसाको घटनासँग मिल्दो देखिन्छ । ओरेकमा आव ०७२÷७३ को तथ्यांक हेर्दा ८५ प्रतिसत घरेलु हिंसाका केश छन् । महिलाले अधिकार धेरै पाए भन्छन् तर व्यावहारिक प्रक्रिया सहज नहुँदा महिलाले न्याय नपाइरहेको अवस्था यस जिल्लामा पनि छ । त्यसपछि यौनजन्य हिंसा, बलात्कार घटनाको संख्या आउँछ । त्यसमा पनि अधिकांश बालिका र किशोरी छन् । हिंसा प्रभावित महिला र बालिकाको सुरक्षित पुनःस्र्थापना नहुँदा विस्थापित हुने अवस्था देखिएको छ । त्यसमा अझ बलात्कारबाट पीडितहरु धेरै विस्थापित भएका छन् ।

हिंसापीडितहरुलाई न्याय, पुनःस्थापना, उनीहरुको सुरक्षा र अधिकारका लागि राज्यका तर्फबाट भइरहेका प्रयासबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ? राज्यप्रति तपाईंको अपेक्षा के रहेको छ ?

राज्यले महिला हिंसाको अन्त्य गर्नको लागि गरेको प्रयासहरु धेरै राम्रा छन्, यसले गर्दा हिजोको भन्दा आज महिला हिंसाका घटना हेर्ने दृष्टिकोणमा सोचे जति नभए पनि केही सकारात्मक परिवर्तन भएका छन् । घरेलु हिंसालाई हिंसा नै होइन भन्ने समाजमा आज घरेलु हिंसाका धेरै घटना उजुरीमा आउनु पनि एउटा उदाहरण हो । त्यसैगरि सुरक्षा आवासको व्यवस्था हुनु, एकद्वार संकट व्यवस्थान केन्द्रको स्थापनाले तत्काल हिंसापीडितले राहत पाएका छन् । तर अझै पनि महिलाको लागि न्यायिक प्रक्रिया सहज हुन सकेको अवस्था भने छैन ।

हिंसा प्रभावित महिला जब न्यायको ढोका ढकढक्याउन जान्छन्, हरेक ठाउँमा उनीहरुले परीक्षा दिएजस्तै हुन्छ तर पीडकलाई त्यसको खासै असर पर्दैन । उदाहरणको लागि बहुविवाहको मुद्धा दर्ता गराउन गयो प्रमाण पीडितले पु¥याउनुपर्छ । त्यसको लागि कति धेरै जोखिम उठाउनुपर्छ । हिंसा भयो न्यायिक प्रक्रियाको लागि अदालत जान्छु भन्दा न विवाह दर्ता हुन्छ न बच्चाको जन्म दर्ता हुन्छ । त्यसपछि पनि फैसला भएपछि कार्यान्वयनको लागि नागरिकता हुँदैन । त्यसको लागि श्रीमान् या घरका व्यक्ति नै चाहिने । श्रीमानबाट हिंसा खेपेर अदालतसम्म पुगेको महिलाले नागरिकता बनाउने बेलामा श्रीमान् या उसका परिवारका सदस्य आएर नागरिकतामा सनाखत गरिदिन्छन् त ? यसले गर्दा महिलाले न्यायिक प्रक्रियाबाट केही राहत पाए पनि व्यवहारमा पाएका छैनन् । यसको निकास राज्यले दिनैपर्छ, हैन भने विकल्प दिनुपर्छ ।

सुरक्षित पुनस्र्थापनाको कुरा अहिलेको अवस्थामा जटिल बन्दै गएको छ र जब महिलाले हिंसाको घटना बाहिर ल्याउँछन्, तब उनीहरु मनोवैज्ञानिक रुपमा त्यो परिवारबाट म जोखिममा छु भन्ने महसुस गर्छन् । उनीहरु त्यहाँ फर्कन चाहदैनन्, फर्कन चाहनेलाई पनि मनमा धेरै प्रकारको डर र धम्कीले सताइरहेको हुन्छ । त्यसैले अहिलेलाई तत्काल राज्यले यस्ता महिलाको क्षमता अनुसारको रोजगारीको अवसर, दिगो जीविकोपार्जनका लागि सीप र पूँजीको व्यवस्था गर्न सके मात्र पनि धेरै राम्रो हुने थियो ।

नेपालको हकमा लैंगिक हिंसा न्यूनीकरणका मुख्य चुनौतीहरु के–के हुन् जस्तो लाग्छ तपाईंलाई ?

चुनौतीहरु त धेरै छन् । महिला हिंसाका केसहरु केही हदसम्म बाहिर आए पनि हिंसाको केस बाहिर ल्याएपछि पीडित विस्थापित हुने अवस्था आउँदा हिंसा प्रभावित महिला खुलेर न्यायिक प्रक्रियाका लागि बाहिर आउन सकिरहेका छैनन् । यसको लागि केही प्रयास भए पनि पूर्ण भएको छैन । त्यसैगरी भएका कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा पनि महिला हिंसा हुने क्रम घट्न सकेको छैन ।

अर्काे कुरा, महिला हिंसा साझा सवाल बन्न नसक्नु मुख्य समस्या देखिएको छ । महिलाका मुद्धा÷समस्या आए भने महिलाहरुको मुद्धा हो भनेर पन्छिने प्रवृत्तिले गर्दा महिलाका मुद्धा कमजोर भएर एकपक्षीय हुन गएका छन् । महिला हिंसाको सवाल प्रहरी, अदालत र महिला संघ संस्थाको मात्र समस्या हो भनेर आम बुझाइ रहेको छ, यसलाई हटाउन अति आवश्यक छ ।

लैंगिक हिंसा न्यूनीकरणमा पुरुषहरुको के भूमिका हुनसक्छ ?

लैङ्गिक हिंसा अन्त्य गर्नको लागि पुरुषको सकारात्मक भूमिकाको खाँचो रहेको छ । म त के भन्छु भने पितृसत्तात्मक सोचले गर्दा लैङ्गिक हिंसाभित्र महिला हिंसामा बढी पर्ने र ंिहसा गर्नेमा पुरुषको संख्या धेरै छ । त्यसैले लैङ्गिक हिंसा अन्त्यको लागि उहाँहरु पनि अगाडि बढ्न जरुरी देखिन्छ । हाम्रो परिवार र समाजमा भएका महिला हिंसाको घटनाका विरुद्ध बोल्ने, न्यायिक प्रक्रियाका लागि सहयोग गर्ने, त्यस्ता घटनाका दोषीलाई कानुनी कारवाहीमा ल्याउन सहयोग गर्ने कार्यमा मात्र पनि पुरुषको सहयोग भए महिला हिंसामा धेरै कमी आउने थियो जस्तो लाग्छ मलाई । विडम्बना– अझ पनि महिला हिंसाको घटना महिलाको मात्र हो भन्ने बुझाइ रहेको छ ।

अधिकारकर्मी र अझ विशेष गरी महिलाअधिकारकर्मीहरुलाई एउटा आरोप छ– घरभित्रका स–साना ‘चित्त फाटेका, मन दुखेका कुरा’हरुलाई ठूलो समस्या बनाइदिन्छन् र ‘शान्त’ घरपरिवार नै तहसनहस पारिदिन्छन्, आफूहरु चैं डलर कमाउँछन् । तपाईं अधिकारकर्मीको नाताले यो आरोपलाई कसरी लिनुहुन्छ ?

अब काम गर्ने क्रममा यस्ता आरोप लाग्छन्, आरोप लगाए भनेर त्यति धेरै मन पनि दुखाउनुपर्छ जस्तो लाग्दैन किनकि हाम्रो समाज कहाँ छ भनेर हामीले पनि हेर्नुपर्छ । तपाईलाई करिब ४ महिना अगाडिको एउटा उदाहरण दिन्छु– श्रीमानले कुटेर २ वटा दाँत झारेको छ । टाउको फुटाएर ७ वटा टाका लगाएको छ । साथमा १० महिनाको दूध खाने बच्चा छ तर परिवार, आफन्त आएर श्रीमान श्रीमतीबीचको सामान्य झगडा हो भन्छन् । त्यसलाई न्यायिक प्रक्रियामा लैजानुपर्छ भन्ने हो भने सानो झगडा थियो, ठूलो बनाइदिए भन्छन् ।

अर्काे कुरा महिलामाथि घरभित्र जति धेरै हिंसा भए पनि त्यसलाई सामान्य मानिन्छ । महिलाले सहनुपर्छ भन्ने मान्यता मैले माथि पनि भनिसकें । बाहिर भनेजस्तो सानो चित्त दुख्नेबित्तिकै महिलाहरु उजुरी गर्न जाँदैनन्, अन्तिम अवस्थामा मात्र महिलाहरु बाहिर निस्कन्छन् । त्यसैले कतिपय अवस्थामा त हामीसँग आइपुग्दा सम्बन्ध सुध्रिने ठाउँ नै रहेको हुँदैन, त्यसैले पनि त्यस्तो देखिएको हुन सक्छ ।

विभिन्न तथ्याङ्क र समाचार सुन्दा लैंगिक हिंसाका घटना बढिरहेकाजस्तो लाग्छ । सञ्चार, प्रविधि र मान्छेको चेतनास्तर विकसित हुँदै जाँदा लैंगिक हिंसाका घटना कम हुनुपर्ने होइन् र ? कि लैंगिक हिंसाका घटनाहरु पहिले थाहा हुँदैनथ्यो, बाहिर धेरै आएका हुन् ?

यहाँको एउटा कुरामा चाहिँ अहिले मिडियाले पनि महिला हिंसाका कुरालाई प्राथमिकता दिएर अगाडि ल्याइरहेको छ भने न्यायिक प्रक्रियाका लागि सहयोगी संयन्त्रको विकास हुँदै जाँदा महिला हिंसाका घटना धेरै बाहिर आएको सत्य पनि हो । त्यसले महिला हिंसा बढेको हो जस्तो देखिए पनि बाहिर आउने वातावरण निर्माण हुँदै गएको हो भन्ने मलाई लाग्छ ।

तपाईले भनेजस्तै चेतनाको स्तर बढे पनि सचेतनाको स्तर बढेको छैन । चेतना हुँदैमा हिंसा हुँदैन् भन्ने छैन । यहाँ दिनभरि महिला हिंसाका विरुद्ध कुरा गर्ने, राती गएर श्रीमती कुट्ने धेरै छन् यहाँ । पढे लेखेका धेरै विद्वानका घरमा पनि महिला हिंसा भइरहेको छ, के उनीहरुको चेतनाको स्तर नै नभएको भन्न मिल्ला र ?

अन्त्यमा नौलो जनउभार साप्ताहिकमार्फत् भन्नैपर्ने केही थियो कि ?

अहिले महिलाले महिलामाथि हिंसा गर्छन् भनेर धेरै ठाउँमा भनेको सुनिन्छ । अझ राष्ट्रिय रुपमा एउटा पहिचान बनाइसकेको व्यक्तिहरुबाट समेत यस्ता अभिव्यक्ति आउँदा यसले महिला हिंसा न्यूनीकरण गर्न हैन, बढाउन नै सहयोग गरेको छ । त्यसैले बुझ्नैपर्ने कुरा महिला अधिकारकर्मीहरु पुरुषका विरोधी होइनन्, विभेदपूर्ण मूल्यमान्यता विरोधी हुन् । सबै महिला पीडित र सबै पुरुष पीडक हुन् भन्ने कुरा पनि हैन तर केही महिलाले गरेको गल्तीलाई लिएर समग्र महिलाको तुलना गर्नुहुँदैन भन्ने हाम्रो आग्रह हो ।

अन्त्यमा १६ दिवसीय महिला हिंसा विरुद्धको दिवसमा जसरी हामी सबै एक ठाउँमा उभिएर अभियान सञ्चालन ग¥यौं, यसले सकारात्मक सन्देश दिएको छ । त्यसैले सबैलाई हार्दिक धन्यवाद ।

प्रस्तुति : डिल्ली मल्ल

Leave a Reply

Your email address will not be published. Required fields are marked *