– रेखा शर्मा, पूर्व सामान्य प्रशासनमन्त्री एवं नेता, नेकपा माओवादी केन्द्र
नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वसामान्य प्रशासनमन्त्री रेखा शर्मा स्थानीय तहको वास्तविक जन्मदाता माओवादी भएकाले यो निर्वाचनमा आम जनताले सहयोग गर्ने बताउनुहुन्छ । कांग्रेस, एमाले र अन्य दल नक्कली गणतन्त्र, संघीयतावादी भएको उहाँको भनाई छ । स्थानीय तहको निर्वाचन, माओवादीको एजेण्डा, चुनावी तालमेललगायतका विषयमा केन्द्रित भएर नेता शर्मासँग पत्रकार पाण्डव शर्माले गरेको कुराकानी : सम्पादक)
स्थानीय तहको निर्वाचन नजिक आइसकेको छ । निर्वाचनमा माओवादी के एजेण्डा लिएर जाँदैछ ?
यो स्थानीय तह भन्ने संरचना माओवादीकै एजेण्डा हो । कांग्रेस एमालेहरु राज्य पुनर्संरचना गर्न तयार थिएनन् । विकेन्द्रीकरणका लागि माओवादीले ठूलो बलिदान दिएको छ । स्थानीय तह स्थानीय सरकार नै हो । अब जनताले आफ्नो घर आँगनबाटै सरकार सञ्चालन गर्न सक्ने भएका छन् । यी सबै परिवर्तनका एजेण्डा माओवादीका हुन् भनेर आम जनतालाई थाहा छ । हामी यी एजेण्डालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्छ भनेर लागेका छौं ।
हामीले उत्पीडित वर्ग र समुदायलाई राज्य सञ्चालनको मुलधारमा ल्याएका छौं । स्थानीय सरकारमार्फत् अब जनताले विभिन्न २२ वटा अधिकारहरु प्राप्त गर्नेछन् । सिधा भाषामा भन्नुपर्दा अब सिंहदरबार सबै गाउँ तहमा पुगेको छ । अब जनता विकास माग्न काठमाडौंको सिंहदरबारमा जानुपर्दैन । यी सबै गराउने माओवादी नै हो भन्ने एजेण्डा बोकेर जनताका जाँदै छौं ।
हामीसँग सामाजिक, आर्थिक र राजनीतिक एजेण्डाहरु धेरै छन् । यी सबै एजेण्डा जनताका हुन् । माओवादी सधैं जनताको साथमा छ । माओवादीले जे निर्णय गरेको छ, सबै निर्णय जनताको साथ लिएर नै गरेको छ । अब जनताले पनि माओवादीलाई साथ दिनेछन् भन्ने विश्वास छ ।
माओवादीले मुलुकमा गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी र उत्पीडितका अधिकारहरु ल्यायो तर, यी सबै परिवर्तन हाम्रा कारणले आएको हो भनेर जनतालाई बुझाउन सकेको छैन । निर्वाचनको क्रममा तपाईहरु परिवर्तनको स्वामित्व हाम्रो भनेर जनतालाई बुझाउन सक्नुहुन्छ ?
मुलुकमा महान जनयुद्ध भयो । जनयुद्धकै जगबाट जनआन्दोलन हुँदै मुलुक संविधानसभामा प्रवेश ग¥यो । विगतमा राजा महाराजाहरुको निगाहबाट मुलुकमा जनताको मुल कानुन संविधान बन्ने गर्दथ्यो । तर, माओवादीकै कारण जनताका छोराछोरीहरु जनप्रतिनिधि भएर पहिलो पटक आफ्नो कानुन आफै बनाउने अवसर प्राप्त गरे ।
कांग्रेस एमालेहरु नक्कली गणतन्त्रवादी हुन् । उनीहरुलाई संघीयता, धर्मनिरपेक्षता, समावेशी केही चाहिएको थिएन । उनीहरुलाई माओवादीले लतार्दै परिवर्तनको एजेण्डामा सहमत गराएको हो । अब कांग्रेस एमालेका स्थानीय तहमा उम्मेदवार बन्नेहरुले पनि गर्वका साथ माओवादीका कारण हामीले यस्तो अवसर पाएका हौं भनेर भन्न सक्नुपर्छ । माओवादी प्रचारमा भन्दा काममा विश्वास गर्ने पार्टी हो । हामीले परिवर्तन त धेरै गरेका छौं । तर, परिवर्तन हाम्रो कारणले भएको भनेर जनतालाई प्रष्ट पार्न सकेका छैनौं ।
हामी यो पटकको निर्वाचनमा जनतालाई प्रष्ट पार्छौं । यी एजेण्डाको जन्मदाता माओवादी भएकाले सबैभन्दा बढी माया पनि माओवादीलाई नै लाग्छ । यी एजेण्डालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्दै मुलुकमा सहभागितामूलक तीव्र आर्थिक विकासका लागि अब नेतृत्वमा माओवादी नै आउन जरुरी छ । कांग्रेस एमालेहरुले यी एजेण्डालाई माया गर्ने छैनन् भनेर आम जनसमुदायले बुझेका छन् । अब महिला, दलित, जनजाति, मधेशी तथा पछाडि पारिएका वर्ग समुदायलाई नेतृत्व तहमा पु¥याउने माओवादी नै हो ।
हामीले जसका लागि लड्यौं ती समुदाय र वर्गका माझमा अहिले कांग्रेस एमालेले भ्रम छरिरहेका छन् । उनीहरुको भ्रमको खेतीलाई सबैले चिर्नुपर्छ । माओवादी बिना यो देशमा परिवर्तन कुनै पनि हालतमा सम्भव थिएन भन्ने कुरा आम जनताले बुझिसकेका छन् । अब माओवादी बिना मुलुकले सही गति प्राप्त गर्न सक्दैन भन्ने कुरा जनताले बुझ्नेछन् । यस पटकका निर्वाचनमा आम जनसमुदायले माओवादीलाई अवश्य सहयोग गर्नेछन् भन्ने हाम्रो विश्वास छ ।
तपाईहरुको बलिदानबाटै मुलुकमा परिवर्तन भयो । जनताले अब के प्राप्तिका लागि तपाईहरुलाई निर्वाचनमा मत हाल्ने ?
जसको नीति उसको नेतृत्व हुन आवश्यक छ । कुनै बच्चाको सबैभन्दा माया उसको जन्म दिने आमालाई हुन्छ । अरुले त माया गरेको अभिनय गर्ने मात्र हो । देशमा आएको परिवर्तनहरु गणतन्त्र, संघीयता, धर्मनिरपक्षता, समावेशी समानुपातिक तथा उत्पीडित वर्गको अधिकार माओवादीले जन्माएको हो ।
यी एजेण्डा कार्यान्वयन पनि माओवादीले मात्र गर्न सक्छ । स्थानीय तहको जन्मदाता माओवादी हो । स्थानीय तहलाई अधिकार सम्पन्न गराउने मुल शक्ति नै माओवादी हो । माओवादीले नेतृत्व लिन सक्यो भने मात्रै ती कुराहरुको दृढतापूर्वक कार्यान्वयन हुन्छ । यस कारणले सबैले माओवादीलाई आफ्ना ठान्नुपर्छ । हामीले पछाडि पारिएका दलित, जनजाति र अन्य उत्पीडित वर्गलाई देशको मुलधारमा ल्यायौं । उनीहरुलाई थप सशक्त पार्नका लागि माओवादी फेरि विजयी हुन जरुरी छ ।
तपाई मन्त्री हुँदा दाङको विकासका लागि निकै पहल गर्नुभयो । दाङको विकासका लागि अब कुन क्षेत्रमा ध्यान दिनुपर्ने देख्नुहुन्छ तपाई ?
दाङ अत्यन्त धेरै सम्भावना बोकेको जिल्ला हो । हामीले दाङमा रणनीतिक हिसाबले विकासका योजना बढाउनुपर्छ । अहिले पश्चिम नेपालमै दाङ केन्द्रविन्दु बनिरहेको छ । दाङको विकासका लागि हामीले सबैभन्दा पहिले यहाँका सडक सञ्जालहरुलाई विस्तार गर्नुपर्छ । यहाँबाट पहाडी जिल्ला जोड्ने सबै सडकको स्तरोन्नति गर्दै कालोपत्रे गर्नुपर्छ ।
त्यसैगरी दाङ–सुर्खेत सडकको स्तरोन्नति गर्न जरुरी छ । हामीले दाङमा सिचाइका लागि दीर्घकालीन गुरुयोजना गराएर काम थाल्नुपर्छ । त्यसैगरी यहाँ रहेको विमानस्थललाई नियमित रुपमा सुचारु गर्नुपर्छ । टरिगाउँ विमानस्थलमा इन्धन डिपो स्थापना गर्न जरुरी छ । त्यसैगरी दाङमा हामीले तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सक्छौं । अहिले भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको छ ।
दाङको आर्थिक विकासको प्रमुख आधार भनेको कृषि हो । त्यसैगरी पर्यटन पनि दाङको आर्थिक विकासको आधार हो । हामीले छिमेकी जिल्ला प्यूठानको स्वर्गद्वारी र लुम्बिनीलाई जोड्न सक्यौं भने दाङको आर्थिक विकास गर्न सक्छौं । दाङमा पनि थुप्रै पर्यटकीय गन्तव्य स्थलहरु रहेका छन् । ती स्थानमा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्नुपर्छ ।
दाङमा अहिले नदी तथा खोलाबाट हजारौं विगाह जग्गा कटान भइरहेको छ । ती जग्गामा तटबन्धन गरेर हामीले व्यवस्थित बस्ती विकास गर्न सक्छौं । यसबाटै हामीले सुकुम्बासी समस्या समाधान गर्न सक्छौं ।
अर्को कुरा अहिले दाङमा खानेपानीको समस्या थपिदै गएको छ । अहिले पानीका मुहानहरु सुक्ने क्रम बढेको छ । हामीले जलाधार संरक्षणका लागि ठोस योजना ल्याउन जरुरी छ । यी विभिन्न पक्षमा ध्यान दिन सकेको खण्डमा दाङको विकास व्यवस्थित ढंगले गर्न सकिन्छ ।
माओवादीले निर्वाचनमा उठ्ने उम्मेदवारहरुका लागि निश्चित मापदण्ड बनाउला । तपाईहरुको उम्मेदवार छनोटको प्रमुख आधार हो ?
हामीले उम्मेदवार छनोटका लागि निश्चित मापदण्ड तयार पारेका छौं । पार्टीभित्र उसको क्रियाशीलता र योगदान प्रमुख आधार हो । त्यसैगरी जनतामाझ लोकप्रिय, जित्न सक्ने उम्मेदवार उठाउने हो । यी सबै मूल्यांकन गरेर तल्लो कमिटीले सिफारिस गर्छ । पार्टीको माथिल्लो कमिटीले उम्मेदवारको छनोट गर्नेछ ।
निर्वाचनमा तालमेलको योजना कस्तो छ ?
हामीले तालमेलको कुरालाई खुला पारेका छौं । स्थानीय आवश्यकताको आधारमा तालमेल गरिनेछ । यसका लागि सम्बन्धित स्थानीय कमिटीहरुले आवश्यकताको आधारमा तालमेलको लागि पहल गर्नेछन् । कुनै निश्चित पार्टीसँग गर्ने वा नगर्ने भनेर हामीले निर्धारण गरेका छैनौं ।
र, अन्त्यमा आम जनतालाई के भन्न चाहनुहुन्छ ?
म आम जनसमुदायलाई विकासको प्रमुख एजेण्डा अब माओवादीसँग मात्रै छ भनेर भन्न चाहन्छु । परिवर्तनको प्रमुख साधक माओवादी भएकाले माओवादीले नेतृत्व गर्न सके मात्र देश सही गतिमा जान सक्छ । माओवादीसँग देश विकासको खाका नै छ । अब जनतालाई कसैले पनि भ्रमित गर्ने प्रयास नगरे हुन्छ । जनतालाई अब पैसा र रक्सीमा किन्ने प्रयास हुन्छ । आम जनसमुदाय अहिले सचेत भइसक्नुभएको छ । अब उनीहरुलाई जनताले गाउँबाट निषेध गर्नुपर्छ ।
०००