दाङ, ९ बैशाख । नेकपा (माओवादी केन्द्र) घोराही उपमहानगरपालिकाले उम्मेदवार घोषणा तथा प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । घोराहीमा आयोजित कार्यक्रममा नेकपा (माओवादी) केन्द्रका सचिवालय सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले पार्टी केन्द्रले तयार गरेको प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।
घोषणा सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि रेखा शर्माले स्थानीय तह पहिलेको गाविस र नगरपालिकाको जनप्रतिनिधिहरुको चुनाव नभई स्थानीय सरकारकै निर्वाचन भएको बताउनुभयो । स्थानीय तहको जन्मदाता माओवादी भएको भन्दै नेता शर्माले स्थानीय तहको वास्तविक कार्यान्वयन र नेतृत्व पनि माओवादीले मात्रै गर्न सक्ने बताउनुभयो ।
वर्षौंदेखि कांग्रेस एमाले सत्तामा बसेर पनि जिल्लाको विकासमा कुनै काम गर्न नसकेको दावी गर्दै नेता शर्माले माओवादी शान्तिप्रक्रियामा आएयताका १० वर्षभित्र दाङमा उल्लेख्य विकास भएको बताउनुभयो । जिल्लाको विकासका लागि कसले कति काम ग¥यो, त्यसको उचित हिसाब गरेर विकास गर्नेहरुलाई जिताउन पनि उहाँले मतदाताहरुलाई अपील गर्नुभयो ।
कार्यक्रममा पार्टीको तर्फबाट घोराही उपमहानगरपालिकाको मेयरका उम्मेदवार तथा जिल्ला इन्चार्ज जीवन गौतमले स्थानीय सरकारको वास्तविक अनुभूति गराउनका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभयो । घोराहीलाई केन्द्रविन्दु बनाएर प्रदेशको राजधानी दाङ बनाउन आफू प्रतिबद्ध रहेको बताउँदै गौतमले समृद्ध उपमहानगरको खाका आफूसँग रहेको दावी गर्नुभयो । उहाँले केही दिनभित्रै घोराही उपमहानगरको विकासका लागि आफ्नो प्रतिबद्धता पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने पनि जानकारी दिनुभयो । हेर्नुस् सम्बोधनको पूर्ण पाठ
नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा घोराही उपमहानगरपालिकाका चुनाव परिचालन समितिका संयोजक हेमराज शर्मा ‘डायमण्ड’को अध्यक्षमा भएको कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य भीमकुमारी बाँठा ‘निसाना’, महाधिवेशन आयोजक समिति सदस्य खिमबहादुर चौधरी ‘अटल’लगायतले बोल्नुभएको थियो ।
घोराही उपमहानगरका अध्यक्ष विश्वराज आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा उपमहानगरका उपाध्यक्ष प्रमोद शर्माले स्वागत गर्नुभएको थियो भने बीच–बीचमा रक्तबीज साँस्कृतिक परिवारले सांगीतिक प्रस्तुतिहरु देखाएको थियो ।
उम्मेदवारहरु घोषणा
यसैबीच घोषणा सभामा नेकपा –माओवादी केन्द्र)ले तुलसीपुर उपमहानगर र राजपुर गाउँपालिका बाहेक अरु सबै ठाउँका उम्मेदवारहरु सार्वजनिक गरेको छ ।
जसअनुसार घोराही उपमहानगरपालिकाको मेयरको उम्मेदवार पार्टीका जिल्ला इन्चार्ज जीवन गौतम, लमही नगरपालिकाको मेयरमा द्रोपदा पौडेल र उपमेयरमा कालुराम चौधरी, राप्ती गाउँपालिका अध्यक्षमा श्यामेश चौधरी र उपाध्यक्षमा भगवता अधिकारी, शान्तिनगर गाउँपालिका अध्यक्षमा नेवबहादुर रोका र उपाध्यक्षमा राधिका परियार रहनुभएको छ ।
त्यस्तै, बबई गाउँपालिका अध्यक्षको उम्मेदवारमा सुशील खड्का क्षेत्री र उपाध्यक्षमा उर्मिला ओली, बंगलाचुली गाउँपालिका अध्यक्षमा भक्तबहादुर ओली र उपाध्यक्षमा यमुना घर्ती, गढवा गाउँपालिका अध्यक्षमा लुमाकान्त न्यौपाने, दंगीशरण गाउँपालिका अध्यक्षमा हिरालाल चौधरी रहेको माओवादी केन्द्र दाङका सहइन्चार्ज हेमराज शर्मा डायमण्डले जानकारी दिनुभयो । टुङ्गो लाग्न बाँकी ठाउँमा पनि एक–दुई दिनभित्रै निर्णय गरिने उहाँले बताउनुभयो ।