व्यवसायीहरुको एकता अहिलेको आवश्यकता हो

  
  प्रकाशित मितिः बिहिबार, साउन ५, २०७४       | 220 Views   ||

हेमराज बञ्जाडे
अध्यक्ष, दाङ जिल्ला उद्योग वाणिज्य संघ

दाङ जिल्ला उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन साउन २८ का लागि तय भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयन भएसँगै दाङ जिल्ला उद्योगा वाणिज्य संघमा पनि सर्वसम्मत नेतृत्वको चर्चा चलेको छ । संघका अध्यक्ष हेमराज बञ्जाडेले सर्वसम्मत नेतृत्व चयनका लागि आफूले पहल गर्ने बताउनुहुन्छ । बञ्जाडेसँग अधिवेशन र उवासंघको गतिविधिका विषयमा केन्द्रित भएर नौलो जनउभारका सह–सम्पादक पाण्डव शर्माले गरेको कुराकानी । –सम्पादक

दाङ जिल्ला उद्योग वाणिज्य संघको अधिवेशनको तयारी कस्तो छ ?

हामीले यही साउन २८ गते साधारण तथा अधिवेशन गर्दैछौं । हामी अहिले आन्तरिक तयारीमा छौं । समयमै अधिवेशन सम्पन्न हुन्छ । आम व्यवसायीहरुको बीचबाट साझा नेतृत्व चयन हुन्छ ।

नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास भएको छ कि ?

हो, हामी यसपटक सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्नेछौं । अहिले तुलसीपुर उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयन भएको छ । व्यावसायिक क्षेत्रमा सहमतिको नेतृत्व कायम गर्दा राम्रो हुन्छ । हामी सबै एकताबद्ध भएर अघि बढ्नुपर्छ । यदि सर्वसम्मतको प्रयास सम्भव भएन भने पनि निर्वाचनको माध्यमबाट नेतृत्व चयन हुन्छ । यहाँ आएर कसैलाई व्यक्तिगत रुपमा फाइदा हुने होइन । यहाँ नेतृत्वमा आउनु भनेको सेवा भावका साथ हो ।

तपाई अध्यक्ष भइसकेपछि सभागृह र औद्योगिक क्षेत्रको विषयलाई मुख्य प्राथमिकतामा राख्नुभएको थियो । तीन वर्षको बीचमा खासै उपलब्धि देखिएन त ?

उद्योग वाणिज्य संघको अध्यक्ष भएदेखि सबैभन्दा पहिलो एजेण्डाको रुपमा औद्योगिक करिडोर र विशेष आर्थिक क्षेत्रका लागि पहल गरिएको थियो । हामीले यस बीचमा सम्भाव्यता अध्ययनको काम गरेका छौं । केही दिन भित्र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको प्राविधिक टोली सर्वेका लागि आउँदै छ । अब निर्माण प्रक्रिया शुरु हुन्छ । हामीले यसका लागि आवश्यक पर्ने सबै जग्गाको व्यवस्था गरिसकेका छौं । सरकारी स्वामित्वको जग्गा भएकाले मन्त्रिपरिषद्बाट जग्गा प्राप्तिका लागि निर्णय गर्नुपर्छ ।

तत्कालीन उद्योगमन्त्री महेश बस्नेतसहित वर्तमान सभामुख र अर्थमन्त्रीले पनि हामीले प्रस्ताव गरेको स्थानको अवलोकन गरिसक्नुभएको छ । उहाँहरु सबै सकारात्मक हुनुहुन्छ । तर, छोटो समयमा हुने सरकार परिवर्तनले यसका केही अप्ठ्यारो परेको छ ।

हामीलाई विश्वास छ- अब केही समयभित्र हामीले औद्योगिक करिडोर र औद्योगिक क्षेत्रको काम सक्ने छौं । औद्योगिक क्षेत्र नभएकै कारण दाङमा जथाभाबी उद्योगधन्दा खुल्ने क्रम बढेको छ । यसले खेतीयोग्य जमिनको नास भइरहेको छ । उद्योगधन्दा स्थापना गर्दा निजी क्षेत्रलाई पनि लगानी बढेको छ । यदि औद्योगिक क्षेत्र स्थापना भएको खण्डमा राज्यले आधारभूत पूर्वाधारमा लगानी गर्नेछ । २४ सै घण्टा बिजुलीको व्यवस्था हुनेछ ।

सभागृहको काम के भइरहेको छ ?

सभागृह निर्माणका लागि सम्झौता भइसकेको छ । अब निर्माणको काम शुरु हुन्छ । हाम्रो कार्यकाल प्रक्रियामा बढी समय बित्यो । अब निर्माणको काम शुरु हुन्छ । दाङमा सभागृह निर्माणका लागि यस क्षेत्रका अन्य सरोकारवाला निकायहरुले पनि सहयोग गर्नु हुनेछ भन्ने अपेक्षा गरिएको छ । हामीले यस क्षेत्रबाट केन्द्रमा प्रतिनिधित्व गर्नुहुने सबै राजनीतिक दलका नेतागणहरुसँग पनि सहयोगको अपेक्षा गरेका छौं ।

पाँच नम्बर प्रदेशको राजधानी दाङमा प्रस्ताव गरिएको छ । दाङमा राजधानी बन्न के छ आधार ?

दाङमा प्रादेशिक राजधानी बन्नका लागि धेरै आधारहरु छन् । सबैभन्दा महत्वपूर्ण दाङमा प्रादेशिक राजधानीका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्न जमिन थुप्रै छ । सरकारी स्वामित्वमा रहेका गुठी संस्थानहरुको हजारौं बिघा जग्गा दाङमा छ । यसले गर्दा सरकारले मुआब्जामा धेरै लगानी गर्नुपर्दैन । दाङ वातावरणीय हिसाबले निकै उपर्युक्त जिल्ला हो । यहाँ ३ सय ६५ दिन नै हवाई उडान गर्न सकिन्छ । दाङमा बाक्लो हुस्सु र कुहिरो कहिल्यै पनि लाग्दैन । यसकारणले गर्दा दाङ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्न सजिलो हुन्छ । मौसम सधैं सफा हुने र तापक्रम पनि त्यति उच्च र न्यून नहुने भएकाले यहाँ राजधानी बनाउन सकिन्छ भन्ने हाम्रो तर्क हो ।

अन्य जिल्लाहरुको प्रस्ताव आएको छ । दाङ नै किन उपर्युक्त छ ?

प्रस्तावित पाँच नम्बर प्रदेशमा पूर्व नवलपरासीदेखि पश्चिम बर्दियासम्मको भुगोलको अध्ययन गर्ने हो भने दाङ मध्यभागमा पर्छ । यो प्रदेशका सबै जनतालाई दाङ पायक पर्छ । अर्को कुरा दाङमा दुई वटा उपत्यका रहेका छन् । देउखुरी उपत्यका र दाङ उपत्यका । दाङ उपत्यका प्रत्यक्ष भारतको सिमासँग जोडिदैन । भारत जानको लागि देउखुरी उपत्यका भएर जानुपर्छ । रणनैतिक सुरक्षाको दृष्टिले पनि दाङ राजधानी बन्न उपर्युक्त छ ।

पछिल्लो समय दाङमा उद्योगधन्दा धमाधम खुलिरहेका छन् । दाङमा औद्योगिक करिडोर र विशेष आर्थिक क्षेत्र बनाउन प्रशस्त जमिन छ । राजधानी बन्नका लागि आवश्यक पर्ने सबै कुराहरु दाङमा छ । अन्य जिल्लाबाट प्रस्ताव आउनुलाई हामीले त्यति नकारात्मक रुपमा बुझ्नु हुँदैन । उहाँहरुले आफ्नो ठाउँमा हुनुपर्छ भन्नु स्वभाविक होला । तर, हामीले सबैलाई पायक पर्ने र उपर्युक्त ठाउँमा बनाउनुपर्छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले विगतदेखि नै प्रादेशिक राजधानी दाङमा हुनुपर्छ भनेर पहल गरिरहेको छ । यो सम्भव छ । तर, हामीले निरन्तर प्रयत्न भने गरिरहनुपर्छ । उद्योग वाणिज्य संघले पहल गरेर मात्र पुग्दैन । यहाँ रहेका सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा अन्य सरोकारवाला निकायहरुले साझा रुपमा प्रयत्न गर्नुपर्छ ।

दाङमा ठूला लगानीका उद्योगहरु खुलिरहेका छन् । दाङमा लगानी कर्ताको आकर्षण किन बढेको होला ?

दाङमा लगानीका आधारहरु प्रशस्त छन् । यहाँको समथर भूमि, उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ र पश्चिम तथा पूर्वका लागि बजार विस्तार गर्न सजिलो हुने भएकाले लगानीकर्ताहरु आकर्षित भएका हुन् । दाङमा मजदूरहरुको पनि कुनै समस्या छैन । अन्यत्रको तुलनामा मजदूरहरुले सस्तो दरमा काम गर्ने भएकाले पनि लगानीकर्ताहरु थप उत्साहित भएका हुन् ।

सामान निकासी र पैठारीका लागि पनि दाङमा सजिलो छ । लमही–कोइलाबास सडक कालोपत्रे हुन थालेको छ । कुनै समय कोइलाबास नेपालकै दोस्रो ठूलो भन्सार दाङको हो । द्वन्द्वकालपछि यो बिस्तारै न्यून हुँदै गयो । हामीले यसलाई नियमित सञ्चालन गर्न सक्यौं भने लगानीकर्ताहरुलाई थप सहयोग पुग्छ । दाङको सदरमुकाम घोराही बजारदेखि भारतको तुलसीपुर बजारसम्म पुग्न करिब ५५ किलोमिटर पर्छ । यसले गर्दा हामीले दुई देशबीच व्यापार गर्न पनि सजिलो हुन्छ ।

र, अन्त्यमा आम व्यवसायीहरुलाई के भन्न चाहनुहुन्छ ?

म सबैभन्दा पहिले आम व्यवसायी साथीहरुलाई एकतावद्ध भएर लाग्न आग्रह गर्दछु । व्यवसायीहरुको समस्या समाधानका लागि सबै व्यवसायीहरु एक हुनैपर्छ । हामीबीच एकता हुन सकेन भने हाम्रा समस्याहरु समाधान हुन सक्दैनन् । हामी एक भएको खण्डमा समाजका लागि केही सकारात्मक काम गर्न सक्छौं । राज्य र आम नागरिकले व्यवसायीहरुबाट ठूलो अपेक्षा गरेका छौं ।

हामीले व्यक्तिगत रुपमा आफ्नो व्यवसाय सफल बनाएर मात्र पुग्दैन । आफ्नो व्यवसायका साथसाथै समाज र राष्ट्रका लागि केही दिन सक्नुपर्छ । आम नागरिकहरुले पनि व्यवसायीहरुले अघि सारेका सकारात्मक योजनाहरु सफल बनाउन सहयोग गर्नुपर्छ । सभागृह, औद्योगिक क्षेत्रजस्ता ठूला योजनाले व्यवसायीहरुलाई मात्र फाइदा गर्दैन । यसले आम दाङबासीलाई फाइदा गर्ने भएकाले सबै मिलेर अघि बढ्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *