ढिलो वर्षाको असर : ३० प्रतिशत मात्र धान रोपियो

  
  प्रकाशित मितिः बिहिबार, साउन ५, २०७४       | 458 Views   ||

पाण्डव शर्मा

घोराही । समयमा पानी नपर्दा यस वर्ष दाङमा धान रोपाई घटेको छ । गत वर्ष असार मसान्तसम्म करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाई भए पनि यस वर्ष ३० प्रतिशत क्षेत्रमा मात्र धान रोपाई भएको छ ।

समयमा धान रोपाई नहुँदा यस वर्ष धान उत्पादन घट्ने निश्चित भएको कार्यालयका कृषि प्रसार अधिकृत भरतमणि पौडेलले जानकारी दिए । गत वर्ष दाङमा एक लाख ४९ हजार ६ सय ५० मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष भने धान उत्पादन घट्ने पौडेलले जानकारी दिए ।

दाङमा कुल ३६ हजार ५ सय आठ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने खेतमध्ये १९ हजार ६ सय ५१ हेक्टर क्षेत्रफलमा कुलोबाट सिचाई हुन्छ । अन्य खेत भने आकाशे पानीको भरमा चल्ने गरेको छ ।

यस वर्ष वर्षात अपेक्षाकृत रुपमा नहुँदा कुलोमा समेत पानी कम भएको पौडेलले जानकारी दिए । ढिलो वर्ष हुँदा व्याड छिप्पिने भएकाले उत्पादन घट्ने कार्यालयले जनाएको छ । करिब ३५ दिनमा व्याड रोप्न योग्य हुने भए पनि ढिलो वर्षात हुँदा अहिले धेरै किसानहरुको व्याड ४५ दिनसम्म पुगिसकेको छ । छिप्पिएको व्याडबाट राम्रो उत्पादन हुन नसक्ने पौडेलले जानकारी दिए । विगतका वर्षहरुको तुलनामा गत वर्ष वर्षात राम्रो भएकाले उत्पादन पनि बढेको उनले बताए ।

खेतीयोग्य जमिन घट्यो

दाङमा खेतीयोग्य जमिन मासिदै गएको छ । पछिल्लो पाँच वर्षमा मात्रै दुई हजार हेक्टर खेतीयोग्य जमिन नासिएको जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार २०६९÷७० मा दाङमा ३८ हजार ५ सय १० हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । तर, पछिल्लो वर्ष ३६ हजार ५ सय ८ हेक्टर क्षेत्रफलमा मात्र धान खेती भएको थियो ।

खेतीयोग्य जग्गामा प्लटिङ र बस्ती विकासका कारण यस्तो समस्या उत्पन्न भएको कार्यालयका कृषि प्रसार अधिकृत भरतमणि पौडेलले जानकारी दिए । उनका अनुसार यही कारणले गर्दा धान उत्पादनसमेत निकै घटेको छ ।

आव २०६९/७० मा एक लाख ५६ हजार ९ सय १९ मेट्रिक टन धान उत्पादन भएको थियो । तर, पछिल्लो वर्ष एक लाख ४७ हजार ६ सय ५० मेट्रिक टन धान उत्पादन भएको छ । कार्यालयको तथ्यांक अनुसार नौ हजार मेट्रिक टन धान उत्पादन घटेको देखाउँछ ।

सरकारले उत्पादन नहुने ठाउँमा बस्ती र शहर बसाल्नुपर्ने पौडेल बताउँछन् । स्थानीय निकायमा जनप्रतिनिधिहरु नहुँदा जथाभावी जग्गा प्लटिङ भए पनि अब भने व्यवस्थित हुने उनले बताए । सरकारले कृषियोग्य जमिन छुट्याएर त्यहाँ बस्ती विकास र जग्गा प्लटिङ रोक्नुपर्ने पौडेलले बताए । उत्पादन नहुने स्थानहरुको खोजी गरेर शहरीकरण गनुपर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *