अतुलनीयहरुबीच तुलना किन ?

  
  प्रकाशित मितिः बिहिबार, साउन ५, २०७४       | 923 Views   ||

जीतबहादुर शाह

हामी अधिकांश शिक्षक र अभिभावकले बालबालिकालाई सिकाइको वातावरण आरम्भ गर्दा यसरी सहजीकरण गर्दा रहेछौंं– ‘छिमेकीको छोरीको त कति राम्रो अक्षर है, तिम्रो त अक्षर पनि कति नराम्रो ।’

‘परीक्षामा तिमीलाई त बहिनीले जितिछ नि, तिमीलाई लाज लागेन ?’

‘कक्षामा तिमी त लास्टतिरको श्रेणीमा पर्दा रहेछौ । कक्षामा भएका तीस जनामध्ये तिमीलाई त बीस जना भन्दा बढीले जित्ने रहेछन् । यस्तो हुँदा पनि तिमीलाई केही मतलब छैन है ।’

‘तिम्रै कक्षामा पढ्ने मदनले जतिबेला पनि मन लगाएर पढेको देखिन्छ । तिमीलाई भने जति भने पनि पढ्न भनेपछि मर्न भनेझैं हुन्छ है ।’

उल्लिखित कुराहरुको अतिरिक्त हामी उनीहरुलाई तिमी त आइन्स्टाइनजस्तै हुनुपर्दछ, महात्मा गान्धीजस्तै हुनुपर्दछ, बुद्धजस्तै हुनुपर्दछ, सेक्सपियरजस्तै हुनुपर्दछ, मदर टेरेसाजस्तै हुनुपर्दछ, बिल गेट्सजस्तै हुनुपर्दछ, विवेकानन्द जस्तै हुनुपर्दछ आदिआदि भनेर सहजीकरण गर्दछौं । यतिमात्र नभएर आफ्नै देशका लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिरेजस्तै हुनुपर्दछ, पुष्पलाल र विपीजस्तै हुनुपर्दछ, नारायण गोपाल र राजेश हमालजस्तै हुनुपर्दछ, आदि आदि भनेर पनि बालबालिकाहरुलाई सहजीकरण गर्दछौं ।

कुरोको चुरो बुझ्दै जाँदा हामीले लामो समयदेखि बालबालिकालाई गर्दै आएको यस प्रकारको सहजीकरण वाहियात रहेछ । हाम्रो सहजीकरणले बालबालिकाहरुलाई पीडा र दर्द थप्नेबाहेक अरु नहुँदो रहेछ । हामीले चाहेजस्तै साँच्ची हाम्रा बालबालिकाहरु हुबहु हामीले भनेको फलानो जस्तो हुन पनि नसक्दा रहेछन् । विश्वमा अहिलेसम्म कुनै पनि व्यक्ति अर्को कुनै व्यक्तिजस्तो हुन सकेकै रहेनछन् । मान्छेले जति मेहनत र प्रयत्न गरे पनि उ आफूजस्तै बाहेक अरु जस्तो हुन नसक्दो रहेछ ।

हामीले जब एक–अर्कालाई तुलना गर्दै शिक्षा दिने गर्छौं, यसले सिकारुमा एक प्रकारको अनावश्यक तनाव सिर्जना गर्दछ । उसले हामीले भनेझैं अर्को व्यक्ति जस्तो हुन चाहन्छ । यसका लागि उसले उ आफूभित्र जस्तो भए पनि त्यसलाई लुकाएर अर्को जस्तो हुनका लागि मुकुण्डो धारण गर्न थाल्छ र सोही अनुसारको नक्कल एवम् अभिनय गर्न थाल्छ । जे जस्तो मेहनत र कसरत गरे पनि अन्ततः उ अर्को जस्तो हुन सक्दैन । बरु अर्को जस्तो हुने क्रममा आफूजस्तो हुनका लागि आफूभित्र रहेका क्षमताहरुको विकासका विरुद्धमा अनावश्यक तनाव र अवरोधको सिर्जना हुने गर्दछ । यसले गर्दा व्यक्तिले आफूभित्र रहेका क्षमताहरुको अधिकतम विकास गरी न आफूजस्तो हुन सक्छ न त हामीले भनेझैं अरु जस्तो हुनसक्छ । हाम्रै अर्ति उपदेश र शिक्षाका कारणले कतिपय मानिसहरु आफूभित्र क्षमता भएर पनि क्षमता नभएकाजस्ता भएर अन्ततः घर न घाटको जीवन बिताउँदा रहेछन् ।

तुलना गर्ने हाम्रो पद्धतिले कक्षामा एकजना विद्यार्थी प्रथम हुन्छ भने अरु विद्यार्थी पराजित हुन्छन् । मानौं त्यो कक्षामा तीस जना विद्यार्थीहरु छन् भने उनन्तीस जना विद्यार्थीहरुले पराजयको कष्ट भोग्छन् । यो पराजयले उनीहरुभित्र क्रोधको उत्पादन गर्दछ । एउटा विद्यार्थीले आफूभन्दा माथि हुने सबैप्रति रोष प्रकट गर्दछ । बाहिर हेर्दा कक्षाको सहपाठी भए पनि अन्तरहृदयमा सह–दुश्मन भएर बसिरहेको हुन्छ । भित्र–भित्र कसरी पछार्ने भन्ने तानाबाना एकले अर्काका विरुद्धमा बुनिरहेका हुन्छन् । यसरी सिकाइ र शिक्षाको आरम्भ सँगसँगै हामी हाम्रा विद्यार्थीहरु भित्र एक–अर्काका विरुद्ध वैमनष्यता, असहिष्णुता, विद्वेष, आक्रोश, षडयन्त्रको विकास गर्न उद्यत गरिरहेका हुन्छौं ।

जबकि गर्नुपर्ने हो– सहिष्णुता, आत्मीयता, मित्रता र समझदारीको विकास । तुलना गर्ने शैक्षिक पद्धतिले यति मात्र नभई कतिपयमा निरासा र कुण्ठासमेत उत्पन्न गराउँदछ र उनीहरु क्रमशः सक्षम भएर पनि असक्षममा रुपान्तरण हुदै जान्छन् । भन्ने एउटा र गर्ने अर्को, हाम्रो यही व्यवहारका कारणले पनि हाम्रा उत्पादनहरु अपेक्षा गरेअनुरुप हुन सक्दा रहेनछन् । त्यत्तिमात्र होइन कतिपय त सोचेभन्दा ठीक विपरित पनि उत्पादन हुँदा रहेछन् ।

हामीले सिर्जना गरेको तुलना गर्ने पद्धतिबाट उत्पन्न परिणामलाई व्यङ्ग्य गर्दै जर्ज बनार्ड शा भन्छन्– ‘मलाई नर्क जानका लागि पनि स्वीकार छ तर त्यहाँ पनि म नम्बर एक हुनुपर्छ । अर्थात् स्वर्गमा गएर नम्बर एक नभई दोश्रो हुने हो भने मलाई स्वर्गको दोश्रो नम्बरभन्दा नर्कको पहिलो नम्बर स्वीकार्य छ ।’

यो व्यङ्ग्य मात्र नभई हाम्रो समाजको वास्तविकता पनि हो कि यहाँ हरेक मानिस नम्बर एक अर्थात् अद्वितीय भएर प्राकृतिक रुपमा उत्पादन हुने गर्दछ । यहाँ हरेक मानिसले आफूलाई अनुपम र अतुलनीय रुपमा प्रस्तुत गरिरहेको हुन्छ । तथापि हाम्रा दृष्टिकोण र नजरहरुले उनीहरुलाई जस्तो छ त्यस्तो रुपमा हेर्न एवम् व्याख्या विश्लेषण गर्न नसकी आफूले लगाएका चश्माको आधारमा व्याख्या विश्लेषण गर्न थाल्छौंं । हामीले लगाएको दृष्टिकोणरुपी चश्माको आधारमा गरिने व्याख्या र नापोको दायरा सीमित हुन्छ । यसले मानिसहरुसँग भएको विविध क्षमता र सम्भावनालाई पहिचान गरेर नाप्न सक्दैन । त्यसैले हाम्रो चश्माले ठहर गर्न र नाप्न नसक्ने कतिपय फरक क्षमताका व्यक्तिहरु नालायकमा गणना भइरहेका हुन्छन् । विशेष क्षमतामा प्रथम हुनसक्ने मानिसहरु हाम्रा मापन केन्द्रमा आउँदा प्रथम नभएर तल परिरहेका छन् किनभने त्यो क्षमताको मापन हाम्रो मापन केन्द्रमा हुँदैन ।

हाम्रो मापन केन्द्रलाई हामीले यति शक्तिशाली ठहर गरेका छौं कि यसले गर्न नसक्ने व्याख्या र नाप्न नसक्ने क्षमता केही पनि छैन मानौं कि यो विश्वकै सक्षम र चीरपरिचित बहमुखी र बहुआयामिक विश्वविद्यालय हो । तथापि यो सरासर झुट हो । विद्यार्थीको क्षमता मापन गर्न भनेर जिम्मा लिएर बसेका हामीहरुले विद्यार्थीहरुमा जुन क्षमता छ, त्यो मापन गर्न सक्नुपर्नेमा सकिरहेका छैनौं । यसलाई हामीले स्वीकार गर्नुपर्दछ र तदनुरुप आफूलाई बदल्न सक्नुपर्दछ । कि त भने जसरी कुनै कलेजमा कुनै विषय अध्ययन गर्नका लागि भर्ना हुन गएको विद्यार्थीलाई त्यहाँ त्यो विषय अध्ययन नहुने अवस्थामा यहाँ अध्ययन हुँदैन भनेर अर्को कलेजमा पठाउने गरिन्छ त्यो नैतिकता र इमान्दारिता हामीमा हुनु आवश्यक छ । मापन गर्ने क्षमता पनि नहुने र क्षमता नभएको महसुस र स्वीकार पनि नगर्ने हो भने हामीलाई विद्यार्थीको मापन गर्ने अधिकार पनि हुनु हुँदैन भन्ने लाग्छ । अर्थात् यस्तो अवस्थामा मापनको अधिकार लिनु भनेको जहाज चलाउने सीप र क्षमता नभएर पनि ककपीटमा बसेर पाइलट हुन खोज्नुजस्तै हो भन्दा अन्यथा हुँदैन ।

हाम्रो तुलना गर्ने एवम् मापन गर्ने प्रणालीले विविधताको सम्बोधन र मापन गर्न सकिरहेको छैन । हाम्रो मूल्याङ्कन प्रणालीले बगैंचामा फुलेका हरेक थरिका फूलहरुलाई सम्बोधन गर्न नसकी कुनै विशेष प्रकारको फूललाई मात्र सम्बोधन गरिरहेको छ । गुलाबलाई बेञ्चमार्क बनाएर सयपत्रीको मापन गर्ने हो भने सयपत्री त असफल हुन्छ नै । त्यस्तै सयपत्रीलाई बेञ्चमार्क बनाएर गुलाबको मूल्याङ्कन गर्ने हो भने गुलाब पनि असफल हुन्छ । अतः गुलाबको मूल्याङ्कन गर्नका लागि गुलाबकै आधारमा बेञ्चमार्क बनाउनु पर्दछ न कि सयपत्रीको । तथापि हाम्रो शिक्षण सिकाइ पद्धति र समग्र पाठ्यक्रमले विविध प्रतिभा र क्षमताहरुलाई सम्बोधन गर्न नसकिरहेको स्थिति छ । हाम्रो पाठ्यक्रमले सामान्य विद्यार्थीहरुको मापन र मूल्याङ्कन गर्न सक्छ । यसले असाधारण र विलक्षण प्रतिभाहरुको मूल्याङ्कन गर्न सक्दैन र सक्दैन पनि भन्दैन । बरु मूल्याङ्कनबाट कि त तिनीहरुको क्षमतालाई निषेध गर्दछ कि त भने असफल घोषणा गर्दछ । हाम्रो पाठ्यक्रमले कुनै विद्यार्थी पन्ध्र वर्ष नभई एसएलसी दिन सक्दैन भन्छ तथापि विलक्षण प्रतिभाका विद्यार्थीहरु पन्ध्र वर्षको उमेरमा स्नातक तहको क्षमता राख्दछन् । यो कुरा हाम्रो पाठ्यक्रमले बुझ्दैन । सिकाइको क्षेत्रमा यो एउटा ठूलो विडम्बना र दुर्भाग्य हो ।

हामीले बुझ्नु जरुरी छ कि सोह्र वर्ष नपुगेको मानिस पनि देशको असल नागरिक हुन सक्छ बरु सोह्र वर्ष नाघेको मानिस यो देशको अभिशाप हुन सक्छ । अठार वर्ष नपुगेकोले पनि गाडी राम्रोसँग चलाउन सक्छ बरु अठार वर्ष नाघेकोेले गाडी चलाउँदा दुर्घटना भएका हजारौं दृष्टान्त छन् । पच्चीस वर्ष नपुगेको मानिसले पनि यो देशको नेतृत्व गर्न सक्छ बरु पच्चीस वर्ष पुगेकाहरुले गरेको नेतृत्वले देश डुबेका प्रशस्त उदाहरणहरु छन् ।

भन्नुको मतलब यो हो कि हामीसँग विशेष र विलक्षण क्षमताहरुको मापन गर्नका लागि मापन प्रणाली नै छैन भन्दा हुन्छ । एउटा असल मूर्तिकारले हरेक पत्थरमा मूर्तिको आकृति देख्छ । एउटा असल चित्रकारले हरेक रङमा एउटा असल चित्र बन्ने क्षमता देख्छ । बिडम्बना– एउटा बालकमा असल मानिस बन्ने क्षमता देख्ने हाम्रा सद्दे आँखाहरु भएनन्, हाम्रा सद्दे मनहरु भएनन् र भएनन् सद्दे पाठ्यक्रम र मूल्याङ्कन प्रणालीहरु । त्यसैले पनि मिल्काइने गर्दछन् हिरामोतीहरु पनि रछ्यानमा र उठाइन्छन् कतिपय कुहिएका कुकाठहरु पनि उत्कृष्टताको मचानमा ।

स्थिति यस्तै भएर पनि होला डा. अब्दुल कलामले कक्षाकोठाका लास्ट बेन्चमा पनि देशका असल नागरिकहरु भेटिन्छन् भनेका छन् । स्थिति यस्तै भएर पनि होला– विद्यालय र विश्वविद्यालयबाट असफल बनाइएकाहरुले पनि विश्वविद्यालयको सफलताका लागि मनग्य खुराक र स्रोतसामग्री दिन भ्याएका छन् ।

अन्तमा, मेरो आग्रह– पानी लिनका लागि लोटा लिएर समुद्रमा जाने तर पानी धेरै ल्याउन सकिएन भनेर समुद्रलाई दोष दिने प्रथालाई विद्यार्थीहरुको मूल्याङ्कन प्रणालीबाट अन्त्य गर्नुको विकल्प देखिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *