महासंघले जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने

  
  प्रकाशित मितिः बुधबार, साउन ११, २०७४       | 151 Views   ||

जनउभार समाचारदाता

दाङ, ११ साउन । स्वच्छ, समृद्ध प्रादेशिक राजधानी दाङका लागि नेपाल पत्रकार महासंघ दाङ शाखाले जिल्लाका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ । जिल्लाका १० वटै तहका नवनिर्वाचित जनप्रतिनिधिहरुसँग अन्तरक्रियात्मक कार्यक्रम गर्ने निर्णय गरिएको महासंघले जनाएको हो ।

यही साउन १५ गते ‘स्वच्छ, समृद्ध प्रादेशिक राजधानी दाङका लागि जनप्रतिनिधि र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको बैठकपछि सचिव भुपेन्द्र ओलीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बैठकले अनलाइन पत्रकारिता, त्यसको सञ्चालन, आचारसंहिता पालनालगायतका विषयमा जिल्लाबाट सञ्चालित अनलाइन सञ्चालक तथा सम्बन्धित पत्रकार तथा व्यवस्थापकहरुका लागि अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय गरेको छ ।

त्यस्तै यही साउन २४ गते नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदीप शर्मा र महासंघका शुभेच्छुक हरिप्रसाद रिजाल, गणेशप्रसाद रिजाल, अर्जुन रिजाल र राधा रिजालले आफ्नी आमा/हजुरआमाको नाममा पत्रकार दाङ शाखामा स्थापना गर्नुभएको लोककुमारी स्मृति प्रतिभा पुरस्कार प्रदान गर्ने तथा लोककुमारी रिजालको स्मृति दिवस मनाउने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै, उक्त पुरस्कारको लागि प्रतिभा छनौट गर्न अध्यक्ष सविन प्रियासनको संयोजकत्वमा पूर्वअध्यक्ष सुशील गौतम र सल्लाहकार सुदीप गौतम सदस्य रहेको पुरस्कार छनौट समिति गठन गरिएको जनाइएको छ ।

पत्रकार शर्मालाई राहत प्रदान

यसैबीच सवारी दुर्घटनामा परी घाइते हुनुभएका नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य एबीसी टेलिभिजनका राप्ती ब्यूरो प्रमुख धनिराम शर्मालाई राहतस्वरुप पाँच हजार प्रदान गरिएको छ । महासंघका अध्यक्ष सविन प्रियासनले उक्त रकम शर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *