स्वर्गद्वारीको प्रसाद चुत्रोका दाना

  
  प्रकाशित मितिः बुधबार, साउन ११, २०७४       | 366 Views   ||

– गणेश शाह

२०७१ जेठ २५ गते छोरा युरोप र उनका साढुदाइले आ–आफ्ना पोथीहरूका साथ स्वर्गद्वारी दर्शनको चाँजोपाँजो मिलाएका रहेछन् । दिउँसोको आँधी हुरीसँगको बर्षाले चुटे पनि राति साढे नौ बजेतिर सहीसलामत घर फर्किएका थिए । बिहान सानी नातिनी र बुहारीले स्वर्गद्वारी आश्रम अखण्डधुनीको विभूतिका साथ कालै पाकेका चुत्रोका झुप्पाभरि प्रसादको थाली मेरो हातमा राखिदिइन् । जसलाई देख्नेबित्तिकै मेरो किशोरावस्था, मेरी मुमाको अनुहार र मेरो जन्मघरको वारिपारिको परिदृश्य मेरो मनका आँखा अगाडि फैलियो । अलि–अलि काँडा र पात भए पनि मेरा लागि ती मखमली फूलसरह भए ।

म जन्मिएको घर पेदीपाखो वरपरको खोलो खोल्सो, चुत्रेनी पाखो, धाइरेनी ढिस्को, रुमगाडका माछा, बाङ्गेदुवालीका गाँडागडेला, चैतेबाँको, पिरालुबारीका ढीकमा पहेंलै पाकेका ऐसेलु, तुथो, किमु, अन्तराखोलाका घुयँला, कालीडिम्मुर, मछाइनोे लगायतका जेठअसारे सयौं फलहरू सम्झिएँ । कालेकल्चु, तित्रा, च्याखुरा, कालिज, भ्याकुरो, जुरेला, भँगेरा, फिस्टा, सारी आदि चराहरूका चिरिबिरीको साँझ सम्झिएँ । खोरमा रहेका फुल तथा बचेराका आँ आँ पनि सिनेमाको दृश्यझैं मेरा अगाडिको थालीमा देखिन थाले । झट्ट केमरा झिकेर फोटो खिचें । तर, केमराले चुत्रो रहेको थालीको फोटो मात्र खिच्यो मेरो मनभित्र उठेका स्मृतिका परिदृश्य खिच्न सकेन । यसैबेला कुनै दिन सिंहनाद नामक पत्रिकाको बाहिरी पेजमा मैले भेटेको छन्द कविताका केही अंश सम्झना भयो–

चुत्रो काफल ऐसेलु तिदुहरू पाकी झुलेका हुनन्
खोजी गर्न भनी मलाई कति ता भूँइमा खसेका हुनन्

म भावविह्वल भएछु । गह भरिएछ । यो देखेर छेवैमा बसेकी श्रीमतीले चुत्रोका दाना चपाउँदै सोधिन्– हजुरले पनि मैलेझैं पुराना दिन सम्झिनुभयो कि क्या हो ? मैले उनको मुखतिर हेरें, उनी पनि भावविभोर भएकी रहिछन् । उनले थपिन्, हामीले चुत्रो नदेखेको ३०–३२ वर्ष भयो । आज मैले मेरो बाल्यकाल र माइतीघर सम्झिएँ । स्वर्गद्वारीको जय होस् ।

मैले सोधें– ‘तिमीलाई पनि त्यस्तै भयो ?’ हामी यसअघि अरु बोल्न सकेनौं । कठैबरी, बुहारीले ल्याएको कोसेली सायद अन्य कुनै महङ्गो खानेकुरा भए हामीलाई यो सम्झना हुने थिएन र महत्व पनि यति धेरै हुँदैनथ्यो होला । तर, यो चुत्रोको दर्शन हाम्रो लागि दिव्य दूरदर्शन बन्न पुग्यो ।

०००

मलाई एउटा अर्को प्रसंग पनि यही बेला उल्लेख गर्न मन लागिहाल्यो । एक बर्ष भन्दा बढी नै भयो होला । एकदिन सूर्यनाथ सापकोटाज्यू ‘के गर्दै हुनुहुन्छ’ भन्दै अचानक मेरो कोठामा छिर्नुभयो । जुन बेला मैले घरबाट आउँदा बाटोदेखि ल्याएका र लेमिनेसन गरी राखेका लेकाली वृक्ष बाँझ, गुराँस, खर्सु, अयाँर, घुयँलो कटुस आदिका पातहरू हेर्दै थिएँ । उहाँले मेरो हातको त्यो लेमिनेसन तानेर ध्यानपूर्वक हेर्दै भन्नुभयो– ‘शाहजी, तपाईं त साँच्चै अचम्मकै मान्छे हो । कति अनौठो गर्न मन लागेको होला, कस्तो सोच र जाँगर गरेको होला, कहिले र किन बनाउनु भएको यो‘ ? आदि ।

अब मैले उहाँको जिज्ञासा मेटाउनै पर्ने भयो ।

मैले भने– ‘सर २०५० सालमा म रुकुमकोटबाट दाङतिर आउँदै थिएँ । तीन घण्टा जति उकालो हिडेपछि त्यहाँको सबभन्दा अग्लो नौबैनी लेक पर्छ र त्यसैलाई नाघेर हामी दाङतिर आउँछौं । त्यस लेकको थाप्लोलाई पाथिहाल्ना भनिन्छ । यस डाँडोमा बर्षा हुँदा दक्षिणतिर बगेको पानी राप्ती र उत्तरतिर बगेको पानी भेरीमा मिसिन्छ । त्यो पानीको कहीं कतै संगम नभएजस्तै सायद म पनि फेरि कहिल्यै यो लेकमा नआउन सक्छु भन्ने लाग्यो । एउटा बाँझको रुखमुनि गुराँसको बुटानिर झोलाको आडमा उत्तानो परें । पारितिरका हिमाली श्रृंखला हेर्दाहेर्दै सिर्सिरे हावाले चार पाँचवटा बाँझ र खर्सुका पात मेरो माथि खसाल्यो । मेरो मनले भन्यो सायद मलाई बिदा गर्न झरेका पो हुन् कि के थाहा ? जन्मभूमिको माया बाहेक के छ र मलाई यहाँ तानेर ल्याउने ? यदि त्यस्तै भएमा यो लेक, यी बाँझ–गुराँस, यो लेकाली जङ्गल, यो गोरेटो बाटोसँग फेरि कहिले मेरो भेट होला र ? भन्ने लाग्यो अनि ममाथि खसेका पातहरू डायरीका पानामाझ राखें । झोला बोकें । टिलपिलाएका आँखाले प्यारो जन्म ठाउँलाई एकपटक राम्ररी नियालेर हेरें । नमस्कार गरें । अनि झोलाभन्दा गह्रौं छाती बोकेर ओरालो झरें । त्यसपछि अहिलेसम्म घर फर्किएको छैन । त्यसैबेला बटुलेका पातहरू हुन् सर यी । कहिलेकसो ती दिन र दृश्य सम्झिन्छु, साह्रै माया लाग्छ । त्यसैले यदाकदा हेर्ने गर्छु ।’

यति भनिसकेर उहाँतिर हेरेको त उहाँका आँखाबाट बर्बरी आँसु खसिरहेका रहेछन् ।

मेरो भनाईले उहाँलाई आफ्नो जन्मथलो बाग्लुङ छोड्दाको सम्झना भएछ क्यारे भक्कानिदै भन्नुभयो, ‘गणेश भाइ, मेरो र तिम्रो घर छोडाइ, पुनर्वास र विगतप्रतिको पीडा एउटै रहेछ ।’ उहाँको अवस्था देखेपछि धौ–धौ थामेको मेरो मन पनि भावविह्वल भयो । यत्तिकैमा एसिया छोरीकी मुमा त्यहाँ आइपुगिन् र हामी दुईको अवस्था देखेर छक्क परिन् ।

सापकोटा सर गइसकेपछि मैले उनलाई सबै वृतान्त सुनाउँदै ती पातहरू दराजभित्र राखें, जहाँ मेरा बुबाले मर्ने बेला मुमालाई दिएका एक दुईवटा मिन्द्रामली राखेको थिएँ । मलाई जीवनमा पैसाको छेलोखेलो त कहिल्यै भएन तैपनि म खुशी नै छु । यो मेरी आमाले दिएको आशिर्वाद हो ।

अपनत्वप्रतिको माया र श्रद्धा सबैमा नहुँदोरहेछ । आफ्नी आमा जे जस्ती भए पनि एउटा मातृभक्त छोराले कसिङ्गरसँग फ्याँकिएको आमाको फोटोमा थुक्न र कुल्चिन सक्तैन तर फोटो त के आमाको मुखैमा थुकेर हिड्ने छोराहरू पनि हाम्रो समाजमा देखिन्छन् । सद्गुण तथा दुर्गुण भन्ने भावना र चरित्रसँग सम्बन्धित कुरा हो । मेरो बुझाइमा यो मन र मस्तिष्कमा स्वतःस्फूर्त सिर्जना हुने लक्षण हो । बाल्यकालको पारिवारिक शिक्षा, सामाजिक वातावरण र गुरुहरूबाट पा्रप्त हुने नैतिक पाठको पवित्रताले यसमा जलप लगाउने काम गर्छ ।

मानिसमा हुने लाजसरम, शान, गौरव, स्वाभिमान, अपनत्व, इमान, धर्म, राष्ट्रियता, मौलिकता, आदि मानव र पशु छुट्याउने चेतनाशक्ति हो । यही चेतनाको अभावमा उच्च शिक्षा हासिल गरेर जापान, अमेरिका बेलायतजस्ता बिकसित देशमा थप शिक्षा लिन गएकाहरू उतै रोजगारी गर्दागर्दै उतैको नागरिकता लिएर उतै घरजाम गरी बसेका हाम्रा कयौं भाइ, छोराहरू कहिलेकसो नेपाल आउँदा हाम्रै अगाडि भन्ने गर्छन्, ‘आफू त अब उतै बसिन्छ । यस्तो जाबो देशमा के बस्नु ?’ मुखले नभने पनि उनी मनमनै भनिरहन्छ होला यस्ता पाजी बाआमालाई पनि के बाआमा भन्नु ? यस्ताको सेवा गर्न के यहाँ बस्नु । उनको सोच विचार र चेतनाशक्ति देख्दा टीठ लागेर आउँछ । ती त आफ्ना बाआमा र आफन्तको मायाले नभई उनीहरूलाई गिल्ला गर्न र मातृभूमिलाई थुक्न नेपाल आउँदा रहेछन् जस्तो लाग्छ ।

एउटा पशु जसले मन परेको घाँस टन्न खान पायो भने एक रात बाहिरै बसे पनि अर्को साँझ घर आउँछ । उसले आफ्नो गोठ, आफू बाँधिएको किलो दाम्लो बिर्सिन सक्दैन तर नेपाली धर्तीबाट प्रष्फुटित भएका विद्वान तथा सीपकर्मी भनाउँदाहरू कमाइ–कजाइ गर्दासम्म जहाँ रहे पनि आफू अंकुरित जन्मभूमिलाई घृणा नगर्नुपथ्र्यो यस्तालाई कदापि बुद्धिमान नागरिक मान्न सकिन्न । उनीहरूसँग प्रशस्त रुपैयाँ होला, गाडी मोटर बङ्गला होलान्, हाम्रो देशको जस्तो घना भ्रष्टाचार त्यहाँ नहोला । शान्ति सुरक्षा भनेजस्तो होला तर दुर्लभ कला र संस्कृतिपूर्ण मन्दिर र मूर्तिको सहर काठमाडौं, विश्व परिचित लुम्बिनी, सगरमाथा, मौलिक नेपाली चाडपर्व, भेषभुषा, नाभी गाडेको माटो, जन्मदाता जेइबाबै, बाल्यकालमा सँगै हाँसे खेलेका जोडीभाइ, शिक्षा आरम्भ गरेका जीर्ण विद्यालय, आफ्नै स्वर्गद्वारी र चुत्रो धाइरोका वनपाखा जतिसुकै डलरले पनि कहाँ किन्न सकिन्छ र ?

स्वाभिमान र बहादुर छोराले आफ्नो देशमा नै कमाएर मस्ती गर्नुपर्छ या आपूmकहाँ जे छ त्यसैमा रमाउन सक्नुपर्छ । यदि आफ्नो देशमा आफ्नो योग्यता र क्षमताअनुसारको काम मिल्दैन भने राज्य नै बिकाउ भएको आजको अवस्थामा एउटा नेपाली रोजगारीको लागि कुनै पनि देश पुग्नु उसको बाध्यता मान्न सकिन्छ तर मातृभूमि नै स्वर्ग हो भन्ने नबुझेर यस्तो जाबो देशमा के बस्ने भनी फूर्ति लगाउने फटेङ्ग्राहरू ‘कुकुरले जहाँ मासु भेट्यो त्यहीं बास टेके’झैं देश बिर्सिन्छन् ।

त्यो लेमिनेसनभित्रका पातको संकलन कसैका लागि स्याउला नै भए पनि मेरा लागि स्वर्गको आसनजस्तै हो ।

(लेखक शाहको यही साउन ६ गते घोराहीस्थित आफ्नै निबासमा निधन भइसकेको छ । तीन वर्षअघि प्रकाशित यो संस्मरण उहाँको सम्झनास्वरुपमा पुनः प्रकाशन गरिएको छ– सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *