अन्तहीन पर्खाइ

  
  प्रकाशित मितिः बुधबार, साउन ११, २०७४       | 517 Views   ||

– दीपक घिमिरे

फेरि आँगनमा काग कराउन थाले । भुस्याहा कुकुर पनि इज्जतिलो तरिकाले गाउँघर डुल्न थाले । आँगनभरि रङ्गीबिरङ्गी सिन्कामारी सुक्न थाले । सबैका घरमा चिल्ला रोटी पाक्न थाले । अनि निधारमाथि हत्केलाले छाया पार्दै स्याउली डाँडोतिर फर्केर ठूलीले मनमनै भनी, ‘रने दाइ, तिम्रो निधार रङ्गाउने धोको थियो ।’

हरेक बर्ष तिहार आउँछ । सबैका घर झिलिमिलि हुन्छन् । तर ठूलीको घर सधैं अँध्यारो । उज्यालो मन भएका ठूली अनि ठूलीकी आमा मनमाया र बहिनी रेखा सबैका मन हाँस्दैनन् तिहार परेको मैनाभरि । सबैका घरमा रोटी पाक्दा ठूलीको परिवारको मन पाक्छ । उनीहरुको लागि चौध बर्षअघि नै तिहार भन्ने पर्वले बिट मारेको छ ।  आमा मनमायाले माइतीको दैलो नटेकेको ठ्याक्कै चौध बर्ष भयो । मामा हरेक बर्ष निधार थाप्न आउँछन् तर छोरीहरुको निधार खाली राखेर मनमायाले कहिल्यै आफ्नो निधार रङ्गाइन । ठूली र रेखाको निधार खाली भएको पनि त्यति नै बर्ष भयो । कान्छी रेखा सानै थिइ, उसले रने दाइको अनुहार सम्झिनै सक्दिन । दूधे बालक रेखालाई रने दाइको यादले तिहारमा त्यति सताउँदैन । त्यसैले उ रने दाइको बाटो हेर्दिन तर ठूली चैं रने दाइलाई सम्झिरहन्छे ।

तिहारसँगै सुरु हुने ठूलीको मौनता देखेर मनमाया निक्कै आतिन्छे । कैयौं पटकजस्तै यो पटक पनि ठूलीलाई सम्झाउँदै आमा मनमायाले भनी, ‘अब रने आउँदैन । माइला बाको छोरासँग टीका लगा या धर्मे भाइ बना तर चाडपर्वको बेला कालो अन्वार नगरा ।’

आमाको कुराले उसलाई छुदैन किनकि ठूली रने दाइलाई भुल्न सक्दिनँ । उ अझै पनि रने दाइसँगका धेरै कुरा मनमा खेलाउँछे अनि कहिले खुशी हुन्छे त कहिले रुन्छे । रने दाइसँग घाँस दाउरा गरेका पल सम्झिदा उ खुशीले एक्लै हाँस्छे । दाइ बहिनीको त्यो मित्रता गाउँ टोलभरि उदाहरणीय थियो । काखमै खेल्ने उमेरकी रेखालाई रने दाइको मायाले छुन सकेन । त्यसैले पनि रेखा त्यति चिन्तित हुँदैनथी तिहारमा । ‘भाग्यमा दाइको माया लेखेको रै’नछ, भो टीका नलगाउने ।’ हरेक बर्षजस्तै यो पटक पनि ठूलीले आमालाई यस्तै जवाफ फर्काइ । उ निधार खाली राख्न सक्थी तर रने दाइको स्थानमा अरु कसैलाई राखेर पुज्न सक्दैनथी ।

सामान्य खेती किसानी परिवार हो ठूलीको । एउटा दाजु पछाडि दुई बहिनी हुन् ठूली र रेखा । बाबु हर्कमान जनयुद्ध सुरु हुँदै सहिद भए । जनयुद्ध सुरुवातको बर्ष खेती किसानी छाडेर तीन सन्तानलाई मनमायाको जिम्मा लगाएर पूर्णकालीन सदस्य भएका हर्कमान रोल्पाको होलेरी आक्रमणमा मारिए । पार्टीले सहिद घोषणा ग¥यो, तत्कालीन राज्यसत्ताले आतंककारी । जे भए पनि तीन सन्तान टुहुरा भए, मनमाया बिधवा भई, सिउँदो उजाडियो । सहारा गुम्यो ।

श्रीमानको मृत्यु पछाडि निक्कै गलेकी मनमाया रनेको अनुहारमा हर्कमानलाई पाउँथी र जिउने सहारा रनेलाई नै सोच्थी । ठूली पनि रनेलाई बाकै रुपमा आदर गर्थी । पार्टीले महान भनेको जनयुद्धमा बन्दुक बोकेर घरबाट निस्केका हर्कमान कहिले नफर्किने गरि गएसी उनकै सपना साकार पार्न रने दाइलाई कैयौं पटक अफर आयो । जिल्लामा नाम कहलिएका नेता कार्यकर्ता सेल्टरको रुपमा बास बस्न रने दाइको घरमा आउँदा अनेकथरि सपना रने र ठूलीलाई सुनाउँथे । हर्कमानको सपना सुनाउँथे । तर मनमाया अब अरु गुमाउन नसक्ने भन्दै रोक्थी । रने र ठूली पनि रोकिन्थे । आँखामा बाको मृत्युको बदलाको सपना हुँदाहुँदै पनि उनीहरु रोकिन्थे ।

रने दाइ हुँदै पनि ठूलीले तिहारमा दाइको निधार रङ्गाउन पाइन । कहिले धार्मिक रीतिरिवाजले रोकिन्थ्यो त कहिले जनयोद्धाको परिवारमा चाडपर्व निषेधको राजनीतिले रोकिन्थ्यो । तर पनि ठूली खुशी थिई । कारण चिल्ला रोटी र रङ्गीबिरङ्गी सिन्कामारीमै रमाउने उमेर थियो । ठूली आज पनि सम्झिन्छे, बा सहिद भएपछि दोस्रो बर्ष उसका घरमा पनि रङ्गीबिरङ्गी रोटी पाकेका थिए । त्यसपछि आजसम्म पनि पाकेको छैन ।

कल्पनामै रुने बानी परिसक्यो ठूलीको । आमा मनमाया आँसु लुकाउन कैयौं पटक कुना बसेकी छन् तर रोएर थाकेका आँखाबाट आँसु पुछिएता पनि मनबाट छुट्ने हिक्क–हिक्कको आवाज ठूलीले सुनेकी छे । तीज दशैं पनि आउँछन् यो समाजमा । तीजमा नाच हेर्दा रमाउने तीन जना दशैंमा निधारभरि टीका लगाएर हाँस्ने तीन जना तिहारमा खुल्न सक्दैनन् । सधैं हँसिली ठूली तिहारको मैना आफैबाट गल्छे, एकोहोरिन्छे ।

आज पनि कोठाको भित्तामा टाँगिएको ठूलो फ्रेमभित्र सजिएको रने दाइको फोटो निकालेर काखमा राख्दै ठूलीले सुस्त भनी, ‘साँच्ची रने दाइ, तिमी अब आउदैनौ त ?’

फ्रेमको सिसामा तप्प आँसु चुहियो । दाहिने हातले लपक्क आँसु पुछेर शीरमा पुछ्दै फ्रेम भित्तामा झुन्डाइदिइ । दिज्जु किन रोको ?’ ढोकैमा उभिएकी रेखाले एक्कासी प्रश्न सोध्दा ठूली झस्किई । ऊ सम्हालिदै भनी, ‘रने दाइको याद आयो । ‘रने दाइका पनि आफ्नै कथा छन् । होलेरी आक्रमणमा बाउ मारिएपछि रने दाइ घरको अभिभावकजस्तै भएका थिए । बाबुको मृत्यु पछाडि कैयौं पटक रने आफै भूमिगत हुने योजना बुन्थे । बाबुको सपना साकार पार्ने सपना रनेले पनि हजारौं पटक देखेका थिए तर अवस्था त्यस्तो थिएन । रने झोला बोकेर जंगल पस्दा घर तहसनहस हुन्थ्यो । हर्कमानको परिवार अब रनेकै भरमा थियो ।

दस कक्षा पास गरेर गाउँकै उच्च माध्यमिक विद्यालयमा पढ्दै गरेको रने जेहेन्दार विद्यार्थीमा गनिन्थ्यो । सबैका आँखाको नानी थियो रने । सुस्त–सुस्त हर्कमानलाई भुलाउने भरोसा थियो रने ।

युद्धविराम भंग गर्दै माओवादीले दाङ ब्यारेकमा आक्रमण गरे । पहिलो पटक सेनामाथि लडाकु जाइलागे । एघारको परीक्षा दिएर बसेको रनेको घरमा एक प्रकारको डर पैदा हुन थाल्यो । मनमाया आत्तिन थालिन्, ठूली डराउन थाली । पढ्ने बहानामा गाउँ छाडेर शहर बसाइ सर्न रनेलाई सबैले सल्लाह दिन्थे तर रने मान्दैनथ्यो । भगवानजस्ती आमा र फूलजस्ता बहिनी छाडेर उ बिरानो शहरमा बस्न सक्दैनथ्यो । तर आफन्त अनि आमा बहिनी सबै उसलाई शहर पठाउन चाहन्थे । सरकारी सेना सहिद परिवारको घरमा विशेष निगरानी राख्थ्यो । लडाकुसँग प्रत्यक्ष सरोकार हुन्छ भन्ने अड्कलकै आधारमा धेरै पटक रनेको घरमा छापा मारिन्थ्यो तर हात केही लाग्दैनथ्यो । अनि हल्का धम्की अनि कुटपिटमै छापा मार्ने काम सकिन्थ्यो ।

एक रात । पूर्णिमा टह–टह जून लागेको रात । पखेरा बारीमा छपक्कै सेना देखिए । मध्यरातमा पिसाब गर्न निस्केकी मनमायाले सबैभन्दा पहिले देखी । आफ्ना तीनै जना सन्तानलाई उठाउन नपाउँदै सेनाले ढोका फोड्यो अनि भित्र घुसेर रनेलाई पाता कस्यो । हात पछाडि बाँधेर कुट्नसम्म कुट्यो । सबैभन्दा धेरै रेखा रोई । ठूली एक मुक्का खादैमा बेहोस भएर ढली । मनमायालाई पल्लो कोठामा थुनिदिए । बाहिर आँगनमा ल्याएर अचेत हुँदासम्म कुटे । जब म¥यो भन्ने अवस्था आयो अनि रनेलाई तीन जनाले उठाएर लगे । बिहान गाउँलेको सहयोगमा ठूलीको होस आयो, मनमायाको ढोका खुल्यो ।

पुस माघको जाडोमा रने बेपत्ता भयो । देशमा जनयुद्ध सुरु हुँदा हर्कमान मारियो । संकटकाल लाग्दा रने बेपत्ता पारियो । कुटाइको अवस्था हेर्दा मारेर जंगलमा फाले होलान् भन्ने अड्कल सबैले काटे । गाउँलेको सहयोगमा वरपरका सबै वनजंगलमा रनेलाई खोजियो । न लास भेटियो न सास । महिनौं बित्यो तर रने भेटिएन । ठूलाबडाको सहयोगमा उजुरी प¥यो, बेपत्ताको सूचीमा रने प¥यो तर रने भेटिएन ।

रने बेपत्ता भएपछि हरेक दिन उ फर्केर आउने आशामा तीन जना बसे । बीसौं बर्षपछि हराएको मान्छे भेटिएका कथा कहानी उनीहरुले पनि सुन्थे र आशा गर्थे एकदिन रने आउनेछ । तर अहँ आजसम्म पनि रने आएन । युद्धको मैदानबाट सत्तामा माओवादी पुग्यो । रनेको अत्तोपत्तो लागेन । सुस्त–सुस्त बाबु हर्कमानलाई भुलेजस्तै परिवारले रनेलाई पनि भुल्दै गयो । बेसहाराको लागि सहारा भन्दै अनेक संघसस्था आए तर रने आएजस्तो भएन । यो रनेको कथा थियो ।

रने दाइ बेपत्ता भएपछि ठूलीको तिहार पनि आएन । उ हरेक बर्ष रने दाइको प्रतीक्षामा बस्न थाली । कैयौं आफन्ती आए टीका लगाउन । तर उ रने दाइलाई कुर्दै निधार खाली बनाएर बसी । यो बर्ष पनि सयौैं पटक स्याउली पहाडको मुन्तिरबाट डाँडो काट्ने गोरेटो चियाइरही– कतै टुप्लुक्क आइहाल्छन् कि रने दाइ भनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *