देशको चिठ्ठी

  
  प्रकाशित मितिः बुधबार, साउन ११, २०७४       | 514 Views   ||

– यमुना मगर

प्रवासमा हाँस्न बिर्सेका
केही नेपाली गुराँस र बुकीहरुलाई
एउटा कोशेली छ यो घरदेशको– बन्द खामभित्र
मेसिन जस्तै बाँचेर निस्किएपछि
खोली हेर्नु कलमको निवबाट निचोरिएको
निर्मम कथा छ

घरदेशी चराहरु
सपना कुटुरो पारेर कतै टाढा हिडेपछि
केही बुँद पसिना र आँसुको पार्सलले
अभावको अँगेनामा रित्तो कसौडीभित्र
एक मुठ्ठी मुस्कान खोले पाक्छ

बुढो कम्बलले घर्लप्प मुख छोप्न नपाउँदै
बर्षे झरीले गलाएर फाटेको अनुहारमा
बला र भाटाहरुले आँखै अगाडिबाट गिज्याउँछन्
सिरानीमुनि
टुक्रा–टुक्रा परेको घाइते तमसुकले
रातभर हमला गर्छ निद्रालाई
र बिदाइ गर्छ अनिदो रात

प्रत्येक बिहान
भालेको डाँकोसँगै अभावहरु पनि बास्छन्
र हतार–हतार निस्किन्छन्– दैनिकी गुजार्ने युद्ध लड्न
नपुरिएपछि आक्रोशका खाडलहरु
एउटै छानामुनिबाट निस्किन्छ चिच्याहट फरक विद्रोहको मेरो छातीको भागबन्डा गरेर
झण्डाको कफन र ब्यानर जलाउँदै चिच्याउँछन्
एक हुल स्वरहरु
बोटबाट फूल नफुल्दै झरेपछि
उजाड छ परिवेश

आफ्नै आकाशबाट आधारातमै जून टुटेर गएपछि
अँध्यारो छ– भविष्यको क्यान्भास
र नफर्किएपछि उडि गएका चराहरु
हलोले दुःख गीतहरु गाउँछन् गाउँका बुढा पाखुरासामु
मझेरी र दैलो मुस्काउँछ– निर्दोष अनुहारमा
सन्नाटा छाउँछ वनपाखामा
बज्दैनन् डम्फु र बाँसुरी
नाच्दैनन् डाँफे र मयुर पनि
तर मेरो रिमोट अर्कैको हातमा छ
स्वचालित छु म अरुबाट
नजरलाई बन्द गरिदिएका छन्
मेरो आवाज अपहरण गरेर
मेरै विरुद्धमा चर्को नारा लगाउँदैछन्
मेरा अङ्गहरु छुट्टिन तम्तयार छन्
र यो जर्जरतालाई छेदन गर्ने
उत्साह र आँट तिमीमा हुनुपर्छ
त्यसैले,
फर्केर आऊ प्रवासी– मेरा धुरीखाँबाहरु
र, मलाई ढल्नबाट बचाऊ ।

–देउखुरी, दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *