घोराही नगरविकास समिति अध्यक्ष चौधरीले लिए पदभार

  
  प्रकाशित मितिः बिहिबार, साउन १२, २०७४       | 1634 Views   ||

जनउभार समाचारदाता

दाङ, १२ साउन । घोराही नगरविकास समितिका अध्यक्ष बसन्त कुमार चौधरीले आज पदभार ग्रहण गरेका छन् । घोराही नगरविकास समितिको कार्यालयमा एक कार्यक्रमका बीच चौधरीले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणसँगै नवनियुक्त अध्यक्ष चौधरीले व्यवस्थित, समृद्ध र स्वच्छ शहर निर्माणका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष चौधरीले घोराही बसपार्क र सब्जीमण्डीमा वायो ग्याँस प्लान्टको काम गर्ने, घोराहीमा सुविधासम्पन्न पार्क निर्माण, टुक्रे र अव्यवस्थित जमिनको व्यवस्थित कित्ता मिलान लगायतका काम आफ्नो प्राथमिकतामा रहेको बताए ।

अघिल्ला कार्यसमितिले थालेका कामहरुलाई पूर्णता दिने, पूर्वअध्यक्ष तथा सरोकारवालाको रचनात्मक सल्लाह सुझावलाई ग्रहण गर्दै काम गर्ने भन्दै अध्यक्ष चौधरीले स्वच्छ, समुन्नत र हराभरा घोराही शहर बनाउने अभियानमा सहयोग गर्न सबैलाई आग्रह समेत गरे ।

नगरविकास समितिका सदस्य सचिव तथा शहरी विकास निर्माण तथा भवन डिभिजन विभाग दाङका प्रमुख इञ्जिनियर राजेन्द्रप्रसाद पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष किरणकुमार रेग्मीले नवनियुक्त अध्यक्ष चौधरीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नवलपुर जग्गा एकीकरण आयोजना, पार्क तथा जलाशय निर्माण अभियानलाई पूर्णता दिन आग्रह गरे । आफ्नो कार्यकालमा भए गरेका कामहरुको चर्चा गर्दै निवर्तमान अध्यक्ष रेग्मीले आफूले नगरको विकासका लागि सधैं सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा सदस्य सचिव राजेन्द्रप्रसाद पाण्डेयले देशभरकै नगरविकास समितिहरुलाई एउटै बास्केटमा हालेर निर्णय गर्नु अनुपयुक्त हुने भन्दै आफ्नै छुट्टै स्रोतसाधन, कर्मचारीसहित दैनिक प्रशासन चलाइरहेका व्यवस्थित नगरविकास समितिहरुको बारेमा अलग्गै निर्णय गरिनुपर्ने बताए ।

सो अवसरमा समितिका सदस्य सचिव पाण्डेयले नवनियुक्त अध्यक्ष बसन्त कुमार चौधरीलाई स्वागत गर्नुका साथै निवर्तमान अध्यक्ष किरणकुमार रेग्मीलाई बिदाई गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *