मौन पर्खाल

  
  प्रकाशित मितिः शनिबार, साउन १४, २०७४       | 322 Views   ||

–चन्द्र गुरूङ

टोल–बस्तीलाई अँगालोमा बेर्दै
पार्क–मैदानलाई चारैतिरबाट अठ्याउँदै
घर–कम्पाउन्डलाई सुरक्षित घेर्दै
उभिएका छन् पर्खालहरू ।

यी पर्खालमाथि टाँसिएका छन्–
देशी–विदेशी विज्ञापनमा बेहिच्चक नाङ्गिने
रूपवतीको सौन्दर्य
दन्तमञ्जनको थरी–थरी पोस्टर ओढ्दै
मुस्कान छर्ने सुन्दरीको सौन्दर्य
चुनावको बेला
हात जोर्दै, कुटिल मुस्कान छर्दै
घर–दैलो गर्ने नेताका तस्बिर ।

एकान्तको मौकामा
आवाजविहीन उभिएका पर्खालमाथि
मानिसहरू निसङ्कोच मुत्छन्
निर्धक्क थुक्छन्
पर्खालका सिधासाधा अनुहारभरि केरमेर केरमेर
आआफ्नो तितो गुनासो पोख्छन् मानिसहरू ।
अत्याचार सहन बाध्य
बाँचिरहेका छौँ युगौँदेखि
सहँदै आफ्नै रहरहरूको निर्मम बलात्कार
हेर्दै आफ्नै ईच्छाहरूको हत्या ।

पर्खाल र हामी
हामी र पर्खाल
उस्तै छन् हाम्रा कथा–व्यथा
हामी छातीभरि देश दुखेको तस्बिर बोक्छौँ
पर्खालमाथि कोरिन्छ सिमाना मिचिएको खबर
हामी सुन्दर भविष्य सजाउँछौँ
पर्खालअघि थापिन्छ गरीबको रङ्गीन नाङ्ले पसल
पर्खालहरू चर्किएजस्तै
च्यातिन्छन् हाम्रा आकाङ्क्षाहरू
पर्खालहरू ढले जस्तै
ढल्छ हाम्रो रहरको हिमाल ।

पर्खालहरू
धमिलो र अमिलो स्वाद भरिएको वातावरणमा बाँच्दै
जीवनको लय खोजिरहेको भीड हेर्दै
थरी–थरीका कोलाहालपूर्ण अनुहारमाझ
बिताउँछ रनभुल्ल दैनिकी ।
वरिपरि–
हल्लै हल्लाको रंगीचंगी दोकानहरू
हल्ला नै उफ्रिन्छ र बन्छ पत्रिकामा हेडलाइनहरू
हल्ला नै बिक्छ साँझबिहान समाचार
हल्लै हल्लामाझ चुपचाप–चुपचाप बाँचिरहेका छन् पर्खालहरू
सदियौँदेखि
उचाल्दै श्रापित विचारहरू
थुपार्दै टुक्रा–टाक्री दिनहरू
सोहोर्दै पहेँलिएका सपनाहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *