राप्तीका दुई सय सहकारी निष्क्रिय

  
  प्रकाशित मितिः बुधबार, साउन १८, २०७४       | 335 Views   ||

– भुपेन्द्र वली

दाङ । आर्थिक विकासका मेरुदण्ड मानिने करिब २ सय सहकारी राप्ती अञ्चलमा निष्कृय अवस्थामा रहेका छन् । आर्थिक वर्ष ०७३÷०७४ मा राप्तीका १ सय ८२ सहकारी निष्कृय अवस्थामा रहेको घोराहीस्थित सहकारी डिभिजन कार्यालय दाङले जनाएको छ ।

निष्कृय हुनेमा सबैभन्दा बढी रुकुमका सहकारी छन् । रुकुमका ५२, रोल्पाका ४१, प्युठान र सल्यानका ३२/३२ र दाङका २५ सहकारी निष्कृय अवस्थामा छन् । तीन बर्षदेखि मासिक रुपमा भएका कामकाजको विवरण, बार्षिक लेखापरीक्षण प्रतिवेदन, विभिन्न समयमा सहकारी डिभिजन कार्यालय, वार्षिक साधारणसभा, बैठकको अभिलेख विवरण नपठाएका राप्तीका १ सय ८२ सहकारी संस्थालाई निष्कृयको सूचीमा राखिएको डिभिजन कार्यालय दाङले जनाएको छ । काम गर्ने लक्ष्य, कार्ययोजना नभएका तथा श्रम गर्न नसक्ने सहकारी संस्थाहरु निष्कृय अवस्थामा पुगेको सहकारी अधिकृत विनोद पौडेलले बताए ।

‘सहकारी संख्यात्मक रुपमा बढी भए पनि प्रतिफलको दृष्किोणले भने धेरै सहकारीहरु कमजोर अवस्थामा छन्’ उनले भने, ‘सहकारीहरुको संख्या जति छ, त्यहीअनुसार स्थानीय उत्पादन जति वृद्धि हुनुपर्ने हो तर त्यसो हुन सकेको छै्रन ।’ अघिल्ला बर्षहरुको तुलनामा गएको आर्थिक बर्षमा भने निष्कृय हुने सहकारीको संख्या घटेको छ । आर्थिक बर्ष २०७२/०७३ मा रुकुमका ५७, रोल्पाका ४६, दाङ, सल्यान र प्युठानका ३६/३६ सहकारी निष्कृय भएका थिए ।

४ सहकारी खारेज

यसैबीच गत आर्थिक वर्षमा राप्तीका ४ वटा सहकारी संस्था खारेज भएका छन् । डिभिजन सहकारी कार्यालय दाङले निस्क्रिय रहेका राप्तीका ४ वटा सहकारी संस्थालाई खारेज गरेको हो ।

विगत तीन बर्षदेखि आर्थिक कारोबारको विवरण तथा साधारणसभाको प्रतिवेदन नियमितरुपमा डिभिजन सहकारी कार्यालय दाङमा पेस नगरेको, लेखा परीक्षण पेस नगरेका, कार्यालय सञ्चालन नगरेका सहकारी संस्था खारेज गरिएको डिभिजन सहकारी कार्यालय दाङका सहकारी अधिकृत विनोद पौडेलले जानकारी दिए । खारेज हुनेमा दाङका ३ र प्युठानको एउटा सहकारी रहेको पौडेलले बताए । उनका अनुसार खारेजी हुनेमा दुई वटा दुग्ध, एउटा बचत र एउटा कृषि रहेका छन् ।

दाङको गुरुदेव दुग्ध सहकारी संस्था बेला, लक्ष्मी अमृत दुग्ध सहकारी संस्था लालमटिया, जिविका कृषि सहकारी संंस्था सतबरिया रहेका छन् भने प्युठानको जनसुविधा बचत तथा ऋण सहकारी संस्थालाई खारेज गरिएको छ ।

प्रत्येक सहकारी संघ संस्थाले गरेको कारोबारको विवरण तथा अन्य विवरण तोकिएको समयभित्रमा रजिस्टारसमक्ष पेस गर्नुपर्ने प्रावधान रहेपनि ती सहकारी संस्थाले उक्त प्राबधान पालन नगरेकाले खारेज गरिएको सहकारी डिभिजन कार्यालय दाङका सहकारी निरिक्षक गोपाल पौडेलले बताए । सहकारी ऐनको दफा ३४ बमोजिम डिभिजन सहकारी कार्यालयमा विवरण पेस गर्नुपर्ने भए पनि खारेज भएकाहरुले कुनै विवरण दिएका छैनन । आर्थिक बर्ष २०७२/०७३ मा ५ वटा सहकारी संस्थालाइै खारेज गरिएको थियो ।

५७ नयाँ सहकारी

डिभिजन सहकारी कार्यालय दाङमा आर्थिक बर्ष २०७३ र ०७४ मा ५७ नयाँ सहकारी थपिएका छन् । सहकारी निरीक्षक गोपाल पौडलले दिएको जानकारी अनुसार गएको आर्थिक बर्षमा दाङ, सल्यान र रुकुममा १४/१४, प्युठानमा ९ र रोल्पामा ६ वटा नयाँ सहकारी संस्था दर्ता भएका छन् ।

आर्थिक बर्ष २०७२ र ०७३ मा दाङमा २८, रोल्पा र रुकुममा २१/२१, प्युठानमा १५ तथा सल्यानमा १४ वटा सहकार संस्था दर्ता भएका थिए । यस वर्ष नयाँ सहकारी दर्ता गराउने क्रममा भने ह्रास आएको हो । नगरपालिका क्षेत्रमा यसअघि नै आवश्यकभन्दा धेरै सहकारी दर्ता भएकाले दर्ता हुनेको संख्यामा कमी आएको सहकारी अधिकृत विनोद पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *