आज भिडियो सार्वजनिक हुँदै
– उदय जीएम
दाङ । आफ्ना विगतका हरेक चलचित्रहरुमा चर्चित र हिट गीतहरु दिँदै आएकी नायिका रेखा थापाले आगामी चलचित्रमा चाहिँ दर्शकस्रोतालाई के दिने होलिन् ? उनका हरेक चलचित्रहरु आउन थाल्दा आम दर्शकस्रोताको प्रश्न यही हुन्छ र पर्खाई पनि ।
रेखा फिल्मस्को प्रस्तुति रहेको रेखाको आगामी चलचित्र “रुद्रप्रिया”मा के त्यस्तो जादुमयी गीत होला, जसले आम स्रोतादर्शको मन तानोस् । हो, यही प्रश्नको जवाफ हो, मेरो माया छ भने रुमाल चिनो देऊ” बोलको गीत । रुद्रप्रियाको यो गीतको अडियो रेखाले सार्वजनिक गरिसकेकी छन् । युट्युबमा सार्वजनिक भएलगत्तै यो गीत देशभरिका एफएम रेडियोहरुमा बज्न थालिसकेको छ ।
सुन्नुस् अडियो गीत-
अत्यन्त चुलबुले, चटपटे र ठेंट गाउँले शव्द समेटिएको “मेरो माया छ भने रुमाल चिनो देऊ” बोलको गीतलाई स्रोताहरुले खुबै मन पराएका छन् । “यो गीतको अडियो दर्शकहरुले मन पराइदिनु भएको छ”, नायिका रेखाले भनिन्, “यही साउन १८ गते बेलुकी ४.१५ मा यो गीतको भिडियो सार्वजनिक गर्ने कार्यक्रम छ । पक्कै पनि दर्शकस्रोताले मन पराइदिनु हुनेछ ।”
“काली” चलचित्रमा “बट स्लोली स्लोली” बोलको गीत जसरी नेपालका कुनाकन्दरा र शहरबजारमा लोकप्रिय र चर्चित बन्यो, त्यसैगरी चलचित्र “रामप्यारी”मा छमछम्ती पाउजुहरु”, “अर्को जुनी कुन्नि” लगायतका गीतहरु दर्शकस्रोताका रोजाई बनेका थिए । चलचित्र “हिम्मतवाली”को “काली तिम्रो नजरले” बोलको गीतले पनि तहल्का मच्चायो । यी गीतहरु दशैंतिहारमा गाउँशहर सबैतिरका युवायुवतीहरुले गुनगुनाउने र नाच्ने गीत बनेका थिए ।
आगामी कार्तिक २ गते लक्ष्मीपूजाको दिन रिलिज गर्ने मिति तय गरिएको चलचित्र “रुद्रप्रिया”को पहिलो गीत “मेरो माया छ भने रुमाल चिनो देऊ” बोलको गीतमा राजनराज शिवाकोटीको संगीत छ । संगीतकार शिवाकोटी र गायिका मेलिना राईको सुमधुर स्वर यसमा समेटिएको छ । यो गीतमा राजनराजकै शब्द र राजन इशानको एरेन्ज रहेको छ ।
विगत ७ बर्षपछि पर्दामा एकसाथ देखिएको रेखा थापा र आर्यन सिग्देलको यो जोडीलाई “रुद्रप्रिया”मा हेर्न दर्शकस्रोता आतुर देखिएका छन् । रुद्रप्रिया चलचित्रमा सुदिप बबी भूपाल सिंहको निर्देशन रहेको छ । सरस्वती थापा र रमेश एमके पौडेलको लगानी रहेको चलचित्रलाई सञ्जय लामाले छायाङ्कन गरेका छन् ।