घोराही, २३ साउन । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सदस्य अजयदीप शर्माले आफ्नो आमाको सम्झनामा रक्तदान गरेका छन् ।
गत बर्ष साउन २४ गते निधन भएकी आमा लोककुमारी रिजालको सम्झनामा उनले रक्तदान गरेका हुन् । लोककुमारीकी नातिनी राधा रिजालले पनि आफ्नो हजुरआमाको सम्झनामा रक्तदान गरेकी छन् ।
घरपरिवारले साउन १४ गते तिथिको अवसरमा वार्षिक श्राद्ध गरेका थिए । तर अजयदीप र राधाले आफ्नी आमा/हजुरआमाको सम्झनामा रक्तदान गरेका हुन् ।
दुबै जनाले आज बिहान रक्तसञ्चार केन्द्रमा गएर रक्तदान गरेका थिए । ‘आमाको रगतबाट नै हामी बनेका छौं, हामी आमाको नाममा कुनै दुःखी बिरामीलाई रगत उपलब्ध होस् भनेर रक्तदान गरेका हौं,’ उनले भने, ‘आमालाई सम्झने विभिन्न तरिका छन्, म अब सधैं साउन २४ गते आमाको सम्झनामा रक्तदान गर्नेछु ।’
आमाको नाममा वार्षिक श्राद्ध रक्तदान गरेर नै मनाउने उनले बताए ।
हजुरआमाकै माया र स्नेहमा हुर्केकाले सम्झनामा रक्तदान गरेको नातिनी राधा रिजालले बताइन् । ‘हजुरआमाको रगत मेरो शरिरमा पनि छ, मेरो रगत कुनै दुःखी बिरामीले पाऊन्, त्यो पनि हजुरआमाको रगत हुनेछ ।’
लोककुमारीको परिवारले गत वर्ष नै सिद्धरत्ननाथ उमावि नारायणपुरमा ५७ हजार, पत्रकार महासंघमा ५१ हजार र प्रेस सेन्टरमा ५१ हजारको लोककुमारी स्मृति पुरस्कार अक्षकोष स्थापना गरेका थिए ।