दाङ, साउन २५ । नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य तथा रेडियो स्वर्गद्वारीमा कार्यरत पत्रकार पार्वती बस्नेतका जीवनसाथी प्रमोद बर्माको रहस्यमय निधनबारे छानबिन गर्न पत्रकार महासंघ दाङलगायत विभिन्न संचार संगठनहरुले माग गरेका छन् ।
पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, प्रेस युनियन दाङका अध्यक्ष सुशील बस्नेत, प्रेस चौतारी दाङका अध्यक्ष टीका बस्नेत, प्रेस सेन्टर दाङका अध्यक्ष डिल्ली मल्ल, प्रगतिशील पत्रकार संघ, नेपालका केन्द्रीय महासचिव उदय जीएमले मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् ।
‘नेपाल बैंक लिमिटेड बर्दिया शाखाका प्रबन्धक प्रमोद बर्माको रहस्यमय निधनको खबरले दाङमा क्रियाशील सञ्चार संस्थाहरु स्तब्ध भएका छौं’– विज्ञप्तीमा भनिएको छ– ‘बर्दियाबाट साउन २० गते शुक्रबार राती ९ बजे घरपरिवारमा फोनमार्फत् सम्पर्क गरेका बर्माको शव बाँकेको अगैया जंगलमा फेला परेको थियो । बर्माको सुनियोजित हत्या नै भएको पारिवारिक भनाई छ । शव घुँडा टेकिएको अवस्थामा झुण्डिएको पाइएको, शरिरभरि निलडाम भेटिएको, मुखमा समेत चोटपटक लागेको र आँखामा पनि गहिरो घाउ देखिएको शवको प्रकृति हेर्दासमेत घटनामा गम्भीर षड्यन्त्र र सुनियोजित हत्या हो भन्ने आशंकालाई बल पुगेको छ । अतः हामी त्यो घटनाको निष्पक्ष र गम्भीरतापूर्वक छानविन गर्न सम्बन्धित निकायमा जोडदार माग गर्दछौं ।’
मृतक प्रमोद बर्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विज्ञप्तीमा पत्रकार बस्नेतलाई परेको चोट र पीडाको सामना गर्न आग्रह एवम् परिवारप्रति समवेदना व्यक्त गरिएको छ ।