मत परिणाममा सामाजिक क्यारेक्टर

  
  प्रकाशित मितिः बुधबार, साउन २५, २०७४       | 174 Views   ||

– मणि थापा

कतिपय माओवादी नेताले माओवादीले स्थानीय तह निर्वाचनमा जितेको दावी गर्दैछन् । तर, यथार्थमा माओवादीले जितेको छैन, माओवादीले हारेको छ । परिवर्तनका मुद्दा जति पनि छन्, ती सबै माओवादीकै हुन् । निर्वाचनमा माओवादीले हारेको छ, तर माओवादी मुद्दाले जितेको छ । माओवादीले हारे पनि देशले जितेको छ, राष्ट्रले जितेको छ ।

माओवादी स्थानीय तह निर्वाचनमा पहिलोमा भन्दा दोस्रोमा अझ कमजोर भयो । अझ तल झ¥यो । यस्ता नतिजा आएपछि माओवादीले आफ्नो पराजय स्वीकार गर्न सक्नुपर्छ । त्यसैमा पनि हामी माक्र्सवादीले अरूले भन्दा प्रस्ट र सीधा भन्नुपर्ने हुन्छ । हामीले ढाँट, छलछाम नगरी प्रस्टसँग आफ्ना कुरा राख्नुपर्छ । जनतालाई आफ्ना कुरा प्रस्ट बुझिने गरी भनेनौँ भने बेइमानी हुन्छ । यस्तो नतिजा आएपछि माओवादीले गम्भीर समीक्षा गरेर अगाडि बढ्ने चेष्टा गर्नैपर्छ ।

माओवादीले हार्नुका कारण

हामीले आफ्ना मुद्दालाई स्थापित गर्न सकेनौँ । जनतालाई वैचारिक रूपमा कांग्रेस–एमालेभन्दा फरक देखाउनै सकेनौँ । जनताले कांग्रेस, एमाले र माओवादीलाई एउटै देखे । माओवादीमा पार्टी एकता भए पनि औपचारिक एकता मात्र बुझियो । पार्टी एकता भनेपछि वैचारिक र सांगठनिक रूपमा तलसम्म एकता हुनुपर्छ । पार्टी एकताको महत्वलाई गाउँका टोल–टोलसम्म पु¥याउन सकेनौँ । अर्काे, उम्मेदवार चयनमा राम्रोभन्दा हाम्रोलाई प्राथमिकता दिइएन ।

माओवादीले जित्नेलाई भन्दा पुरानो व्यक्तिलाई उम्मेदवार बनायो । हामीले निर्वाचनलाई प्रभावित गर्ने गरी केन्द्रीय अभियान सञ्चालन नै गर्न सकेनौँ । अहिलेको युग प्रचार–प्रसार र सूचना प्रविधिको हो । हामीले त्यसलाई पार्टीको प्रचार–प्रसारमा प्रयोग गर्न सकेनौँ । माओवादीलाई निर्वाचनका लागि आवश्यक हुने स्रोत साधनको पनि कमी भयो । निर्वाचन जित्नका लागि जस्तो खालको ट्याक्टिस अपनाउनुपर्ने थियो, त्यो अपनाउन सकिएन । माओवादी नेतामा स्थानीय तह निर्वाचनमा जाने अनुभव नहुँदा पनि निर्वाचन आफ्नो पक्षमा भएन ।

मधेसमा माओवादीले यसरी जित्न सक्छ

निर्वाचनमा पार्टीले हारेको विषयमा गम्भीर समीक्षा गरेर केलाउनुपर्छ । यो हारलाई गम्भीर बहस छलफल गरी निष्कर्ष निकाल्नैपर्छ । मधेस र पहाडको निर्वाचनको रणनीति फरक हुन्छ । मधेसको भौगोलिक बनोट, सामाजिक मनोविज्ञान फरक हुने भएकाले बुझेर रणनीति बनाउनुपर्छ । माओवादी मधेसमा गुट–उपगुटमा विभाजित छ । त्यो गुटलाई भत्काएर पार्टीलाई निर्वाचनतिर लग्नु छ । निर्वाचनमा उम्मेदवार बनाउँदा हाम्रालाई भन्दा राम्रालाई उच्च प्राथमिकता दिएर टिकट दिनुपर्छ ।

निर्वाचनमा कर्मचारी प्रहरी प्रशासनले हामी सरकारमा हुँदा पनि सघाएनन् । त्यसैले आगामी दिनमा पनि सहयोग पाउने स्थिति छैन । विगतमा हामीले देखेकै कुरा हो कांग्रेस, एमालेलाई प्रहरी प्रशासनले राम्रै सहयोग गरे । यस्तो अवस्थामा माओवादीले कांग्रेस, एमालेले निर्वाचनमा गर्ने सेटिङप्रति चनाखो हुनुपर्छ । तेस्रो चरणको निर्वाचनमा सबै केन्द्रीय नेता मधेसका गाउँ–गाउँमा गएर चुनाव प्रसार–प्रसारमा खटिनुपर्छ । माओवादीले मधेस आन्दोलनमा खेलेको भूमिका मधेसी जनताप्रति देखाएको सद्भावलाई नेताहरूले प्रस्ट पार्नुप¥यो । मधेसको मुद्दा समाधान गर्न माओवादीले खेलेको भूमिकाबारे जनतालाई बुझाउनुपर्छ ।

एमालेको जितको कारण

यसपटक स्थानीय निर्वाचनमा एमालेको पक्षमा लहर नै देखियो । यो एमालेको अरू केही नभएर लहर मात्र हो । एमालेले प्रतिपक्षमा बसेर जुन राष्ट्रवादको नारा लगायो, त्यो यसपटक राम्रैसँग बिक्यो । यस्तो हिसाबले पहिलो पार्टी हुने लक्षण देखाएको पनि थियो । एमालेले जुन अन्तरमा निर्वाचन जितेको छ, त्यसमा राष्ट्रवादले पनि राम्रै काम ग¥यो ।

एमालेको जितका पछाडि राष्ट्रवाद मात्र नभई पैसाले किनेको मत पनि छ । एमालेले निर्वाचनमा धेरै पैसा खर्च ग¥यो । एमालेले पाएको मतमा कुल १० प्रतिशत किनेको मत जोडिएको छ । प्रहरी प्रशासनबाट सेटिङ मिलाएर ७ देखि १० प्रतिशत मत आफ्नो पक्षमा पारेको छ । यसरी कर्मचारीलाई प्रभावित पारेर ल्याएको मत पनि एक प्रकारको भ्रष्टाचार नै हो ।

माओवादी यसरी बनाऊँ

माओवादी अहिले पनि पार्टी बनिसकेको छैन । अहिले यो आन्दोलन मात्र छ । यो आन्दोलनलाई पार्टी बनाउनुपर्छ । माक्र्सवाद, लेनिनवाद, माओवादमा चल्ने जनवादी केन्द्रीयतासहितको पार्टी बनाउनुपर्छ । माओवादी घटक जति पनि छन्, ती सबैलाई एकताबद्ध गर्न प्रयास गर्नुपर्छ । वैचारिक रूपमा केही मतभिन्नता होलान्, ती सबैलाई छलफल गरेर सबै घटकलाई एक ठाउँमा उभ्याउन सक्नुपर्छ ।

यसअघि माओवादीसँग जुन किसिमको संगठनात्मक एकता भएको छ, त्यो वैचारिक रूपमा हुन सकेको छैन । वैचारिक एकतासँगै सांगठनिक रूपमा तलसम्म एकता गर्दै लैजानुपर्छ । माओवादीभित्रको सबैभन्दा ठूलो रोग गुट–उपगुट नै हो । अब सबै गुट–उपगुट भत्काउनुपर्छ । माओवादीमा अझै पनि युद्धकालीन ह्याङओभर छ । हुन त त्यो एउटा स्वर्णिमकाल नै थियो । तर, युद्ध र शान्तिकालमा अपनाउने रणनीति फरक हुन्छ । युद्धबाट शान्तिकाल हुँदै स्थानीय तहको निर्वाचनसम्म माओवादी केटाकेटी अवस्थामै छ ।

शान्तिकालमा माओवादीले जनतासँग गर्ने व्यवहारमा पनि परिवर्तन आउन जरुरी छ । माओवादी शान्तिकालमा आएपछि सामाजिकीकरण हुनुपर्ने हो, त्यो हुन सकेको छैन । माओवादी समाजसँगको सम्बन्धमा जोडिएको छैन । समाजमा हुने हरेक सुख–दुःखमा माओवादी अझै जोडिएको छैन । यसपटकको स्थानीय निर्वाचनमा माओवादीलाई सहिद, बेपत्ता परिवार र बहिर्गमित जनमुक्ति सेनाका परिवारले आत्मैदेखि सहयोग गरेका छैनन् । ती सबै माओवादीका हाँगा हुन् । ती सबैलाई माओवादीले व्यवस्थापन गर्नुपर्छ ।

अहिले माओवादीभित्र एक खालको वर्गीय खाडल बढ्दै गएको छ । त्यहाँ हुनेखाने र हुँदा खानेबीच वर्गीय विभाजन बढ्दो छ । त्यो वर्गीय विभाजनलाई जनताले प्रत्यक्ष देखेका छन् । त्यो वर्गीय विभाजनलाई कम गर्दै लैजानुपर्छ । सामूहिक उत्तरदायित्वपूर्ण सोच बनाउनुपर्छ ।

कार्यकर्ताको व्यवस्थापन स्वदेशमै गर्नुपर्छ । माओवादीले भन्नुपर्छ कि माओवादी कार्यकर्ता अब खाडी मुलुकमा होइन, स्वदेशमै बस्नुपर्छ । अहिले धेरैजसो नेताको व्यवस्थापन भइसकेको छ, तर तल कार्यकर्ताको अवस्था अझै उस्तै छ । अझै कार्यकर्ता सर्वहारा नै छन् ।

प्रदेश र संघको निर्वाचनमा यसो गरौं

हामीले जहाँ–जहाँ जितेका छौँ, त्यहाँका उम्मेदवारलाई प्रशिक्षण दिन जरुरी छ । कांग्रेस, एमालेले जितेको ठाउँमा भन्दा राम्रो कसरी गर्ने भन्नेबारे प्रशिक्षण चलाउन आवश्यक छ । भोलि हुने प्रदेश र संघको निर्वाचनको जग नै स्थानीय तहका जितेका क्षेत्र नै हुन् ।

कार्यकर्तालाई साधन स्रोतलाई कसरी परिचालन गर्ने भन्ने विषयमा बुझाउन जरुरी छ । स्थानीय जनप्रतिनिधिका लागि केन्द्रीय रूपमै योजना तर्जुमा गर्नुपर्छ । स्थानीय जनप्रतिनिधिले राम्रोसँग काम गरेका छन् भन्ने केन्द्रीय नेताले पार्न सक्नुपर्छ । अर्को, माओवादीलाई अझ सुदृढ बनाउने प्रयास गर्नुपर्छ । प्रदेश र संघको निर्वाचनको रणनीति बनाउन अहिल्यैदेखि लाग्नुपर्छ ।

आगामी निर्वाचनमा उठ्ने पात्र र प्रवृत्तिको विषयमा पनि जान्न जरुरी छ । मूलतः व्यक्ति जित्नेभन्दा पार्टी जित्ने चिन्तन विकास गर्न आवश्यक छ । हामीले स्थानीय रूपमा हुने समस्यालाई कार्यनीति बनाउन सक्नुपर्छ । यी सबै विषयलाई ख्याल गरेर जनतामाझ जान सके माओवादीले स्थानीय तहभन्दा प्रदेश र संघको निर्वाचनमा राम्रो गर्न सक्छ ।

एजेन्डा भए पनि जनताले माओवादीलाई किन मत दिँदैनन् ?

माओवादीका एजेन्डा राम्रा भए पनि भोट हाल्नलायक राम्रो क्यारेक्टर छैन । जनताले माओवादीलाई जुन क्यारेक्टरमा हेर्न चाहेका छन्, उसको त्यस्तो क्यारेक्टर नै छैन । माओवादीमा सामाजिक क्यारेक्टर छैन । समाजमा हुने दुःख–सुख र पीडामा माओवादी जोडिन सकेको छैन । अझ भनौँ, माओवादी क्यारेक्टर जनमुखी हुन सकेको छैन ।

जनताले ठूला–ठूला उथलपुथल हुने काम कसले ग¥यो भनेर हेर्दैनन् । आफ्नो दैनिक जीवनमा माओवादीले गर्दा के फरक प¥यो भन्ने हेर्छन् । तर, माओवादीले ल्याएका परिवर्तनले जनतालाई छुन सकेको छैन । निर्वाचनमा जनताले आफ्नो क्यारेक्टरको नेता हो कि होइन, हेर्छन् । भोट हाल्दा सबैभन्दा अगाडि पार्टीभन्दा उम्मेदवार देखिन्छ ।

जनताले उम्मेदवारको विगत हेर्छन् । आज कस्तो छ हेर्छन्, भोलि कस्तो होला भन्ने पनि हेर्छन् तर कतै पनि माओवादीलाई आफ्नो क्यारेक्टरसँग मिल्ने देख्दैनन् । आफ्नो क्यारेक्टसँग मिल्ने देखेनन् भने कसरी भोट हाल्छन् त ? उनीहरूले माओवादीको त्यस्तो क्यारेक्टर देखेनन् भने खराबै भए पनि कांग्रेस, एमालेलाई रोज्छन् । कांग्रेस, एमाले राम्रो भएर रोज्ने होइन, विकल्पमा रोज्ने हो । यदि माओवादी क्यारेक्टर सामाजिक व्यवहारमुखी भएमा माओवादीलाई नै रोज्ने थिए ।

– नयाँ पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *