दाङ, साउन २७ । डा. गोविन्द केसीका मागहरु पूरा गर्न माग गर्दै त्रिभुवननगर जेसिजले दबाबमूलक कार्यक्रम गरेको छ । जेसिजले आज शुक्रबार घोराहीको तुलसीपुरचोकमा सडक प्रदर्शन तथा सभा गरी डा. केसीका माग गर्न सरकारलाई दबाब दिएको हो ।
त्रिभुवननगर जेसिजका अध्यक्ष दीपक शर्माको अध्यक्षतामा भएको कार्यक्रममा डा. गोविन्द केसीका मागहरुप्रति ऐक्यबद्धता जनाउँदै चिकित्सक संघ दाङका अध्यक्ष डा. जनार्दन पन्थी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासन, साहित्यकार डा. लोकराज पराजुलीलगायतले बोल्नुभएको थियो ।
वक्ताहरुले डा. केसीको स्वास्थ्य जोखिमपूर्ण भइरहेको भन्दै तत्काल सरकारले उहाँका मागहरु पूरा गरी केसीको जीवनरक्षाका लागि समेत माग गरेका थिए ।
कार्यक्रम संयोजक प्रदीप सुवेदीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा राष्ट्रिय गान र जेसिज आस्था पाठ गरिएको थियो भने कार्यक्रमको सञ्चालन जेसिजका महासचिव मुकेश शर्माले गर्नुभएको थियो ।
यसैबीच सरकारले तत्काल डा. केसीका माग पूरा नगरे जिल्लामा क्रियाशील सबै संघ संस्थाहरुसँग समन्वय गरी त्रिभुवननगर जेसिजले जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय समेत गरिएको अध्यक्ष दीपक शर्माले बताउनुभयो ।