दाङ, २७ साउन । दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा संयुक्त व्यावसायिक प्यानलको तर्फबाट १३ बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको छ ।
संघको यही साउन ३१ गते हुने १३ औं अधिवेशनमा “आर्थिक विकास तथा उद्योगी, व्यवसायीको समस्या पहिचान र समाधान, दाङको समृद्धि र व्यावसायिक एकताको लागि संयुक्त व्यावसायिक प्यानललाई मतदान” भन्ने मूल नाराका साथ चुनावी मैदानमा उत्रिएको संयुक्त व्यावसायिक प्यानलले १३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको हो ।
प्रतिबद्धता पत्रमा घोराहीलाई जिल्लाकै आर्थिक केन्द्रको रुपमा विकास गर्ने, व्यवसायीले भोग्दै आएको मिसम्याच र अन्डरबिलिङलगायतका समस्या समाधानका लागि ठोस पहल गर्ने, संघले निर्माण थालेको बहुउद्देश्यीय सभागृह निर्माण समयमै सम्पन्न गर्ने, सफा, सुन्दर र हरित जिल्ला अभियानलाई सार्थक बनाउने, व्यवसायीको हक, हितको पक्षमा आवाज उठाउने बुँदाहरु समेटिएको छ ।
त्यस्तै, औद्योगिक क्षेत्र स्थापनाको पहल टुङ्गोमा पु¥याउने, अनाधिकृत रुपमा बिना दर्ता व्यवसाय गर्नेहरुलाई निरुत्साहित गर्ने, स्थानीय सरकार र सरकारी निकायसँग समन्वय गरी व्यावसायिक विकासका लागि काम गर्ने, व्यावसायिक सीप र सचेतना तालिम गर्ने, सरकारी निकायमा व्यवसायीले भोग्दै आएका झन्झट र असुविधा अन्त्यका लागि पहल गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै, संयुक्त व्यावसायिक प्यानलले जिल्लाक केही महत्वाकांक्षी योजनाहरुलाई अघि बढाउन सम्बन्धित निकायमा दबाबका लागि पहल गर्ने पनि प्रतिबद्धतामा उल्लेख गरेको छ ।
जसमा राप्ती उपक्षत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अघि बढाउने अभियानलाई ठोस निष्कर्षमा पु¥याउन दबाब अभियान सञ्चालन गर्ने, दाङ जिल्लालाई प्रादेशिक राजधानी बनाउने अभियानलाई सार्थक बनाउने, ‘हाम्रो दाङ, राम्रो दाङ’ अर्थात् एसियाकै ठूलो उपत्यकाको रुपमा रहेको दाङलाई आर्थिक, साँस्कृतिक र पर्यटकीय सम्भावनालाई अघि बढाउँदै दाङमा रहेका पर्यकटीय स्थलको पहिचान, संरक्षण र प्रचार–प्रसार गर्दै दाङलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पहल गर्ने, कोइलाबास नाकालाई सञ्चालनका लागि केन्द्रस्तरमा पहल गर्ने, मध्यपहाडी लोकमार्ग जोड्ने सहिद मार्ग, घोराही–मुर्कुटी–प्यूठान हुँदै प्रदेश नं. ४ जोड्ने सडक, तुलसीपुर–पुरन्धारा हुँदै सुर्खेत जोड्ने सडक र लमही–कोइलावास सडकलगायत दाङलाई बाहिरी जिल्लासँग जोड्ने सडकको स्तरवृद्धि र सञ्चालनका लागि पहल गर्ने, अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययनको लागि काम अघि बढाउन दबाब दिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
संयुक्त व्यावसायिक प्यानलको तर्फबाट व्यक्त गरिएका १३ बुँदे प्रतिबद्धताहरु आफूहरुले जुनसुकै हालतमा पूरा गर्ने अध्यक्षका उम्मेदवार नारायण भुसालले बताए ।
प्रचार प्रसार तीव्र यसैबीच संयुक्त व्यावसायिक प्यानलले प्रचार प्रसार अभियानलाई तीव्र बनाएको छ । प्यानलका सबै उम्मेदवारहरुले आज शुक्रबार घोराहीमा विभिन्न क्षेत्रका उद्योगी व्यवसायीसँग भेटघाट गर्दै नारायण भुसाल नेतृत्वको संयुक्त व्यावसायिक प्यानललाई मत दिन आग्रह गरेका थिए ।संयुक्त प्यानलले घोराहीका बाल मन्दिर, पुरानो बैङ्क रोड, साइमन्दिर, गणेश मन्दिर, न्युरोड, तुलसीपुर चोक, विद्युत प्राधिकरण रोड, न्यु रोडस्थित रण–अम्बिका बिजी मार्केट, सब्जिमन्डी रोड, वडा प्रहरी कार्यालय रोडलगायतका उद्योगी, व्यवसायीहरुसँग चुनावी भेटघाट गरेको थियो ।
सो अवसरमा उद्योगी व्यवसायीहरुले साझा संस्थामा साझा पहिचानका साथ मिलेर संयुक्त प्यानल बनाएकोमा खुसी व्यक्त गर्दै संयुक्त प्यानलका उम्मेदवारहरुलाई स्वागत एवं सम्मानसमेत गरेका थिए ।
संयुक्त व्यावसायिक प्यानलको तर्फबाट अध्यक्षमा नारायण भुसाल, उद्योग उपाध्यक्षमा नारदमणि पोख्रेल, वाणिज्य उपाध्यक्षमा एकराज खनाल, महासचिवमा अनिल आचार्य, सचिवमा हरि खरेल र कोषाध्यक्षमा श्रीधर पोख्रेलले उम्मेदवारी दिनुभएको छ । त्यस्तै उद्योग सदस्यमा मित्रदेव अधिकारी, महिला सदस्यमा हेमन्ती पुनमगर र सदस्यहरुमा रामप्रसाद पोख्रेल, पिताम्बर शर्मा (प्रितम), नारायणप्रसाद लामिछाने, भिमसेन गिरी र महेन्द्र बुढाथोकीले उम्मेदवारी दिनुभएको छ ।