दाङ उवासंघको निर्वाचन : प्रजातान्त्रिक प्यानलद्वारा प्रतिवद्वता सार्वजनिक

  
  प्रकाशित मितिः शुक्रबार, साउन २७, २०७४       | 439 Views   ||

घोराही, २७ साउन । दाङ जिल्ला उद्योग वाणिज्य संघको साउन ३१ गते हुने निर्वाचनका लागि प्रजातान्त्रिक प्यानलले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । प्रजातान्त्रिक प्यानलले आफूहरु निर्वाचित भएपछि गर्ने कार्यहरुसहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

प्रजातान्त्रिक उद्यमी संघले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा व्यावसायिक हकहितमा काम गर्ने, व्यक्तिगत रुपमा विना दर्ता हुने अवैध व्यापारलाई निरुत्साहित गर्ने, हप्ताको एक दिन व्यवसाय बन्दलाई शतप्रतिशत कार्यान्वयनमा ल्याउने, बजारको फोहोर व्यवस्थापनमा वर्तमान समयमा देखिएको समस्यालाई सम्बन्धित क्षेत्रसँग समन्वय गरी समाधान गर्ने, घरधनी र घर बहालवालाबीच देखिने समस्याहरुलाई समन्वय गरी उपयुक्त न्यायिक र वैज्ञानिक समाधान गर्न पहल गर्ने, अव्यवस्थित बजारलाई व्यवस्थापन गर्न पहल गर्ने, हप्तामा एक दिन हाट बजारलाई सञ्चालनमा ल्याउने र निरन्तरता दिने, पर्यटकीय क्षेत्रको विकाससँगै पर्यटक भित्र्याउने कार्यक्रमलाई प्राथमिकता दिने, बहुउद्देश्यी सभा हल सम्पन्न गर्नमा अग्रसरता लिने समेटिएको छ ।

त्यस्तै दाङलाई प्रादेशिक राजधानीका लागि पहल गर्ने, कोइलाबास सडक र नाका सञ्चालनमा पहल गर्ने, सम्पूर्ण व्यवसायीहरुलाई उद्योग वाणिज्य संघको दायरामा ल्याउने, औद्योगिक क्षेत्र सञ्चालनमा पहल गर्ने, घोराही–मुर्कुटी–प्यूठान सडकखण्ड स्तरोन्नति गरी सञ्चालनमा ल्याउन पहल गर्ने, राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल गर्ने लगायतका रहेका छन् ।

विजयी भएर यी प्रतिवद्धतालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने अध्यक्षका उमेद्वार मञ्जु वजा्रचार्यले बताउनुभयो ।

यसैबीच निर्वाचनका लागि बिहिबारदेखि सुरु भएको प्रचार प्रसार कार्यक्रम अन्तर्गत शुक्रबार पनि घरदैलो कार्यक्रम भएको छ । घोराहीको बैंक रोडबाट सुरु भएको घरदैलो एवं व्यवसायी भेटघाट कार्यक्रम दामोदर चोक, न्यूरोड, तुलसीपुर चोक, दिपशिखा रोड, रतनपुर, डिके पेट्रोल पम्प आसपास, सहिद गेट क्षेत्रलगायत स्थानमा घरदैलो गरेको सदस्य पदका उमेद्वार मिनराज भाटले जानकारी दिनुभयो ।

प्रजातान्त्रिक प्यानलबाट अध्यक्षमा मञ्जु बज्राचार्यसहित उद्योग उपाध्यक्षमा बसन्त जोशी, वाणिज्य उपाध्यक्षमा टंकसिंह बुढाथोकी, महासचिवमा नरेश कार्की, सचिवमा माया पोख्रेल र कोषाध्यक्षमा सुशील पोख्रेल रहनुभएको छ । यस्तै सदस्यहरुमा उद्योग सदस्य टंकप्रसाद पोख्रेल (कमल), महिला सदस्यमा विन्दु दाहाल, वाणिज्य सदस्यमा मिनराज भाट, सदस्यहरुमा भुवन पोख्रेल, छविनारायण गिरी, तेजबहादुर पौडेल(विश्व), धनपति शर्मा र राजकुमार गुप्ता रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *